
नन्दराम जैशी । सुर्खेत ।
राउटे समुदायमा भाइरल ज्वरोको संक्रमण बढ्दै गएको छ । सुरुमा दुई जनामात्रै बिरामी परेकोमा पछिल्लो एक हप्तायता २५ जना बिरामी परेका छन् । उनीहरूले डेङ्गुलगायतका अन्य चेकजाँच गर्न नदिने गरेको भन्दै प्राथमिक उपचारमात्र गर्ने गरिएको राउटे समुदायको उपचारका लागि खटिएकी स्वास्थ्यकर्मी अनुजा पन्त बताउँछिन् । अन्य समस्या चेकजाँच गर्नका लागि राउटेहरू तयार नभएको उनले बताइन्।
‘बस्तीमा ज्वरोको संक्रमण बढ्दो छ, २५ जनाभन्दा बढी बिरामी परेका छन्,’ उनले भनिन्, ‘तर राउटेहरू डेङ्गुलगायत रोग चेकजाँच गर्न मान्दैनन् । त्यसैले प्राथमिक उपचारमात्र गर्ने गरिएको छ ।’ हाल राउटेहरू जिल्लाको लेकवेशी नगरपालिका–८ मा बसेका छन् । राउटेहरूको स्वास्थ्य अवस्था बिग्रँदै गएकोले तीनै तहका सरकारले उनीहरूको संरक्षणका लागि नयाँ योजना बनाउनुपर्ने सुझाव मानवअधिकार आयोगले दिएको छ ।
राउटे समुदायको सङ्ख्या लगातार घटिरहेको छ । राष्ट्रिय मानवअधिकार आयोगले गरेको अध्ययन २०८१ को प्रतिवेदनले पनि राउटे समुदायको सङ्ख्या लगातार घट्दो क्रममा रहेको देखाउँछ । प्रतिवेदनमा २०७५ सालमा १४९ रहेको राउटेको जनसङ्ख्या हाल घटेर १३७ जनामा झरेको छ । यो समुदायको सङ्ख्या घट्नुका विभिन्न कारण रहेको विज्ञहरू बताउँछन् ।
यो समुदायको जनसङ्ख्या घट्नुको पछाडि राउटेहरूको अत्यधिक मदिरा सेवनलगायत गलत खानपिन र उपचार नगर्ने सामाजिक मूल्य, मान्यता जस्ता प्रमुख कारण छन् । राउटे समुदायको उत्थानका लागि काम गर्दै आएको गैरसरकारी संस्था सोसेक नेपालका कार्यकारी प्रमुख हीरासिंह थापाले राउटे समुदायमा कल्याल, रास्कोटी र सोवंशी गरी तीनवटा समुदाय रहेको बताए । उनका अनुसार एउटै समुदायका केटा र केटीको विवाह नहुने सामाजिक परम्परा भएका कारण धेरै युवायुवतीहरू विवाह नगरेर बसेको अवस्था छ ।
अर्को परम्परा भनेको श्रीमान्को मृत्युपछि जतिसुकै उमेर समूहका महिला भएपनि एकल भएर बस्नुपर्ने बाध्यता छ । हाल एकल महिला मात्रै २३ जना छन् । तीमध्ये अधिकांश २० देखि ३० वर्ष उमेर समूहका छन् । उनीहरूले अर्को विवाह गर्न पाउँदैनन् । प्रजनन उमेरका महिलाहरू बच्चा जन्माउनै नपाएपछि जनसङ्ख्या पनि बढेको छैन ।
राष्ट्रिय मानवअधिकार आयोगका कर्णाली प्रदेश संयोजक मानबहादुर कार्कीका अनुसार राउटेले भत्ताको प्रयोग खानपानभन्दा मदिरा सेवनमा गर्ने गरेको पाइएको छ । यसले गर्दा उनीहरूको मृत्यु धेरै भएको हुनसक्ने उनले बताए । यता कर्णाली प्रदेश सरकारले भने उनीहरूका लागि राउटे करिडोर निर्माण गरी विभिन्न संरक्षणका योजना अगाडि सारेको छ ।
समुदायमा सुरक्षा माग
समुदायमा त्रास बढेपछि राउटेले सुरक्षा माग गरेका छन् । पछिल्लो समय बाह्य व्यक्तिहरूको अनाधिकृत प्रवेशले राउटे समुदायले असुरक्षित महसुस गर्न थालेका हुन् । जंगलमा बस्दै आएका उनीहरूका बस्तीमा जथाभावी बाह्य व्यक्तिहरूको प्रवेशले असुरक्षित महसुस गरेको उनीहरूको भनाइ छ । विभिन्न बहानामा राउटे बस्तीमा जाने र त्यहाँ विभिन्न अवाञ्छित क्रियाकलाप गर्ने प्रवृत्ति बढेको हो ।
असोज २४ राति राउटे समुदायमा त्रास सिर्जना गर्ने एक युवालाई राउटे समुदायका युवाहरूले नियन्त्रणमा लिएका थिए । सुर्खेतको लेकबेशी नगरपालिकाका ती युवकले मदिरा सेवन गरी रातिका समयमा राउटेबस्तीमा छिरेका थिए । शनिबार बिहान ती समुदायका युवाहरूले नजिकैको प्रहरीलाई खबर गरी ती युवालाई प्रहरीको जिम्मा लगाएका थिए । त्रास सिर्जना गर्ने युवालाई आवश्यक अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मोहनजङ्ग बुढ्थापाले जानकारी दिए ।
उनका अनुसार कर्णालीका विभिन्न ठाउँमा फिरन्तेरूपमा जीवन बिताउँदै आएका राउटे समुदायमाथि केही वर्ष अगाडि पनि अवाञ्छित काम गर्ने केही व्यक्तिलाई प्रहरीले कारबाही गरेको थियो । राउटे समुदायका युवा दीपक शाहीले बाह्य व्यक्तिहरू बिनाकाममा बस्तीभित्र आउने गर्दा आफूहरूलाई असहजता बनाएको छ ।
‘रातिमा बस्तीभित्र बाहिरका मानिस आउन थालेपछि असुरक्षित महसुश हुन थालेको छ, अब हामीलाई सुरक्षा चाहियो,’ उनले भने, ‘दिउँसोको समयमा राउटे बस्तीमा आए पनि रातको समयमा मादक पदार्थ सेवन गरेर नआउन आग्रह छ ।’ यस्तै राउटे समुदायको रेखदेखका लागि काम गर्दै आएका सोसेकका दुर्गा खत्रीले पनि पछिल्लो समय राउटे समुदायमा सुरक्षा चुनौती थपिएको बताए । बस्तीको लागि प्रहरी खटाउन आवश्यक रहेको उनको भनाइ छ ।
रातिको समयमा गलत मानिसहरूको प्रवेश बढ्दै जाँदा राउटेको सुरक्षा जोखिम बढेको उनको भनाइ छ । ‘राउटेहरूलाई भत्ताको सट्टा रासन दिनुपर्ने देखिन्छ । भत्ताका रूपमा रकम दिँदा उनीहरू मदिराको लतमा फस्दै गएका छन्,’ उनले भने, ‘हाल राउटेहरूको स्वास्थ्यमा प्रतिकूल असर परिरहेको छ । यसले पनि राउटेहरूको थप सुरक्षामा चुनौती थपिएको छ ।’









प्रतिक्रिया दिनुहोस्