नेपालगन्ज ।
लुम्बिनी प्रदेश र गण्डकी प्रदेशबीच पर्यटनको विकासमा सहकार्यका क्षेत्र खोज्ने उद्देश्यले नेपालगन्जमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नाट्टा गण्डकी प्रदेशका अध्यक्ष किशोर दाहालको अध्यक्षतामा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा दुई प्रदेशबीच पर्यटकीय विकासका लागि गर्न सकिने सहकार्यबारे छलफल भएको थियो ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले दुई प्रदेशका पर्यटकीय क्षेत्रहरूको प्रचारप्रसार गर्न नसक्दा पनि सोचेजस्तो पर्यटकहरू भित्र्याउन नसकिएको पर्यटकहरूको बसाइँ लम्ब्याउन नसकिएको बताए । मन्त्री न्यौपानेले दुई प्रदेशबीच भएको अन्तरक्रियाले पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने विश्वास व्यक्त गरे । न्यौपानेले पर्यटकहरूको सहज आवागमनका लागि मन्त्रालयले पहल गरे पनि प्रभावकारी हुन नसकेको बताए ।
त्यसका निमित्त सुरक्षा निकायबाट सहयोग नपाएको उनको भनाइ छ । आफूले सुरुदेखि नै सुरक्षा चेकजाँचका नाममा पर्यटकहरूले अनावश्यक दुःख पाइरहेको गुनासो सुन्दै आएको उल्लेख गर्दै उनले समस्या समाधानका लागि सुरक्षा निकायका अधिकारीहरूसँग पटक पटक छलफल गरे पनि सुरक्षा निकायले पहल नगरेको टिप्पणी गरे । उनले पर्यटन प्रवद्र्धनका लागि निजी क्षेत्रले नै अगुवाइ गर्नुको विकल्प नभएको बताए ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्लेले लुम्बिनी प्रदेश पर्यटकीय दृष्टिकोणबाट अत्यन्तै सम्भावनायुक्त ठाउँ भएकाले भारतीय पर्यटकहरूको आवागमनलाई सहज बनाउन आवश्यक रहेको बताइन् । भारतीय पर्यटकहरूले नेपाली सुरक्षाकर्मीबाट चेकजाँचका नाममा विभिन्न झन्झट खेप्दै आइरहेको गुनासो आफूले सुनेको उल्लेख गर्दै त्यसको सहजीकरणका लागि पहल गर्नुपर्ने मन्त्रीसँग आग्रह गरिन् ।
कार्यक्रममा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख युवराज गुरुङ, नाट्टा पाल्पा च्याप्टरका अध्यक्ष राजीव शाह, नाट्टा बाँके च्याप्टर अध्यक्ष श्रीराम सिग्देल, नेपालगन्ज उद्योग बाणिज्य संघका महासचिव भिमबहादुर रानाभाट लगायतले पनि बोलेका थिए ।









प्रतिक्रिया दिनुहोस्