सकियो काँग्रेस बाँकेको अगुवा कार्यकर्ता प्रशिक्षण



बाँके ।

नेपाली काँग्रेस प्रशिक्षण शाखा बाँकेद्वारा आयोजित दुईदिने जिल्लास्तरीय प्रशिक्षण सोमबार सम्पन्न भएको छ । प्रशिक्षण कार्यक्रमको आइतबार एक समारोहका बीच नेपाली काँग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले उद्घाटन गरेका थिए । प्रशिक्षणमा बाँके जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, महासमिति तथा महाधिवेशन प्रतिनिधिहरू, क्षेत्र, प्रदेश सभा क्षेत्र तथा पालिका कार्यसमितिका पदाधिकारीहरू, निर्वाचित पालिका प्रमुख तथा उपप्रमुखहरू र भ्रातृ तथा शुभेच्छुक संस्थाका केन्द्रीय पदाधिकारी तथा सदस्य र जिल्ला अध्यक्षहरू गरी करिब २७५ जनाको सहभागिता रहेको प्रशिक्षण शाखा सचिव उमा थापामगरले जानकारी दिइन् ।

नेपाली काँग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठान विभागको निर्देशनमा आयोजित प्रशिक्षणमा प्रतिष्ठानका कार्यकारी निर्देशक डा. बुद्धिमान श्रेष्ठले ‘नेपालको संविधानः संविधान कार्यान्वयनमा काँग्रेसको भूमिका र दायित्व’, प्रतिष्ठानका निर्देशक डा. कृष्णप्रसाद पौडेलले नेपाली काँग्रेसको तहगत संरचना र नेतृत्व विकास’, ‘सांगठानिक अवस्था र संगठन विस्तारको रणनीति’ र नवीन श्रेष्ठले ‘नेतृत्व क्षमताको विकास’ विषयमा प्रशिक्षण दिएका थिए ।

त्यस्तै, प्रतिष्ठानका ‘विश्वदिप लामिछानेले ‘संगठन विस्तारमा सूचना प्रविधिको प्रयोग र प्रभाव’, तिर्थ पौडेलले ‘प्रशिक्षणको विधि, प्रशिक्षकका सीप र प्रभावकारिता’, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा.जगदिशचन्द्र पोखरेलले ‘लोकतान्त्रिक समाजवादः नेपाली काँग्रेसको आर्थिक नीति, उपलब्धि र भावी कार्यदिशा’ र डा.सञ्जय महतोले ‘युवा, रोजगारी र उद्यमशिलता’ विषयमा प्रशिक्षण सहभागिहरूलाई प्रशिक्षित गरेका थिए । प्रशिक्षण अवधिमा सहभागिबीच समूहगत छलफल तथा प्रस्तुतीकरणसमेत गराइएको थियो ।

प्रशिक्षण समापन समारोहमा नेपाली काँग्रेस लुम्बिनी प्रदेश उपसभापति एवम् प्रशिक्षण विभाग प्रमुख भुवनप्रसाद श्रेष्ठ, बाँके सभापति नारायणप्रसाद गौडेल, उपसभापति एवम् प्रशिक्षण शाखा प्रमुख गोपालप्रसाद अधिकारीलगायतले सहभागिहरूलाई प्रमाणपत्र प्रदान गरेका थिए । जिल्ला प्रशिक्षण शाखा प्रमुख अधिकारी र जिल्ला उपसभापति कृष्ण कार्कीले नेपाली काँग्रेसका कार्यकर्तालाई प्रशिक्षण दिनुपर्ने आवश्यकता र यसको उपादेयताका बारे चर्चा गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ १७ गते मंगलबार