बाँके ।
बाँकेका छ स्थानीय तह क्षेत्रका पशु चौपायामा ‘लम्पी स्किन’को संक्रमण देखिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका योजना अधिकृत तथा सूचना अधिकारी भोजबहादुर रावलले जिल्लाका सात स्थानीय तहमा पशुमा संक्रमण देखिएकामा उपचार सुरु भएको बताए ।
उनका अनुसार संक्रमण बढ्दो अवस्थामा रहे पनि स्थानीय तहले तदारुकताका साथ उपचार गरिरहेको जानकारी दिए ।
यहाँको राप्तीसोनारी, जानकी गाउँपालिका, कोहलपुर नगरपालिका, नरैनापुर गाउँपालिका, खजुरा, बैजनाथ, डुडुवाका केही क्षेत्रमा संक्रमण देखिएको हो । हालसम्म नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा भने संक्रमण नभएको विज्ञ केन्द्रले जनाएको छ । सूचना अधिकारी रावलले एक महिनादेखि नै पशुमा ‘लम्पी स्किन’ को संक्रमण देखिन थालेको उल्लेख गर्दै सबैभन्दा बढी गाई र गोरुमा समस्या भएको बताए ।
स्थानीय तहबाट विवरण आउने क्रम जारी रहेकाले संक्रमित पशुको यकिन सङ्ख्या अझै बढ्ने अनुमान गरिएको छ । जिल्लाको जानकी गाउँपालिकाका पशु सेवा शाखाका प्रमुख दिलबहादुर खड्काले किसानलाई अनुदानमा औषधि उपलब्ध गराइएको र कतिपय औषधि नेपालमा नपाइएकाले भारतको रुपैडिहाबाट ल्याएर लगाउने गरिएको बताए । राप्तीसोनारीका पशु सेवा विभाग प्रमुख जयबहादुर कार्कीले गाउँपालिका–१, २, ६ लगायतका वडामा संक्रमण देखिएकाले ‘भ्याक्सिन’का लागि विज्ञ केन्द्रलाई पत्राचार गरिएको बताए ।









प्रतिक्रिया दिनुहोस्