सिडिओ जोशीको प्रतिरक्षामा उत्रिए कर्मचारी संगठन



नेपालगन्ज ।

बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले पदीय मर्यादा विपरीतका कार्य, अभिव्यक्ति र अस्वाभाविक व्यवहार दोहो¥याइरहेको भन्दै बाँकेका नागरिक समाजका प्रतिनिधिहरूले गृहमन्त्रीलाई गुहारेपछि कर्मचारीका ट्रेड युनियनहरू उनको प्रतिरक्षामा उत्रिएका छन् । विभिन्न चारवटा ट्रेड युनियनको जिल्ला समिति बाँकेका अध्यक्ष तथा उपाध्यक्षहरूले संयुक्त प्रेस नोट जारी गर्दै प्रजिअ जोशीलाई धम्क्याउने, बिना आधार प्रमाणका भरमा लान्छना लगाउने, कर्मचारीहरूको मनोबल घटाउने र हतोत्साहित गर्ने कार्यप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।

नोटमा प्रजिअप्रति कसले कहिले त्यस्तो व्यवहार गरेको हो भन्ने उल्लेख नगरेपनि जोशीको सम्बन्धमा गृहमन्त्रीलाई ध्यानाकर्षण पत्र पठाइएको भोलिपल्ट शुक्रबार उक्त नोट जारी गरिएको हो । नोटमा कर्मचारीलाई हतोत्साहित गर्ने तथा उनीहरूको मनोबल घटाउने कुनैपनि गतिविधि नगर्न नगराउन ध्यानाकर्षण गराउँदै कर्मचारी क्षेत्रमा न्याय र कानुनको प्रत्याभूति दिलाउन सरकारसँग माग पनि गरिएको छ ।

प्रेस नोट जारी गर्नेहरूमा नेकपा एमाले निकट नेपाल निजामति कर्मचारी संगठन जिल्ला कार्यसमिति बाँकेका अध्यक्ष देवीलाल चौलागाईं, नेपाली काँग्रेस निकट नेपाल निजामति कर्मचारी युनियन जिल्ला कार्यसमिति बाँकेका अध्यक्ष नगेन्द्रबहादुर शाही, नेकपा माओवादी केन्द्रनिकट नेपाल राष्ट्रिय निजामति कर्मचारी संगठन जिल्ला कार्यसमिति बाँकेका उपाध्यक्ष दिलिप नेपाली र नेकपा एकीकृत समाजवादी निकट एकीकृत सरकारी कर्मचारी संगठन नेपाल जिल्ला कार्यसमिति बाँकेका अध्यक्ष धनमल महत रहेका छन् ।

प्रजिअ जोशीले आफ्नो पदीय मर्यादा विपरीतका कार्य, अभिव्यक्ति र अस्वाभाविक व्यवहार दोहो¥याइरहेको भन्दै बिहीबार विभिन्न समूह तथा व्यवसायिक संस्थामा आबद्ध नागरिक प्रतिनिधिहरूले गृहमन्त्रीलाई ध्यानाकर्षण पत्र पठाएका थिए । उक्त ध्यानाकर्षण पत्रमा विभिन्न ६ बुँदामा प्रजिअले देखाएका मर्यादा विपरीतका कार्य, अभिव्यक्ति र अस्वाभाविक व्यवहारको सूचीसमेत राखेर गृहमन्त्रीलाई ध्यानाकर्षण गराइएको छ ।

उक्त ध्यानाकर्षण पत्रमा शान्तिसुरक्षाको प्रत्याभूति गराउनुपर्ने जिम्मेवारी पाएका प्रजिअ जोशीले उल्टै मानवअधिकारको क्षेत्रमा कार्यरत संस्था इन्सेकको कार्यालयमा ‘तोडफोड गर्न लगाउने’ भनेर धम्कीपूर्ण भाषा प्रयोग गरेको गम्भीर आरोप पनि लगाइएको छ । तर, यसविषयमा प्रजिअ जोशीबाट कुनै प्रतिक्रिया आएको छैन ।

  • No tags available
प्रकाशित मिति : २०८२ कात्तिक १ गते शनिबार