सुनको भाउ उकालो, व्यवसाय ओरालो



कोहलपुर (बाँके) ।

सुनको भाउले यतिबेला नेपाली बजार तातेको छ । सुनले अन्तर्राष्ट्रिय बजारमा एकपछि अर्को उचाइ लिइरहेको छ । नेपालमा समेत सुनको मूल्य निरन्तर कीर्तिमानतर्फ उन्मुख छ । नेपालमा पछिल्ला दुई दिनको सुनको मूल्य हेर्दा उक्त कुरा प्रष्ट हुन्छ । शुक्रबार मात्रै नेपालमा सुनको मूल्य दुई लाख नाघेको थियो । सुन आइतबार झन् महँगिएको छ । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

आइतबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला दुई लाख तीन हजार ६०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । नेपालमा शुक्रबार कारोबार भएको भन्दा आइतबारसम्म आइपुग्दा तीन हजार रूपैयाँँ बढेको हो । यो मूल्य हालसम्मकै उच्च हो । महासंघले सुनको मूल्य प्रतितोला दुई लाख तीन हजार ६०० कायम भएको जनाएपनि स्थानीय बजारमा भने सुन दुई लाख चार हजारमा कारोबार भयो । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ लुम्बिनी अध्यक्ष तथा केन्द्रीय सदस्य देवीलाल सुनार अस्थिर रूपमा भइरहने सुनको मूल्य वृद्धिका कारण व्यवसायमा गम्भीर असर पर्ने बताउँछन् ।

उनका अनुसार सुनको मूल्यमा निरन्तर उतारचढाव हुँदा त्यसको प्रत्यक्ष असरमा साना तथा मझौला व्यवसायमा पर्छ । ‘सुनको मूल्य बढ्नु भनेको सिंगो सुनको बजारलाई प्रभाव पार्नु हो । अझ प्रत्यक्ष रूपमा व्यवसायी र उपभोक्ता पर्छन् । यसले धेरै कुरामा असर गरेको हुन्छ,’ सुनारले भने । उनले जति सुनको मूल्य बढ्छ त्यति नै सङ्ख्यामा ग्राहक घट्ने गरेको बताए । सुनको मूल्य बढ्दा व्यवसायी र उपभोक्तालाई असर गर्ने उनले बताए । ग्राहकलाई किन सुनको मूल्य बढ्यो, अझै कति बढ्ने हो ? घट्ने हो कि होइन भन्ने भइरहन्छ ।

सुनको मूल्य प्रतितोला एक लाख हुँदा र दुई लाख पुग्दासम्मको अवस्था हेर्दा उपभोक्ता घद्दो क्रममा रहेको व्यवसायीहरूको भनाइ छ । अध्यक्ष सुनार भन्छन्, ‘त्यतिबेलासम्म सुन किन्ने मान्छेहरू ठूलोे सङ्ख्यामा आउँथे । अहिले सुनको मूल्य जसरी बढेको छ । निम्न आयस्तर भएका उपभोक्ताहरू सुन पसलसम्म पुग्ने अवस्थै रहेन । निरन्तर मूल्य महंगो हुनु हाम्रो लागिसमेत चुनौतीको विषय बनेको छ ।’ आर्थिक रूपमा कमजोर नागरिकहरूले सुन किन्नै नसक्ने अवस्था आएको छ ।

अन्तर्राष्ट्रिय कमोडिटी बजारमा हुने माग र आपूर्तिले सुनको मूल्य निर्धारण हुन्छ । जब अन्तर्राष्ट्रिय कमोडिटी बजारमा सुनको माग र आपूर्ति बढी प्रभावित हुन्छ, मूल्य पनि उच्च दरमा घटबढ हुन्छ । यतिबेला अन्तर्राष्ट्रिय बजारमा सीमित आपूर्तिबीच सुनको माग उच्च दरले बढ्दा मूल्यमा असर परिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा अहिले सुनको भाउ मुख्यतः ५ कारणले बढिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा छापिएका विभिन्न रिपोर्टले देखाउँछ ।

पहिलो, अमेरिकी केन्द्रीय बैंकको ब्याजदर, दोस्रो, अमेरिकी डलरको प्रभुत्व कमजोर बनाउन चीनले सुनलाई महत्व दिनु, तेस्रो, विश्वका केन्द्रीय बैंकहरूले विगतमा उच्च दरले खरिद बढाउनु, चौथो, भूराजनीतिक द्वन्द्व र पाँचौँ, आर्थिक गतिविधिमा सुस्तता देखिनु । विश्व बजारमा देखापरेका यस्ता कारणले नेपाली सुन बजारसमेत प्रत्यक्ष प्रभावित हुने गरेको अध्यक्ष सुनार बताउँछन् । युद्ध बढ्दा, भूराजनीतिक तनाव बढ्दा विश्वका केन्द्रीय बैंक र ठूलो लगानीकर्ताले समेत सुनमा लगानी बढाउने गर्छन् ।

मूल्य वृद्धि र कर नीतिको मार

पछिल्ला केही वर्षयता मुख्य दुई कारणले प्रभावित छ । पछिल्लोपटक कोरोना महामारीको समयमा थला परेको व्यवसाय बिस्तारै तंग्रिदै थियो । कतिपय सुन व्यवसायीहरू पलायन नै भएपछि अन्य व्यवसायी भने पूर्ववत अवस्थामा फर्किने आशा गरिरहेका थिए । ‘कोरोनापछि बिस्तारै हामी तंग्रिने प्रयासमा थियौँ । व्यवसाय पहिले कै अवस्थामा फर्किने आशा थियो । मूल्य वृद्धि र सरकारको कर नीतिका कारण फेरि समस्यामा परेका छौँ,’ मिसन टुडेसँग कुराकानी गर्दै सुनारले भने । निरन्तर मूल्य वृद्धिका कारण साना तथा मझौला व्यवसायी प्रत्यक्ष मारमा पर्ने गरेका छन् ।

बाँकेको कोहलपुरमा व्यवसाय गर्दै आएका विवेक सोनी निरन्तर मूल्य वृद्धि व्यवसायीहरूको लागि टाउको दुखाइको विषय बनेको बताउँछन् । उनका अनुसार निरन्तरको मूल्य वृद्धिका कारण ग्राहक सुन पसलसम्म पुग्नै छोडिसके । ‘जसका कारण व्यवसाय र आर्थिक कारोबारमा समेत असर गरिरहेको छ । कारोबार नहुनु भनेको नाफा आम्दानी नहुनु हो । व्यवसाय नै नहुँदा कसरी निरन्तरता दिने । यस्ता धेरै समस्या छन्,’ उनी भन्छन् ।

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ लुम्बिनी अध्यक्ष सुनारले आफूहरू सरकारको कर नीतिको समेत मारमा रहेको बताए । सरकारले आर्थिक वर्ष २०८२–०८३ को बजेटमार्फत सुनचाँदी तथा हिरा–पत्थरका गरगहना बिक्रीमा सीमा नतोकी दुई प्रतिशत विलासिता कर र हिरा तथा बहुमूल्य पत्थरजडित गहनामा १३ प्रतिशत मूल्य अभिवृद्धि कर लगाउने उल्लेख गरेको छ ।

सरकारले जारी गरेको कर नीतिको विरोधमा सुनचाँदी व्यवसायमा आबद्ध नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघले देशभर एकमहिना व्यवसाय बन्द गरेर आन्दोलन गरेका थिए । पछि सरकार र आन्दोलनरत पक्षबीच ६ बुँदे सहमतिपछि आन्दोलन स्थगित गरेर नियमित व्यवसायमा फर्किएका थिए ।

तर सरकारले आफूहरूसँग गरेको सहमति कार्यान्वयन नगरेको उनले बताए । सहमति कार्यान्वयन नहुँदा सरकारलाई फाइदा र व्यवसायीहरूलाई घाटा हुने अवस्था छ । सरकारले भदौ २ गतेबाट लागु गर्ने निर्देशन दिएको थियो । भदौ महिनाभित्रै जसरी पनि सरकारको नियम मान्नुपर्ने स्थिति सिर्जना भएको उनले बताए । लुम्बिनी प्रदेशका प्रत्येक जिल्लामा न्यूनतम पाँच सयदेखि सात सय जनासम्म सुन व्यवसायी छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ १६ गते सोमबार