बाँसगढी ।
बर्दियाको बाँसगढी नगरपालिका–७ डेउढाकलामा रहेको भट्टराई कोल्ड स्टोरमा बिहीबार बिहान करिब १ बजेको समयमा आगलागी भएको छ। आगलागीबाट करिब नौ करोड रूपैयाँँ बराबरको आर्थिक क्षति भएको बताइएको छ । कोल्ड स्टोरका सञ्चालक खेमराज भट्टराईका अनुसार आगलागीको कारण हालसम्म पत्ता लाग्न सकेको छैन । आगलाडी शंकास्पद देखिएको उनले बताए ।
घटनास्थलमा खाना पकाउने ग्यास सिलिण्डर भेटिएको र कोल्ड स्टोरमा त्यस्तो सिलिण्डर नहुने उनले बताए । ‘घटनास्थलबाट करिब १५० मिटर टाढा ग्यासको आधा भाग भेटिएको छ,’ भट्टराईले भने । कोल्ड स्टोरमा ग्यास सिलिण्डर हुने गर्दैन् ।’ उनका अनुसार आगलागीबाट सम्पूर्ण भण्डारण सामग्री र संरचना जलेर नष्ट भएको छ ।
आगो नियन्त्रणका लागि बाँसगढी नगरपालिका कार्यालयको दमकल टोली तत्काल घटनास्थलमा पुगेको थियो । दमकल र स्थानीयवासीको सहयोगमा करिब तीन घण्टापछि मात्र आगो नियन्त्रणमा लिन सफल भएको बताइएको छ । सञ्चालक भट्टराईका अनुसार केही दिनअघि आलु राख्ने एक व्यक्तिले आलु लिन आउँदा उनीसँग हल्का विवाद भएको थियो । ‘मैले ‘क्षतिपूर्ति दिन्छु’ भनेको थिएँ, तर उनले भनेका थिए– ‘तेरो गोदाममा आगो लगाइदिन्छु’, भट्टराईले भने ।
त्यस्तै, कोल्ड स्टोरमा जडान गरिएको सिसी क्यामेराको रेकर्डिङ डिभाइस (सिभिआर)समेत हराएको भट्टराईले जानकारी दिएका छन् । प्रहरीले आगलागीको कारण र सम्भावित संलग्नताबारे विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्