काठमाडौँ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको विशेष पहलपछि जाजरकोटको बारेकोटमा दुई हप्तादेखि अवरुद्ध टेलिफोन सेवा सञ्चालनमा आएको छ । बारेकोटमा टेलिकमको सेवा अवरुद्ध भएको विषय मन्त्रालयमा गुनासो आएपछि मन्त्री खरेलले तत्कालै एक्सन लिएर अवरुद्ध सेवा सञ्चालनका लागि पहलकदमी लिएका हुन् । टेलिकमको प्राविधिक टोलीले अवरुद्ध सेवा मर्मत गरेर सेवा सञ्चालन गरेको छ । यही असोज ९ गते बारेकोट गाउँपालिका–५ रतनकोटमा रहेको नेपाल टेलिकमको टेलिफोन टावरमा चट्याङले क्षति पु¥याएपछि टेलिफोन सेवा अवरुद्ध भएको थियो ।
यसबाट १० हजारभन्दा बढी सेवाग्राही मर्कामा परेका थिए । सेवा अवरुद्ध भएपछि स्थानीयवासीलाई आपतकालीन सम्पर्क, दैनिकी कारोबार तथा पारिवारिक सन्देश आदनप्रदानमा समस्या भएको थियो । स्थानीय प्रकाशमान सिंहले दुई हप्तादेखि अवरुद्ध टेलिकमको सेवा सञ्चालन भइसकेको र यसले स्थानीयलाई ठूलो राहत मिलेको बताए । उनले टेलिफोन सेवा सञ्चालनमा आएसँगै इन्टरनेट सेवाको क्षमता विस्तारका लागि पहल गरिदिन आग्रह गरे । उनका अनुसार फोरजी सेवाको टावर स्थापना गर्दा १२ हजार जनसङ्ख्या रहेको थियो ।
अहिले गाउँपालिकामा २२ हजार जनसङ्ख्या पुगेको र इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या बढेकाले इन्टरनेटको क्षमता विस्तार गरी सेवा थप प्रभावकारी बनाइनुपर्ने अपरिहार्यता रहेको छ । सञ्चारमन्त्री खरेलले टेलिफोनसेवा अवरोध हुँदा जाजरकोटवासीको समस्या आफूले अनुभूत गरेर तत्कालै सेवा सञ्चालनका लागि पहल गरेको बताए । मन्त्री खरेलले कर्णाली प्रदेशका दैलेख, जाजरकोट, कालीकोट, जुम्ला, हुम्लालगायत सुदूरपश्चिम प्रदेश र मधेस प्रदेशमा सेवा विस्तारको कार्यलाई विषेश प्राथमिकता दिन सम्बन्धित निकायलाई निर्देशन दिइएको उल्लेख गरे ।
उनले जनतालाई आधारभूत सञ्चार सेवालगायतको प्रत्याभूत गराउन सरकारले सबैखाले पहल गर्ने विश्वास व्यक्त गरे । नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेतका निर्देशक डा कमल लम्सालले बारकोट र आसपास क्षेत्रमा अवरुद्ध टेलिफोन सेवा प्राविधिक मर्मतपछि सञ्चालन भएको जानकारी दिए । उनका अनुसार चट्याङले पूर्णरूपमा क्षति भएको टेलिफोन टावरको रेडियो उपकरण तथा अर्थिङलगायत कतिपय सामग्री केन्द्रबाट उपकरण मगाई सेवा सञ्चालन गरिएको हो ।
टेलिफोन सेवाको क्षमता विस्तार र गुणस्तर वृद्धिका लागि काम गर्नेगरी उपकरणसहित थप प्राविधिक फिल्डमा खटाइएको छ । इन्टरनेट सेवाको क्षमता विस्तार र गुणस्तर बढाउन पनि प्राविधिक जनशक्ति परिचालन गरिएको छ । यस्तै डोल्पा जिल्लाको सेवा अवरुद्ध भएका भुर्तेचुला, सर्मी, कालिका र रूकुम पश्चिमका गोतामकोटलगायत क्षेत्रहरूमा सञ्चालनमा रहेका मोबाइल सेवाको गुणस्तर अभिवृद्धि गर्ने योजनाका लागि गोतामकोट स्टेशनमा नयाँ जेनेरेटर जडान गरी तिहार अगाडि नै सञ्चालनमा ल्याउने निर्देशक लम्सालले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्