नेपालमै सेवा गर्ने उद्देश्यले नेपाल सरकारबाट हेलिकप्टर उडाउनका लागि लाइसेन्स पनि प्राप्त गरिन् । तर विडम्बना, त्यो लाइसेन्स हातमा लिएर पनि उनले नेपाली आकाशमा कहिल्यै उड्ने अवसर पाइनन् । सविनाको यही अधुरो यात्रालाई निर्देशक विनोद शाहीले पर्दामा उतारेका छन् । कर्णवाग प्रोडक्सनले निर्माण गरेको ‘कर्णालीमा देखेको उड्ने सपना’ डकुमेन्ट्री सविनाको संघर्ष, आशा र अपूर्णतामा पनि प्रेरणा खोज्ने कथामा केन्द्रित छ ।
निशु जोशी । नेपालगन्ज ।
नेपालको दुर्गम जिल्ला जुम्लामा जन्मिएकी सविना शाहीले बाल्यकालदेखि नै पाइलट बन्ने सपना बुनेकी थिइन् । त्यही सपनालाई साकार पार्न उनले घरजग्गा बेचिन्, करिब ६० लाख रूपैयाँ खर्च गरिन् र सन् २०१० मा फिलिपिन्स गएर २ वर्षे हेलिकप्टर पाइलट तालिम पूरा गरिन् । नेपालमै सेवा गर्ने उद्देश्यले नेपाल सरकारबाट हेलिकप्टर उडाउनका लागि लाइसेन्स पनि प्राप्त गरिन् । तर विडम्बना, त्यो लाइसेन्स हातमा लिएर पनि उनले नेपाली आकाशमा कहिल्यै उड्ने अवसर पाइनन् ।
सविनाको यही अधुरो यात्रालाई निर्देशक विनोद शाहीले पर्दामा उतारेका छन् । कर्णवाग प्रोडक्सनले निर्माण गरेको ‘कर्णालीमा देखेको उड्ने सपना’ डकुमेन्ट्री सविनाको संघर्ष, आशा र अपूर्णतामा पनि प्रेरणा खोज्ने कथामा केन्द्रित छ । निर्देशक शाही, जो प्रोडक्सनका इन्टरनेशनल कोर्डिनेटर पनि हुन्, यस फिल्ममार्फत पहिलोपटक निर्देशनमा डेब्यु गरेका छन् ।
उनले भने, ‘यो कथा असफलताको हो, तर सन्देश सफलताको छ । एउटा महिला क्याप्टेन बन्ने सपना अधुरो रह्यो, तर उनले देखाएको साहसले धेरैलाई उड्ने हिम्मत दिएको छ ।’ फिल्मको प्रिमियर हालै जुम्ला र नेपालगन्जमा गरिएको छ । करिब ६ सय दर्शकले फिल्म हेरे । अब यसलाई युरोप, एसिया र अमेरिकाका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरूमा लैजाने तयारी भइरहेको निर्देशक शाहीले बताए ।
दर्शकका आँसु र गर्व
डकुमेन्ट्रीले नेपालगन्जमा दर्शकहरूलाई गहिरो छोयो । नेपालगन्ज राँझाकी आशा खाँड, जसको जुम्लामा पनि घर छ, फिल्म हेरेपछि उनी भावुक भइन् । ‘भाञ्जीको कहानीले रुवायो,’ उनी भन्छिन्, ‘पाइलट बन्ने सपना देख्नु ठूलो कुरा हो, तर सपना पूरा भएन ।’ त्यस्तै मोडलिङ क्षेत्रमा सक्रिय शिलास्मा हमालले भनिन्, ‘कति धेरै सपना देखेर विकट ठाउँबाट पाइलट बन्न घरजग्गा बेचेर पढ्दा पनि अवसर नपाएको देख्दा मन दुख्यो । अब छोरीहरूको उड्ने सपना भताभुंग नहोस्, राज्यले पनि हेरोस् ।’ दर्शकहरूका यी प्रतिक्रियाले फिल्मको सन्देशलाई अझ अर्थपूर्ण बनाएको छ । असफलता पनि कहिलेकाहीँ प्रेरणाको रूप लिन सक्छ ।
फिलिपिन्सको आकाशमा उड्दा
जुम्लामा हेलिकप्टर उड्दा पाइलट बन्ने सपना देखेकि उनी सपना पूरा गर्ने अठोट लिएर विदेशी भूमिमा पाइला राखिन् । फिलिपिन्समा तालिमका क्रममा आकाशमा उड्दा उनी उत्साहित थिइन् । ‘ककपिटमा बस्दा संसारै अलगै थियो,’ उनी भन्छिन्, ‘दुर्गमको मान्छे खुला आकाशमा उड्दा को खुसी हुँदैन ?’ उनले ककपिटमै सपना बुनिन् आफ्नो जिल्ला र देशको नाम रोसन गर्ने ।
त्यो समयमा पाइलट तालिममा महिलाको सहभागीता निकै न्यून थियो । ‘हाम्रो ब्याचमा म एक्लै महिला थिएँ,’ तालिममा ४ जना नेपाली साथीमध्ये आफू मात्र महिला भएको उनी सम्झन्छिन्, ‘गल्र्स होस्टेलमा बस्दा डर लाग्थ्यो, रातभरि बत्ती बालेर बस्थेँ । राति अबेरसम्म ल्यापटप चलाएर बस्थे ।’ त्यो डर, संघर्ष र साहसबीच उनले १७४ घण्टा हेलिकप्टर उडाउन सफल भइन् । सुरुमा को–पाइलटका रूपमा, पछि सोलो फ्लाइटका रूपमा पनि । तर त्यो सपना नेपाल फर्किएपछि अधुरै रह्यो । ‘महिला भएकै कारण हो कि पहुँच नभएका कारण, म निश्चित भन्दिनँ,’ उनी भन्छिन्, ‘तर ५ वर्षसम्म पनि कुनै कम्पनीले अवसर दिएन ।’ अब त्यो लाइसेन्स नवीकरणका लागि फेरि २० लाख रूपैयाँभन्दा बढी खर्च गर्नुपर्ने छ, र त्यसपछि पनि जागिर पाउने निश्चितता छैन् ।
आमा र जिम्मेवारीबीच थामिएको सपना
फिलिपिन्समा तालिम सकेर फर्किएपछि सविनालाई क्यानडाबाट हेलिकप्टर उडाउनका लागि अफर आएको थियो । तर उनले त्यो अस्वीकार गरिन् । ‘म ८० वर्षकी आमालाई छोडेर जान सकिनँ,’ उनका अनुसार आमा सपनाभन्दा माथि छन् । बाल्यकालमै बुबा बितेपछि उनी आमा र सपनाबीचको पुल बनेकी छन् । अहिले सविना नेपालगन्जमा आमासँगै बस्दैछिन् ।
नेपालमा महिला पाइलटहरूको संख्या अझै औँलामा गन्न सकिन्छ, र दुर्गम क्षेत्रका महिलाहरू त अझै कम छन् । सविनाको कथा त्यसैले व्यक्तिगत मात्र होइन, सामाजिक सन्देश पनि हो । निर्देशक विनोद शाही भन्छन्, ‘यो फिल्म सविनाको मात्र कथा होइन, हजारौँ नेपाली महिलाको सपना हो, जसलाई प्रणालीले रोकिदिएको छ । असफल कथा भए पनि त्यसले हजारौँलाई उड्ने प्रेरणा दिन सक्छ ।’
‘कर्णालीमा देखेको उड्ने सपना’ले सविनाको अधुरो यात्रामार्फत देशको एक गहिरो प्रश्न उठाउँछ, के हाम्रो प्रणाली अझै पनि दुर्गमका छोरीहरूका लागि आकाश बन्द छ ? सविना अझै हारेकी छैनन् । जीवनकालमा आफ्नो सपना पूरा हुनेमा उनी आशावादी देखिन्छिन् । कर्णालीको छोरीले एकपटक विदेशी भूमिमा उडान भरेकी थिइन्, अब उनको सपनाले फेरि नेपाली आकाश छुने आशा छ ।









प्रतिक्रिया दिनुहोस्