खजुरा रेडक्रसका संस्थापक सभापतिको शालिक निर्माण गरिने



खजुरा (बाँके) ।

बाँकेको खजुरामा रहेको नेपाल रेडक्रस सोसाइटी खजुरा उपशाखा जिल्लामै उत्कृष्ट सेवा प्रदान गर्नेमध्ये एक रहेको एक कार्यक्रमका सहभागिले बताएका छन् । खजुरा उपशाखाको २२औँ स्थापना दिवस तथा उपशाखा सभा कार्यक्रममा बोल्ने अधिकांशले जिल्लामै रेडक्रसको अभियान र सेवा सबैमा पु¥याउन खजुराले अग्रणी भूमिका निर्वाह गरेको उल्लेख गरेका थिए ।

खजुरा उपशाखाका सभापति जीवनाथ सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाको आर्थिक प्रतिवेदन उपशाखाका कोषाध्यक्ष प्रेम सापकोटाले प्रस्तुत गरेका थिए भने सांगठनिक प्रतिवेदन सहसचिव कृष्ण कुँवरले प्रस्तुत गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि रहेका खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विक तुफानले रेडक्रसको कारण नै मानवीय सेवा जीवित रहेको बताए । अध्यक्ष विकले खजुरा उपशाखामार्फत विपद्मा तत्कालै सेवा प्रदान गर्न स्थानीय सरकारलाई सहजता भएको उल्लेख गरे ।

उनले रेडक्रस खजुरा उपशाखाका संस्थागत सभापति स्व.मिलन सापकोटाको शालिक निर्माण र स्थापनाका लागि पालिकाले सहायता गर्ने प्रतिबद्धता जनाए । खजुरा गाउँपालिकाका उपाध्यक्ष मञ्जु मल्लले रेडक्रसको मुल्य मान्यतालाई आत्मसात् गर्दै थप सेवा कर्ममा रेडक्रसकर्मीहरू लाग्न अनुरोध गरिन् । उपाध्यक्ष मल्लले खजुरा रेडक्रसले मानवीय सेवा कर्ममा गरेको कामको प्रशंसा गरिन् । उनले स्थानीय सरकार रेडक्रसका गतिविधिमा सहकार्य गर्न तयार रहेको उल्लेख गरिन् ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बाँकेका सभापति गोर्वधनसिंह सम्झनाले खजुरा उपशाखाले विषम परिस्थितिमा पनि आफ्नो सेवा निरन्तर प्रदान गरेको भन्दै धन्यवाद ज्ञापन गरे । उनले रेडक्रसलाई सर्वमान्यका रूपमा लिइएको र यसको विश्वास गुम्न नदिन रेडक्रसकर्मी र समाजका अगुवाहरू लाग्नुपर्नेमा जोड दिए । स्थानीय सरकारले पनि रेडक्रसको गतिविधिमा साथ सहयोग गरेको भन्दै यसलाई निरन्तरतासँगै बढवा दिन आग्रह गरे ।

कार्यक्रममा रेडक्रस जिल्ला शाखाका पदाधिकारी, विभिन्न उपशाखाका सभापति, एसएसकार सदस्य, विशिष्ट सदस्य, आजीवन सदस्य, खजुरा युवा रेडक्रस सर्कलका पदाधिकारी, खजुरा उपशाखाका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा शुभकामना मन्तव्यसहित विभिन्न साँस्कृतिक प्रस्तुतिसमेत गरिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८२ असोज ३१ गते शुक्रबार