नेपालगन्ज ।
नेपालगन्ज–गुलरिया हुलाकी सडकअन्तर्गत बाँकेको खजुरामा पर्ने पेडारी नालामाथि बनेको करिब ६ दशक पुरानो पुलको ठाउँमा नयाँ पुल निर्माण गर्ने काम सुरु भएको छ । हुलाकी सडक निर्माण गर्दा र खजुरा बजारको सडक विस्तार गर्दा पनि योजनामा छुटाइएको उक्त पुल निर्माण सुरु भएपछि अहिले स्थानीयवासीहरू खुसी भएका छन् ।
खजुरा गाउँपालिका अध्यक्ष डम्बर विक तुफानले गाउँपालिकाको निरन्तरको पहलपछि योजनाले सार्थकता पाउन लागेको भन्दै खुसी व्यक्त गरे। पुलको डिजाइन निर्माणका क्रममा पनि गाउँपालिकासँग रायसल्लाह लिइएको र अहिले निर्माणका क्रममा पनि आयोजनासँग सहकार्य भइरहेको उनले बताए । उक्त पुरानो पुलको स्थानमा नयाँ पुल बनाउने योजना सडकको ठेक्का लगाउँदा नै छुटाइएको थियो ।
उक्त पुल जोखिमपूर्ण रहेकोले भत्काएर नयाँ बनाउनुपर्ने भन्दैे खजुरावासीहरूले भने एक दशकदेखि माग गर्दै आएका थिए । हुलाकी सडक आयोजनाको नेपालगन्जस्थित कार्यालयका सूचना अधिकारी कृष्ण पाण्डेका अनुसार उक्त पुल निर्माणका लागि जयबहादुर खत्री सञ्चालक रहेको नारायणम निर्माण सेवा नामक कम्पनीसँग आठ करोड ९६ लाख तीन हजार चार सय ६८ रूपैयाँमा ठेक्का सम्झौता गरिएको छ । २०८२ जेठ १९ गते गरिएको सम्झौतामा २०८३ वैशाख १९ गतेभित्र पुल निर्माण गरिसक्ने भनिएको छ ।
निर्माण हुने ४ लेनको पुलको लम्बाइ ३४ दशमलव चार मिटर हुनेछ । जसमा ११–११ मिटरका दुईवटा पुल गाँसेर तयार गरिने डिजाइन तयार गरिएको छ । पुलको बीचभागमा दुई मिटरको डिभाइडर राखिने र हालको पुलभन्दा झण्डै २ दशमलव ५ मिटर अग्लो उचाइको पुल निर्माण गरिने भएको छ । पुल निर्माणअघि १५ मिटर उत्तर दक्षिण तटबन्ध गरिनेछ भने दुईतर्फ ५०–५० मिटर पहुँचसडक पनि निर्माण गरिनेछ । निर्माण नयाँ पुल अहिलेको पुलभन्दा दक्षिणर्फ निर्माण हुनेछ ।
पुलको एकातर्फको लेन निर्माण नहुञ्जेल आवागमन व्यवस्थापनका लागि अहिलेको पुल नभत्काइने पाण्डेले जानकारी दिएका छन् । बाँके बर्दियाका नागरिकका साथै हुलाकी राजमार्ग हुँदै यात्रा गर्ने लाखौँ नागरिकहरू उक्त पुल निर्माण नहुँदा सास्ती खेप्दै आएका छन् । पुलमा वर्षातको समयमा बेला बेला बाढी आएरसमेत आवागमनलाई प्रभावित गर्ने गरेको थियो ।








प्रतिक्रिया दिनुहोस्