नन्दराम जैशी । सुर्खेत ।
कर्णालीमा लामो समयदेखि जारी विद्युत्को लो–भोल्टेज समस्या समाधानको कडीका रूपमा हेरिएको कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको काम फेरि पछि धकेलिएको छ । गत असोज महिनाभित्रै सम्पन्न गर्ने दाबी गरिएको उक्त आयोजनाको काम सम्पन्न हुन अझै समय लाग्ने देखिएको हो । कर्णाली प्रदेशमा लो–भोल्टेजको समस्याले हैरानी बनाएको छ । त्यसैमा दैनिक १० पटकभन्दा बढी विद्युत् आउनेजाने कारण सकस पारेको छ ।
यस समस्याको स्थायी समाधानका रूपमा हेरिएको कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको काम यसअघि असारमै ९० प्रतिशत सकिएको भनिए पनि तोकिएको समयमा सम्पन्न हुन नसकेको हो । यस्तो अवस्थामा कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले प्रसारण लाइन विस्तार क्षेत्र हर्रे र बबईमा पुगेर स्थलगत निरीक्षणसमेत गरेका छन् । आयोजनाको अवलोकनका क्रममा मुख्यमन्त्री कँडेलले काममा थप सहजीकरण गर्न आफूहरू निरन्तर प्रयासमा रहेको बताए । उनका अनुसार कात्तिक महिनाभित्र सुब्बाकुना सबस्टेशनमा विद्युत् चार्ज गर्न सकिने भनिएको थियो ।
निर्धारित कार्यक्रम पछिल्लो जेनजी आन्दोलन र चाडपर्वका कारण केही ढिलाइ भएको जनाइएको छ । मुख्यमन्त्रीले रोकिएका कामहरू तत्काल पुनः सुरु भएको र कर्णालीको लाइफलाइन यो आयोजना छिटो सम्पन्न गर्न सबैले आ–आफ्नो ठाउँबाट खबरदारी र पहलकदमी गर्नुपर्नेमा जोड दिए । तीन तहका सरकारको प्राथमिकतामा रहेकाले अब विद्युत् विस्तारको कामले तीव्रता पाउने मुख्यमन्त्री कँडेलले बताए ।यता आयोजना कार्यालयले विद्युत् विस्तारको काम अन्तिम चरणमा पुगेको जनाएको छ । आयोजनाको भौतिक प्रगति ९५ प्रतिशत पुगेको आयोजना प्रमुख रवि चौधरीले बताए । उनका अनुसार अहिले बाँकेको बानियाभारमा फाउन्डेसन निर्माणको काम धमाधम भइरहेको छ ।
योजनाले ९५ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ भने ९५ प्रतिशत नै वित्तीय प्रगति हासिल गरेको जनाइएको छ । आयोजना प्रमुख चौधरीका अनुसार आयोजनाअन्तर्गत १६२ वटा फाउन्डेसन निर्माण गरिनेछ । जसमा अहिलेसम्म १५९ वटा फाउन्डेसन निर्माण भएका छन् । ५२ किलोमिटर तार तानिनेछ । जसमा अहिलेसम्म ४६ किलोमिटर तार तान्ने काम भएको उनले बताए । विद्युत् प्रसारण लाइन विस्तार कार्यको सुरुवात २०७७ असारदेखि गरिएको थियो ।
भारतीय निर्माण कम्पनी आरएस इन्फ्राप्रोजेक्ट प्रालिले ७० करोड रूपैयाँमा आयोजनाको ठेक्का पाएको थियो । जनशक्ति र उपकरण पर्याप्त भए पनि आयोजना निर्माण क्षेत्रमा विवाद हुँदा काम भने गतिमा अगाडि बढ्न सकेको थिएन । अहिले तीन तहकै सरकारले चासो दिएका कारण कामले तीव्रता पाएको छ । बाँकेमा देखिएको विवाद पनि सरकारी तबरबाटै समाधान भएको छ । विवाद समाधानसँगै आयोजना निर्माणको कामले तीव्रता पाएको हो । आउँदो मङ्सिर अन्तिम सातासम्म आयोजना निर्माणको काम सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना प्रमुख रवि चौधरीले जानकारी दिए ।
‘अब तीन वटा फाउन्डेसन निर्माण, सात किलोमिटर तार तान्ने काम मात्र बाँकी रहेको छ,’ उनले भने, ‘सुब्बाकुनामा सबस्टेशन निर्माणको काम सकिएको छ । विद्युत् विस्तारको काम सकिएको खण्डमा उक्त सबस्टेशनमा चार्ज गरिनेछ ।’ प्रदेश राजधानी सुर्खेत हुँदै सबै जिल्लामा विद्युत् आपूर्ति गर्न सहजताका लागि सुब्बाकुना सवस्टेशनको निर्माण गरिएको हो ।
सुर्खेत–दैलेख खण्डमा धमाधम काम
१३२ केभी विद्युत् प्रसारण लाइनको सुर्खेत–दैलेख खण्डमा पनि काम धमाधमरूपमा भइरहेको छ । सुर्खेतको सुब्बाकुनादेखि दैलेखको चुप्रासम्म ४६ वटा फाउन्डेसन निर्माणको काम सकिएको आयोजनाले जनाएको छ । आयोजना कार्यालयका अनुसार १०२ वटा फाउन्डेसन निर्माणको काम गरिँदैछ । जसमा हालसम्म चार वटा टावर निर्माण गरिएको छ ।
यीमध्ये अहिले सुर्खेतमा एक र दैलेख क्षेत्रमा तीन वटा टावर निर्माण गरिएको छ । जंगल क्षेत्र छाडेर हाल अन्य क्षेत्रमा ५० प्रतिशत टावरको फाउण्डेशन निर्माणको काम सकिएको कार्यालयले जनाएको छ । चालू आर्थिक वर्षभित्रै कामसक्ने लक्ष्य राखिएकोमा रूख कटान अनुमति नहुँदा थप एक वर्ष म्याद थपेर काम गरिएको छ । आर्थिक वर्ष २०७९–८० देखि छुट्टै सम्झौता गरेर काम सुरु गरिएको थियो ।
सम्झौताअनुसार २०८२ असारसम्ममा निर्माणको काम सम्पन्न गरिसक्नुपर्ने हो । तर हालसम्म ५० प्रतिशत काम मात्र सकिएको छ । म्याद थप गरेर आयोजना निर्माणको काम धमाधम भइरहेको छ । २०८३ असारसम्म म्याद थप गरिएकोले सो अवधिभित्र काम सक्ने तयारी भइरहेको आयोजना प्रमुख चौधरीले बताए ।









प्रतिक्रिया दिनुहोस्