विद्युत् अनियमित हुँदा उपभोक्ता आजित



नेपाल विद्युत् प्राधिकरण कोहलपुर वितरण केन्द्रअन्र्तगतका उपभोक्ता अघोषित लोडसेडिङले आजित भएका छन् । विभिन्न ठाउँमा विद्युत् सेवा नियमित नहुँदा सामान्य उपभोक्तादेखि विद्युत्बाट सञ्चालन हुने व्यवसायमा समेत गम्भीर असर परेको छ । छिनछिनमा गइरहने विद्युत्का कारण उपभोक्ताहरूको दैनिकी नै असहज बनेको हो ।

शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।

अलिकति हुरी चल्यो, रूखको हाँगा भाँचियो भने बत्ती गई हाल्छ । बादल लागेर अलिअलि पानी पर्नै हुन्न, बत्ती झ्यापझ्याप गर्न थालिहान्छ । आजकल बाँकेमा बत्ती जान कूनै ठूलै कारण नै चाहिँदैन । रूख ढले हुन्छ, झरी परे पुग्छ । भदौ महिनाको चर्को गर्मीको समयमा घण्टौँ जान्छ । दिउँसो पनि झ्यापझ्याप । रातभर झ्यापझ्याप । कहिले लाइन हुन्छ । भोल्टेज हुँदैन । न फ्यान घुम्छ । न फ्रिज नै चल्छ । यही उकुसमुकुस र अत्यासलाग्दो अवस्था दैनिक भोगिरहेका छन् विद्युत् उपभोक्ताहरू । यसबाट भएको हैरानी सामान्य छैन । यो बाँकेवासीले भोग्दै आएका विगत केही महिनादेखिको समस्या हो ।

विद्युत् अनियमित हुँदा उपभोक्ता आजित भएका छन् । नेपाल विद्युत् प्राधिकरण कोहलपुर वितरण केन्द्रअन्र्तगतका उपभोक्ता अघोषित लोडसेडिङले आजित भएका हुन् । विभिन्न ठाउँमा विद्युत् सेवा नियमित नहुँदा सामान्य उपभोक्तादेखि विद्युत्बाट सञ्चालन हुने व्यवसायमा समेत गम्भीर असर परेको छ । छिनछिनमा गइरहने विद्युत्का कारण उपभोक्ताहरूको दैनिकी नै असहज बनेको छ । वितरण केन्द्रको कमजोरीका कारण उपभोक्ताहरूले केही महिनायता सास्ती भोग्दै आएका छन् । पानी परेको समय र हावाहुरीको समयमा केही समय बत्ती जाने आउने गरेपनि सामान्य अवस्थामा पनि घण्टौँ लोडसेडिङ हुने गरेको छ ।

दैनिकजसो दर्जनौँपटक बत्ती जाने गरेको छ । कोहलपुरका स्थानीय केशव शर्माका अनुसार विद्युत् अनियमित हुँदा नागरिकले सास्ती भोगिरहेका छन् । उनले आफूहरूले नियमित रूपमा पैसा तिर्दासमेत विद्युत् उपभोग गर्न नपाएको बताए । ‘पहिला त यस्तो थिएन । अहिले किन छिनछिनमा बत्ती जान्छ । त्यसको कारण के हो ? यसको समस्या समाधान हुनुप¥यो,’ उनले भने । व्यवसायी रमेश कार्की पनि लोडसेडिङका कारण आफूले समस्या भोगिरहेको बताउँछन् । उनका अनुसार केही महिनायता छिनमा बत्ती जाने, छिनमा बत्ती आउने भइरहेको छ । रातिको समयमापनि बत्ती जाने गरेका कारण समस्या हुने गरेको उनले बताए ।

त्यसले आफ्नो व्यवसायमा प्रत्यक्ष असर गरेको व्यवसायी कार्की बताउँछन् । नागरिकले भोगिरहेका समस्याका विषयमा नेकपा माओवादी केन्द्र कोहलपुर नगर समितिले जेठ १२ गते नेपाल विद्युत् प्राधिकरण कोहलपुर वितरण केन्द्रलाई सातबुँदे ज्ञापनपत्र बुझाएको थियो । तर कार्यालयले मागहरूको बेवास्ता गरेको भन्दै भदौ १९ गते विद्युत् अनियमित हुनुका कारण र समाधानको उपायका विषयमा सरोकारवालाहरूबीच अन्र्तक्रिया गरिएको थियो । छलफलमा सहभागिहरूले कोहलपुर वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा झ्यापझ्याप बत्ती जानुको कारण र अघोषित लोडसेडिङ भइरहेको विषयमा गम्भीर ध्यानाकर्षण गराएका थिए ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य नरेन्द्र न्यौपानेले लामो समयदेखि घरमा झ्यापझ्याप बत्ती किन जान्छ ? नागरिकले त्यसको उत्तर खोजेको बताएका थिए । ‘अघोषित लोडसेडिङ भइरहेको छ । गत वर्ष यो समस्या थिएन । यो वर्ष किन भइरहेको छ । यो गम्भीर विषय हो,’ उनले भने । सरकारले भारत र बंगलादेशमा विद्युत् बेचिरहेको भन्ने तर नेपाली नागरिकले नै विद्युत्को सहज सुविधा नै नपाउने अवस्थाको अन्त्य हुनुपर्ने उनको भनाइ थियो ।

नेकपा माओवादी केन्द्र कोहलपुर नगर समितिका अध्यक्ष बलबहादुर खड्काले आफूहरूले बारम्बार ध्यानाकर्षण गराएपनि सुनुवाइ हुन नसकेको बताए । ‘विद्युत् नियमित नहुँदा व्यवसाय संकटमा छ । नागरिकको दैनिकीमा समस्या भइरहेको छ । नागरिकको भान्सासम्म विद्युत्को समस्या रहेको छ । झ्यापझ्याप बत्ती जान्छ तर कार्यालय लोडसेडिङ होइन भन्छ । यस्तो किन भइरहेको छ ?’ उनले प्रश्न गरे ।
यता, कोहलपुर वितरण केन्द्रले प्राप्त विद्युत् र ग्राहकले माग गरेको विद्युत् पर्याप्त मात्रामा दिन सक्ने क्षमता केन्द्रसँग रहेको जनाएको छ ।

लोडसेडिङ गर्ने वा गरिएको भन्दै अवस्था नभएको केन्द्रले प्रष्ट्याएको छ । वितरण केन्द्र प्रमुख माधव महत लोडसेडिङ नभएको दाबी गर्छन् । उनले भने, ‘पछिल्लो समय हामी नयाँ फिडर जडान गर्दैछौँ । विभिन्न क्षेत्रमा समस्या आउँछ । त्यतिबेला केही समय बत्ती बन्द गरेर काम, मर्मत गर्नुपर्ने हुन्छ । नत्र उपभोक्ताको मागअनुसार नै सेवा दिइरहेका छौँ । यसलाई लोडसेडिङ भन्न मिल्दैन् ।’ उनका अनुसार कोहलपुर वितरण केन्द्रअन्तर्गत नेपालगन्जको राँझा र राप्ती सोनारीको शम्शेरगन्जमा दुई वटा औद्योगिक फिडरहरू रहेका छन् ।

विगत केही वर्षदेखि राप्ती सोनारीको शम्शेरगन्ज फिडरमा सामान्य पानी पर्नेबित्तिकै हांगा पात लागेमा लाइन जाने अवस्था थियो । त्यसलाई सुधार गर्दै कभर कण्डक्टरलाई अपग्रेडिङ गरेर लाइन सुधारको काम गरिरहेको उनले बताए । यस्तै अन्य फिडरहरू चिसापानी, सम्झना र कोहलपुरमा रहेका छन् । कोहलपुरमा ग्रिडबाट प्रसारण गरिएको एउटा फिडर छ । जनघनत्व बढ्दो अवस्थामा रहेकोले माग बढ्दो अवस्थामा रहेको छ । ‘त्यो फिडर ओभरलोड भएको अवस्था छ ।

त्यसलाई छुट्टै फिडर बनाउनको लागि कार्यालय लागिरहेको छ । विद्युत्लाई सहजरूपमा आपूर्ति गर्न टिपिङ हुने समस्यालाई न्यूनीकरण गर्न पहल भइरहेको छ । फिडर टुक्र्याउने काम हुनेबित्तिकै समस्या समाधान हुन्छ,’ मिसन टुडे दैनिकसँग कुराकानी गर्दै उनले भने । कोहलपुरमा अहिले नयाँ फिडर जडानको काम भइरहेको छ ।

आवश्यकता र प्राथमिकताको आधारमा वर्षभरीका लागि केन्द्रलाई विनियोजित बजेटको सीमाभित्र रहेर काम गरिरहेको उनले बताए । उनका अनुसार कोहलपुर वितरण केन्द्रअन्तर्गत ५० हजार उपभोक्ता रहेका छन् । सेवा क्षेत्र कोहलपुर, बैजनाथ, जानकीको वडा नम्बर ६, नेपालगन्ज वडा नम्बर २० र राप्ती सोनारी गाउँपालिकाका वडा नम्बर ८ र ९ रहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ २२ गते आइतबार