नेपालको पर्यटन क्षेत्रका लागि पछिल्ला दिनहरू सहज छैनन् । प्राकृतिक विपत्ति, सडक तथा हवाई पूर्वाधारमा परेको असर, पर्यटक आवागमनका प्रमुख मार्गमा आएको अवरोध र त्यससँगै सिर्जिएको असुरक्षाको मनोविज्ञानले पर्यटन व्यवसायलाई गम्भीर दबाबमा पारेको छ । पर्यटन नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधार मात्र होइन, रोजगारी, विदेशी मुद्रा आर्जन र स्थानीय अर्थतन्त्र चलायमान बनाउने प्रमुख क्षेत्रसमेत हो । तर विपत्तिका बेला सबैभन्दा पहिले प्रभावित हुने क्षेत्रमध्ये पर्यटन पनि एक हो । पछिल्लो समय बाढी, पहिरो र सडक अवरोधका कारण मुलुकका विभिन्न पर्यटकीय गन्तव्यसम्म पुग्ने यातायात प्रभावित भएका छन् । पर्यटकले गन्तव्यभन्दा पहिले बाटोको अवस्था, सुरक्षा र सहज आवागमनबारे सोच्नुपर्ने अवस्था सिर्जना भएको छ । पर्यटकका लागि नेपाल सुरक्षित छ कि छैन भन्ने प्रश्न उठ्नु नै पर्यटन क्षेत्रका लागि ठूलो चुनौती हो । एउटा गन्तव्यमा भएको विपत्तिको असर अर्को गन्तव्यसम्म समेत पुग्न सक्छ, किनकि अन्तर्राष्ट्रिय पर्यटकले नेपाललाई समग्र गन्तव्यका रूपमा हेर्छन् । यस्तो अवस्थामा पर्यटन व्यवसायीमा अन्योल बढ्नु स्वाभाविक हो । होटल, रेस्टुरेन्ट, ट्राभल एजेन्सी, ट्रेकिङ तथा पर्वतारोहण व्यवसायदेखि यातायात र स्थानीय रोजगारीसम्म यसको प्रत्यक्ष प्रभाव पर्छ । पर्यटकको सङ्ख्या घट्दा होटलका कोठा खाली हुन्छन्, रेस्टुरेन्टमा कारोबार घट्छ र त्यसको असर श्रमिकको रोजगारी तथा आम्दानीमा पर्छ । एउटा क्षेत्रको विपत्तिले पर्यटनको सम्पूर्ण आपूर्ति शृंखलालाई प्रभावित गर्ने भएकाले यसलाई केवल होटल व्यवसायीको समस्या भनेर बुझ्नु गलत हुन्छ ।
तर विपत्तिलाई पर्यटन क्षेत्रको अन्त्यका रूपमा बुझ्नु पनि उचित हुँदैन । नेपाल भौगोलिक तथा प्राकृतिक विविधताले भरिपूर्ण मुलुक हो । यहाँ हिमालदेखि पहाड, तराईदेखि धार्मिक तथा सांस्कृतिक सम्पदासम्म अनेकौँ पर्यटकीय सम्भावना छन् । एउटा मार्ग अवरुद्ध हुँदा अर्को वैकल्पिक मार्ग र गन्तव्यलाई सक्रिय बनाउन सकिने सम्भावना नेपालसँग छ । हुम्लाको हिल्सा नाका हुँदै मानसरोवर–कैलाश जाने भारतीय तीर्थयात्रीको आवागमनले पनि यसको उदाहरण प्रस्तुत गरेको छ । प्रमुख नाका र मार्ग प्रभावित हुँदा वैकल्पिक मार्गको महत्व कति ठूलो हुन्छ भन्ने कुरा यस घटनाले देखाएको छ ।समस्या भनेको हामीले वैकल्पिक सम्भावनालाई विपत्ति आएपछि मात्र खोज्ने प्रवृत्ति हो । पर्यटन पूर्वाधारको विकास, वैकल्पिक सडक र हवाई सम्पर्क, सुरक्षित आवास, सूचना प्रणाली तथा आपत्कालीन उद्धार संयन्त्रलाई नियमित पर्यटन नीतिको हिस्सा बनाउनुपर्छ । संकट आएपछि मात्रै योजना बनाउने होइन, संकट आउनुअघि नै तयारी गर्ने संस्कार विकास गर्न आवश्यक छ । सरकारले अहिले पर्यटन क्षेत्रको मनोबल जोगाउने गरी स्पष्ट सन्देश दिनुपर्छ। कुन गन्तव्य सुरक्षित छन्, कुन सडक सञ्चालनमा छन्, कुन विमानस्थल खुला छन् र पर्यटकले कहाँबाट सहज रूपमा यात्रा गर्न सक्छन् भन्ने जानकारी विश्व बजारसम्म तत्काल पु¥याउनुपर्छ । सामाजिक सञ्जाल र अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा फैलिने अपूर्ण वा अतिरञ्जित सूचनाले पर्यटकको धारणा प्रभावित गर्न सक्छ । त्यसैले आधिकारिक र विश्वसनीय सूचना प्रवाहलाई प्राथमिकता दिनुपर्छ । पर्यटन व्यवसायीका लागि पनि संकट व्यवस्थापन योजना आवश्यक छ ।
होटल एसोसिएसन, ट्राभल तथा ट्रेकिङ व्यवसायी, हवाई तथा स्थल यातायात क्षेत्र र स्थानीय तहबीच समन्वय बढाउनुपर्छ । विपत्तिका कारण व्यवसाय प्रभावित भएका उद्यमीलाई कर, ऋण, ब्याज तथा अन्य आर्थिक दायित्वमा आवश्यक सहजीकरण गर्ने विषयमा पनि राज्यले विचार गर्नुपर्छ । पर्यटन व्यवसायलाई सामान्य अवस्थामा फर्काउन केही समय लाग्न सक्छ, त्यसैले राहत र पुनरुत्थानका कार्यक्रम दीर्घकालीन सोचका साथ अघि बढाउनुपर्छ । नेपालको पर्यटन क्षेत्रको चुनौती केवल पर्यटक ल्याउने होइन, पर्यटकलाई सुरक्षित, सहज र विश्वसनीय अनुभव दिलाउने पनि हो । त्यसका लागि पूर्वाधारमा लगानी, जोखिमको पूर्वानुमान, उद्धार क्षमता र सूचनाको विश्वसनीयता समान रूपमा महत्वपूर्ण छन् । प्राकृतिक विपत्ति रोक्न नसकिएला, तर त्यसबाट पर्यटन क्षेत्रमा पर्ने क्षति न्यूनीकरण गर्न भने सकिन्छ । अहिलेको अन्योललाई अवसरमा बदल्ने जिम्मेवारी राज्य र निजी क्षेत्र दुवैको हो । विपत्तिले कमजोर बनाएको पर्यटन क्षेत्रलाई पुरानै अवस्थामा फर्काउने मात्र होइन, अझ सुरक्षित र लचिलो बनाउनेतर्फ सोच्नुपर्ने बेला हो । संकटले हामीलाई एउटा पाठ स्पष्ट रूपमा दिएको छ । नेपालको पर्यटन एउटा मात्र सडक, एउटा मात्र नाका वा एउटा मात्र गन्तव्यमा निर्भर रहन सक्दैन । विपत्तिबाट पर्यटन क्षेत्रलाई जोगाउने उपाय पर्यटकलाई केवल ‘नेपाल सुरक्षित छ’ भन्नु मात्र होइन, त्यसलाई व्यवहारमै प्रमाणित गर्नु हो । सुरक्षित पूर्वाधार, भरपर्दो सूचना, वैकल्पिक गन्तव्य र प्रभावकारी उद्धार प्रणाली निर्माण गर्न सके नेपालले विपत्तिबाट पनि नयाँ पर्यटन सम्भावना खोज्न सक्छ ।









प्रतिक्रिया दिनुहोस्