नेपाली क्रिकेट खेलाडीका नाममा हुलाक टिकट



काठमाडौँ ।

हुलाक सेवा विभागले नेपाली क्रिकेट खेलाडीहरुको तस्बिर अंकित हुलाक टिकट प्रकाशन गरेको छ । नेपाली क्रिकेट खेलाडीहरुको तस्बिर अंकित हुलाक टिकटमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले हुलाक सेवा विभागमा आयोजित एक कार्यक्रमा टाँचा लगाए ।

विश्व हुलाक दिवस २०२५ का अवसरमा आईसीसी पुरुष विश्वकप र आईसीसी महिला यू–१९ विश्वकप प्रतियोगितामा सहभागी खेलाडीहरुको तस्बिर अंकित हुलाक टिकटमा टाँचा लगाउनका साथै प्रदर्शनी गरिएको हो । खेलकुदको माध्यमबाट अन्तर्राष्ट्रिय कुटनितिक सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका खेलेका नेपाली क्रिकेट खेलाडीहरुको सम्मानका लागि हुलाक टिकट प्रकाशन गरिएको हुलाक सेवा विभागले जनाएको छ ।

विभागले रु १० दरको पाँच लाख प्रति हुलाक टिकट प्रकाशन गरेको हो । नेपाली सिनियर पुरुष क्रिकेट टोली सन् २०२४ मा अमेरिका र वेष्ट इन्डिजमा भएको नवौँ संस्करणको विश्वकपमा सहभागी भएको थियो । एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगितामा दोस्रो हुँदै नेपाली टिम विश्वकप खेल्न सफल भएको थियो । यस्तै महिला क्रिकेटको उमेरसमूहअन्तर्गत यु–१९ विश्वकप क्रिकेटमा नेपाली टिमले खेलेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८२ असोज २४ गते शुक्रबार