कृष्ण ओली । बाँके ।
बाँकेको राप्तीसोनारी गाउँपालिका– ९ ढकेरी चोकमा प्रहरीकै छेउमा एक समूहले खुकुरी प्रहार गर्दा दुईजना गम्भीर घाइते भएका छन् ।
शुक्रबार साँझ कोहलपुरबाट गएको एक समूहले प्रहरीको बिट सामुन्ने नै खुकुरी प्रहार गरेर दुई जनालाई गम्भीर घाइते बनाएको हो । खुकुरी प्रहारबाट ढकेरी बजारमा व्यवसाय गर्ने स्थानीय राजकुमार खत्री र सेवाग्राही स्थानीय कमलबहादुर ओली गम्भीर घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतितसिंह राठौरले शुक्रबार राति नै दुवै घाइतेलाई थप उपचारका लागि मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले भारतको लखनउ रिफर गरेको जानकारी दिए ।
घटनास्थल ढकेरी बिटको कार्यालयदेखि करिब ४० सेकेन्ड र प्रहरीको ड्युटी यरियादेखि २५ सेकेन्डको पैदल दुरीमा रहेको छ । तत्कालै सुरुमा स्थानीयले खुकुरी प्रहार गर्ने दुई जनालाई नियन्त्रणमा लिएका थिए । तीमध्ये एकजनालाई त्यहाँ खटिएको राप्तीसोनारी गाउँपालिकाको गाउँ प्रहरीले छोडिएको स्थानीयले बताएका छन् । अर्का एक जनालाई भने स्थानीयले इलाका प्रहरी कार्यालय कोहलपुरको जिम्मा लगाएका थिए ।
बाँके प्रहरी प्रवक्ता डीएसपी राठौरले नियन्त्रणमा लिइएका व्यक्ति कोहलपुर नगरपालिका– ८ पिपिरीका राजु बोहरा रहेको जानकारी दिए । ‘नियन्त्रणमा रहेका व्यक्ति घाइते भएकोले अस्पतालमा उपचार भइरहेको छ’ उनले मिसन टुडेसँग भने, ‘घटनाबारे थप अनुसन्धान भइरहेको छ । अन्य व्यक्तिको खोजी गरिरहेका छौँ ।’
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर डमरपालले घटनाको अनुसन्धानको लागि थप एक जनालाई पक्राउ गरिएको जानकारी दिए । ‘घटनाको अनुुसन्धानको लागि हामीले थप एक जनालाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छौँ’ उनले मिसन टुडेसँग भने, ‘उनको परिचय खुलाउन मिल्दैन । तपाईँहरूले भोली सबै कुरा थाहा पाइहाल्नुहुन्छ ।’
घटनास्थलबाट स्थानीयबासीले आरोपितहरूले प्रयोग गरेको भे१२प ८६९२ नम्बरको स्कुटर र एउटा खुकुरी समेत नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । स्कुटर स्थानीयले नियन्त्रणमा लिएका बोहराले प्रयोग गर्दै आएका थिए । यहीँ समूहले गम्भीर घाइते खत्रीलाई एक साताअघि खुँडा प्रहार गरेको थियो । सोहीबेला उनी सामान्य घाइते भएका थिए । सोबेला उनीहरूविरुद्ध पीडितले ज्यान मार्ने उद्योग उजुरी दिएपनि इलाका प्रहरी कार्यालय कोहलपुरले दर्ता नगरेको पीडितका आफन्त मनोज ओलीले जानकारी दिए ।
‘अघिल्लो बिहीबारसमेत मासु काट्ने खुँडाले आक्रमण भएको थियो’ उनले भने, ‘अर्कोदिन ज्यान मार्ने उद्योगमा उजुरी दिँदा कोहलपुर प्रहरीले दर्ता गर्न मानेन । अहिले आएर यस्तो घटना भयो ।’ सोबेला प्रहरीमै रहेका आरोपितका आफन्तले दबाब दिएका कारण कोहलपुर प्रहरीले ज्यान मार्ने उद्योगमा उजुरी दर्ता गरेको पीडितहरू आरोप लगाउँछन् ।
पक्राउ परेकाहरू यसअघि समेत कोहलपुर क्षेत्रमा भएका विभिन्न आपराधिक घटनामा संग्लन रहेका व्यक्तिहरू हुन् । पक्राउ परेका बोहराले शुक्रबार राति प्रहरीकै अगाडि अस्पतालमा नै पीडितका आफन्तलाई आफू छुटेर फेरी आक्रमण गरेर तीन-चार वर्ष जेलमा बस्ने धम्की दिएका थिए । खुकुरी प्रहार गर्नेले नै प्रहरीको सुरक्षा घेरामा भएको बेला फेरी आक्रमण गर्ने धम्की दिएपछि पीडितहरूले असुरक्षा महसुस गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्