मालपोतले उठायो एक महिनामै २६५ लाखभन्दा बढी राजस्व



वीरेन्द्रनगर ।

जिल्ला मालपोत कार्यालय सुर्खेतले एक महिनामै दुई करोड ६५ लाख चार हजार बढी राजस्व संकलन गरेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागअन्तर्गतको यस कार्यालयले चालू आर्थिक वर्षको भदौ महिनामा मात्रै २६५ लाख बढी राजस्व संकलन गरेको हो । यस कार्यालयले चालू आर्थिक वर्षको हालसम्म कूल ६ करोड सात लाख ७० हजार रूपैयाँँ राजस्व संकलन गरेको छ ।

कार्यालय प्रमुख जनकबहादुर हमालका अनुसार भदौ महिनामा एक हजार १७५ वटा कारोबारबाट २६५ लाख बढी राजस्व संकलन भएको हो। यसअघि साउन महिनामा कूल कारोबार सङ्ख्या दुई हजार ४८२ पुगेको थियो । सबैभन्दा बढी कारोबार नामसारीतर्फ भएको उनले बताए ।
भदौ महिनामा मात्र ६२२ वटा नामसारी दर्ता हुँदा करिब दुई करोड १२ लाख ७९ हजार राजस्व संकलन भएको छ ।

यस्तै पुँजीगत कारोबारबाट ९१३ वटा कारोबारमार्फत एक करोड ३६ लाख ९७ हजार ३७४ रूपैयाँँ र लाभकरतर्फ ७९ वटा कारोबारबाट १३ लाख ४२ हजार ४८९ रूपैयाँँ संकलन भएको छ । रजिष्ट्रेशनमार्फत २३६ वटा कारोबारबाट एक करोड ८५ लाख २२ हजार १३५ रूपैयाँँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।

दृष्टिवन्धक कारोबारअन्तर्गत ४०३ वटा कारोबार हुँदा ६ लाख ८९ हजार ९०० रूपैयाँँ राजस्व संकलन भएको छ भने दाखिला, खारेज, घर कायम, हालसाविक र संशोधन लगायतका अन्य शीर्षकबाट पनि राजस्व संकलन भएको कार्यालयले जनाएको छ । छुटअन्तर्गत महिलातर्फ १८५ वटा कारोबार हुँदा २४ लाख २५ हजार ३०० रूपैयाँँ, दलिततर्फ तीन वटा कारोबार हुँदा २४ लाख ४४ हजार १९५ रूपैयाँँ र एकल महिला छुटमार्फत ५८ हजार ७२५ रूपैयाँँ राजस्व छुट प्रदान गरिएको कार्यालयको तथ्यांकमा उल्लेख छ । कार्यालयले प्राप्त उपलब्धिलाई चालू आर्थिक वर्षको सकारात्मक प्रगति मान्दै सेवाग्राहीलाई अझ सहज र पारदर्शी सेवा प्रदान गर्ने जानकारी दिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ असोज २३ गते बिहीबार