‘जेनजी आन्दोलनलाई अमेरिकी र भारतीय साम्राज्यवादी शक्तिले उपयोग गरे’



चितवन ।

नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले जेनजी आन्दोलनलाई अमेरिकी र भारतीय साम्राज्यवादी शक्तिले उपयोग गरको बताएका छन्। राजनीति वृत्तमा राजनीतिक भविष्यवाणी गर्नसक्ने नामले परिचित मोहनविक्रमले राष्ट्रिय जनमोर्चा चितवनले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै जेनजी आन्दोलनका मागहरू ठिक भए पनि साम्राज्यवादी शक्ति अमेरिका र भारतले उपयोग गरेर फाइदा उठाएको दाबी गरे ।

भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलन भ्रष्टाचार र कुशासनविरुद्ध रहेको तर त्यो आन्दोलनमा घुसपैठ गरेर साम्राज्यवादी शक्तिले ध्वंस गरेको उनले बताए । सिंहले सत्ताधारी दलको कुशासन र भ्रष्टाचारविरुद्ध आन्दोलन आवश्यक भए पनि जेनजीको आन्दोलनलाई साम्राज्यवादी शक्तिसहित देशका विभिन्न प्रतिक्रियावादी तथा राप्रपा, रास्वपाजस्ता राजावादी शक्तिले आन्दोलनलाई दुरुपयोग गरेको तर्क गरे।

साम्राज्यवादी तथा पुनरुत्थानवादी शक्तिले नेपालमा जनआन्दोलनको बलमा प्राप्त भएको गणतन्त्र र धर्मनिरपेक्षताको विरुद्धमा भएको स्पष्ट पार्दै उनले त्यसैको परिणामस्वरूप अहिले संविधान खारेज, संसद् विघटन र संसद् बाहिरबाट प्रधानमन्त्रीको चयन भएको बताए । नेता सिंहले जेनजी पुस्ताको आन्दोलन संगठनबिनाको भएका कारण सही नीति तथा कार्यक्रमको आधारमा सञ्चालन नभएकाले त्यसले सही दिशा दिन नसकेको बताउँदै कुनै पनि आन्दोलन उसको संगठन, सही नीति, नेतृत्व र कार्यक्रमको आधारमा सञ्चालन हुनुपर्नेमा जोड दिए ।

सही नीति, अनुशासन र कार्यक्रमको अभावका कारण जेनजी आन्दोलनको क्रममा तोडफोड, आगजनी र विध्वंसात्मक गतिविधि भएकाले देशको राजनीतिले प्रष्ट दिशा लिन नसकेको उल्लेख गरे । महामन्त्री सिंहले संसदीय व्यवस्था रणनीतिकरूपमा गलत भएको बताउँदै त्यसको विकल्पमा नयाँ जनवादी व्यवस्था चाहिने र नेपालको सन्दर्भमा राष्ट्रपतीय प्रणाली गलत भएको बताए । राष्ट्रपतीय प्रणाली कस्तो हुन्छ भनेर अमेरिकामा ट्रम्पको शासनले देखाइसकेकाले पनि नेपालको हकमा राष्ट्रपतीय प्रणाली ठिक नहुने उनले बताए ।

  • No tags available
प्रकाशित मिति : २०८२ असोज २८ गते मंगलबार