क्षतिग्रस्त कार्यालयलाई बैजनाथको सहयोग



कोहलपुर ।

बाँकेको बैजनाथ गाउँपालिकाले भदौ २४ गते भएको जेनजी आन्दोलनबाट क्षतिग्रस्त भएका जिल्लाका सरकारी कार्यालयलाई आवश्यक सामाग्री सहयोग गरेको छ । गाउँपालिकाले बाँके जिल्लामा क्षति भएका कार्यालयलाई आवश्यक पर्ने सामाग्री सहयोग गरेको हो । पहिलो चरणमा इलाका प्रशासन कार्यालय कोहलपुरलाई बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले आवश्यक सामाग्री हस्तान्तरण गरेका छन् ।

उनले कार्यालय प्रमुख अन्तिम सिंजालीलाई डेस्कटप कम्प्युटर, प्रिन्टर र स्क्यानर मेसिन हस्तान्तरण गरेका थिए । कार्यालयमा नियमित सेवा सञ्चालनका लागि सहज होस् भन्ने उद्देश्यले आवश्यक सामाग्रीहरू प्रदान गरिएको उनले बताए । गाउँपालिकाले बाँकेका विभिन्न अन्य क्षतिग्रस्त कार्यालयलाई पनि आवश्यक पर्ने सामाग्री बिस्तारै हस्तान्तरण गरिने उनले जानकारी दिए ।

गाउँपालिकाले भदौ ३१ गते बसेको कार्यपालिका बैठकबाट निर्णय गरेर क्षतिग्रस्त कार्यालयलाई आवश्यक पर्ने सामाग्री सहयोग गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले जानकारी दिए । उनका अनुसार अहिले इलाका प्रशासन कार्यालयलाई मात्रै सामाग्री हस्तान्तरण गरिएको छ । अन्य क्षतिग्रस्त कार्यालयलाई पनि हस्तान्तरण गरिने मिसन टुडेलाई जानकारी दिए ।

बाँके जिल्ला अदालत, उच्च अदालत नेपालगन्ज, कोहलपुर नगरपालिका, नापी कार्यालय र मालपोत कार्यालय नेपालगन्जलाई पनि गाउँपालिकाले केही दिनमा आवश्यक पर्ने सामाग्री सहयोग गर्ने उनी बताउँछन् । ‘चालू अवस्थामा रहेका स्थानीय तहले क्षतिग्रस्त कार्यालयको सेवा सञ्चालन र सेवा प्रवाहको लागि आवश्यक सहयोग गर्न केन्द्रको निर्देशन छ,’ उनले भने, ‘सोहीअनुसार कार्यापालिका बैठकबाट निर्णय भइ सहयोग गरेका हौँ ।’

  • No tags available
प्रकाशित मिति : २०८२ असोज २७ गते सोमबार