जनप्रतिनिधिका दसैँ योजनाः खेतीपाती गर्नेदेखि पुस्तक पढ्नेसम्म



नेपालीको महान् चाड बडादसैँले सम्पूर्णको घरआँगन छोइसकेको छ । मान्यजनबाट आशीर्वाद लिने, राम्रो लाउने, मिठो खाने, साथीहरूसँग रमाइलो गर्ने पर्वका रूपमासमेत रहेको दसैँलाई विजया दशमी पनि भनिन्छ । घटस्थापनादेखि सुरु भएर कोजाग्रत पूर्णिमाका दिन समापन हुने दसैँ नेपालमा निकै उल्लासका साथ मनाइने गरिन्छ । सामान्यतया आफ्नो परम्परालाई निरन्तरता दिने हेतुले चाडपर्व मनाइने गरिन्छ । दसैँमा खानपीन, मनोरञ्जन मात्र होइन, नयाँ ठाउँ घुम्ने, नयाँ किताब पढ्ने, नयाँ खोज अनुसन्धान गर्ने तथा अधुरा काम सक्ने लक्ष्य लिएका व्यक्ति पनि भेटिन्छन् । यसपालिको दसैँमा बाँके जिल्लाका स्थानीय तहका जनप्रतिनिधि तथा प्रदेशसभा सदस्यहरूले कसरी मनाउँदैछन् त ?

‘खेतीपातीमा व्यस्त हुनेछु’

दुर्गाबहादुर चौधरी

प्रदेश सांसद, लुम्बिनी प्रदेश

अहिलेको देशको परिस्थिति विषम छ । देशको अवस्थामा धेरै परिवर्तन आएको छ । जनताहरूको एक प्रकारको अन्यौलमा छन् । म विगतदेखि नै दसैँ तडकभडक रूपमा मनाउँदिन । यसपटक पनि दसैँ सामान्य अवस्थामै हुनेछ । बिदाको समयमा म आफ्नो खेतीपातीमा व्यस्त हुनेछु । त्यस्तो कुनै ठूलै योजना बनाएको छैन् । घरपरिवारलाई समय दिने । सामान्य भेटघाटको कार्यक्रम हुनेछ । गाउँघरतिर बस्ने, खेतीपातीलाई बढी समय दिनेछु । दसैँ राम्रोसँग मनाऔँ । अरुको देखासिकी नगरौँ भन्न चाहन्छु । अनि सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाई र दिदीबहिनीहरूमा दसैँको शुभकामना व्यक्त गर्न चाहन्छु ।

‘म त सामान्यरूपमैै बिताउनेछु’

बादशाह कुर्मी

प्रदेश सांसद, लुम्बिनी प्रदेश

म त सामान्य मान्छे हुँ । त्यसैले मेरो जीवनशैलीसमेत सामान्य छ । विगतमा पनि सामान्यरूपमैै दसैँ मनाउँथे । यसअघि पनि मेरो दसैँ सामान्य नै हुने गरेको छ । दसैँको योजनाको विषयमा कुरा गर्नुहुन्छ, त्यस्तो ठूलो योजना केही पनि छैन । म दसैँको समयमा नौरात्रभरी वर्त बस्छु ।साहाकारी मान्छे । खानपीनसमेत सामान्य नै हुन्छ । अब दसैँको समयमा परिवारसँग बस्ने, आफन्तजन भेट्ने काम हुन्छ । जनताहरूसँग कुराकानी गर्ने । बरु सम्पूर्णलाई दसैँ तडभडकका साथ नमनाउन आग्रह गर्न चाहन्छु । सामान्यरूपमैै दसैँ मनाऔँ । अरुको देखासिकी नगरौँ । सबै मिलेर रमाइलो गरौँ ।

‘गाउँलेहरूसँग दसैँ मनाउँदैछु’

सञ्जुकुमारी चौधरी

प्रदेश सांसद, लुम्बिनी प्रदेश

यसपालिको दसैँ घरमै हुनेछ । अहिले म गाउँमै छु । दसैँको रौनक छाइसकेको छ । त्यसको रमाइलोसमेत सुरु भइसकेको अवस्था छ । थारु समुदायमा विशेषरूपमा दसैँ मनाउने गरिन्छ । पृत्ति पूजा हुन्छ । कूल देवताको पूजा गरिन्छ । बलि दिनेसमेत चलन रहेको छ । गाउँका सम्पूर्ण गाउँलेहरू आउँछन् । उहाँहरूबाट टीका थाप्ने हुन्छ । नाचगानसहित रमाइलोसमेत हुने गरेको छ । अर्कातिर जेनजी आन्दोलनपछिको परिस्थिति अनुकूल छैन । देशले आमाले सन्तान गुमाउनु भएको छ । मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु । घाइतेहरूको स्वास्थ्य लाभको कामना छ । जेनजी आन्दोलनका क्रममा उठेका जायज माग पूरा हुन् ।

‘पछिल्लो परिस्थितिले मनमा दसैँको रंग नै छैन’

अम्बिका काफ्ले

प्रदेश सांसद, लुम्बिनी प्रदेश

सर्वप्रथम बडादसैँको सम्पूर्णमा शुभकामना व्यक्त गर्न चाहन्छु । मेरो घरमा यसपालि टीका छैन । अर्कातिर देश नै विपत्तिको घडीमा छ । देशको भविष्य मानिएका दर्जनौँ निहत्था युवाहरूको हत्या गरिएको छ । सयौँ घरमा आँसु छ । यस्तो अवस्थामा खुसीका साथ दसैँ मनाउन मनले मानिरहेको छैन् । विगतमा जस्तो मनमा दसैँको रंगनै छैन । तरपनि जनप्रतिनिधिका रूपमा आफ्नो निर्वाचन क्षेत्रमा पुग्ने, आफन्तजन, दाजुभाई, दिदीबहिनी र आमबुवाहरूसँग भेटघाट गर्ने मेरो योजना रहेको छ । यसपालिको दसैँमार्फत अब देशले यस्तो कुनैपनि प्रकारको विपद् भोग्न नपरोस् भन्ने कामना छ । देशमा सुख शान्ति र समृद्धि आओस् ।

‘देशभरी नै उल्लासमय हुनेछैन् दसैँ’

बसन्ती न्यौपाने

प्रदेश सांसद, लुम्बिनी प्रदेश

देशको परिस्थिति विषम् छ । देशले धेरै कुरा गुमाएको छ । विश्वभरी हाम्रो देशलाई हेर्ने दृष्टिकोण नै परिवर्तन भएको छ । जेनजीहरूले उठाएको मुद्दा ठिक थियो । तर, जसरी आगजनी र तोडफोड भयो । दर्जनौँले ज्यान गुमाए । यसकारण देश रोएको छ । वषौँदेखि लँडेर ल्याइएको परिवर्तनको रक्षा गर्नुपर्ने जिम्मेवारी आइपुगेको छ । स्वाभाविकरूपमा रुपान्तरणसहितको पुस्तान्तरण अहिलेको अवस्था छ । यसलाई सबै दलले सोच्नुपर्ने भएको छ । मेरो व्यक्तिगत कुरा गर्नुहुन्छ भने टीका छ । परिवारसँग सामान्यरूपमा मनाउने छु । दसैँको अवसरमा भाइचाराको सम्बन्ध विस्तार होस् । सम्पूर्ण देशवासीहरूलाई शान्त र मर्यादितरूपमा दसैँ मनाउन आग्रह गर्न चाहन्छु ।

‘जनतासँग मनाउनेछु दसैँ’

सूर्यप्रसाद ढकाल

निवर्तमान सांसद, प्रतिनिधिसभा

देशले राजनीतिक रूपमा कोल्टे फेरेको छ । जसले गर्दा हाम्रो भूमिकासमेत परिवर्तन भएको छ । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा जनताले अमूल्य भोट दिएर जिताउनुभयो । तीन वर्षको अवधिमा जनताका लागि सकेजतिको काम गरेँ । अहिले परिस्थिति फरक छ । म यसपटक घरमै हुनेछु । दसैँका लागि भनेर केही योजना भने पक्कै छन् । दसैँमा तामझाम गर्दिनँ । कुनै पनि फजुल खर्च गर्दिन । तडकभडक नगर्ने । जनताको घरमा गएर दसैँ मनाउनेछु । मतदाता भेट्नेछु । सबैको आर्शीवाद लिनेछु । दसैँको विशेष योजनाका रूपमा प्रयोगशाला भन्ने पुस्तक पढ्नेसमेत योजना रहेको छ ।

‘यसपालि मेरो दसैँ छैन’

प्रकाशबहादुर शाही

अध्यक्ष, बैजनाथ गा.पा. (बाँके)

यसपालि मेरो घरमा आफन्त बित्नुभएको छ । मेरो परिवारमा दसैँ छैन । आफ्नो घरमा दसैँ नभएपनि यो हाम्रो परम्परा हो । रीति संस्कृति हो । तर सम्पूर्ण गाउँपालिकावासीहरूले आफ्नो आर्थिक हैसियतअनुसार दसैँ मनाउन आग्रह गर्न चाहन्छु । अरुको देखासिकी नगर्नुहोस् । धेरै तडकभडक नगर्नुहोस् । महत्वपूर्ण चाडपर्वहरूलाई आपसी एकताको माध्यम बनाउनुहोस् गाउँपालिकाको तर्फबाट भने दसैँभन्दा अगाडि गाउँपालिकाले शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने योजना रहेको छ । जनप्रतिनिधि, कर्मचारी, नागरिक समाज तथा सरोकारवालाहरूको सहभागितामा शुभकामना आदानप्रदान कार्यक्रम हुन्छ । सम्पूर्णमा मेरो शुभकामना छ ।

‘दसैँको उमंगमा सपना र संघर्ष मिसिएको छ’

कमरुद्दिन राई

उपप्रमुख, नेपालगन्ज उपमहानगर (बाँके)

देश अहिले अभूतपूर्व संकटको अवस्थामा छ । देशमा भर्खरै भएको जेनजी आन्दोलनका कारण हामीले क्षति व्यहोर्नु प¥यो । दसैँ तिहारको मुखमा आमाले सन्तान गुमाइन् । देशले दर्जनौँ युवा गुमाएको छ । यस वर्षको दसैँले राजनीतिक दलमा आफ्ना कमजोरी सुधार गर्ने बुद्धि देओस्। आर्थिकरूपमा धेरै घाटा भएको छ । हाम्रै कुरा गर्नु हुन्छ भने नेपालगन्जको कार्यालयमा क्षति भयो । आन्दोलनमै हाम्रै भाइहरूले ज्यान गुमाए । त्यही भएर यसपटक दसैँको उमंगमा सपना र संघर्ष मिसिएको छ । एकआपसमा मिलेर दुःख सुख साटेर दसैँ मनाऔँ ।

‘अध्ययन गरेर समय बिताउनेछु’

तप्तबहादुर पौडेल

अध्यक्ष, राप्ती सोनारी गा.पा. (बाँके)

दसैँ सुरु भइसकेको छ । अहिले पनि जनताको काममै छु । भोलिबाट बिदा हुन्छ । त्यसपछि घरको काममा व्यस्त हुन्छु । खास्सै त्यस्तो ठूलो योजना त बनाएको छैन । सबैलाई शुभकामना दिने । टीकाको दिन मान्यजनबाट टीका थाप्ने र आफूभन्दा सानालाई आर्शीवाद दिने हुन्छ । परिवारसँग अधिकतम् समय बिताउनेछु । त्यस अलावा अध्ययनमा मेरो समय बित्नेछ । चार वटा पुस्तक दसैँमा पढ्नका लागि किनेको छु । ध्यान सुत्र, ध्यान विधि र ओशोको राजनीतिक विश्लेषण लगायतका पुस्तक पढ्ने योजना छ । दसैँतिहारसहित चाडपर्वको समयमा गाउँमै हुनेछु। तामझाम र तडकभडक हुनेछैन् । देशको विषम परिस्थिति छ । त्यसैले घुमघाम कतै हुँदैन ।

‘दसैँमा भेटघाटमा व्यस्त हुनेछु’

मञ्जु मल्ल

उपाध्यक्ष, खजुरा गा.पा. (बाँके)

मेरो यसपालिको दसैँ सामान्य नै हुनेछ । दसैँलाई विगतमा समेत सामान्य रूपमा मनाउने गरेको छु । गत वर्ष घरमा दसैँ थिएन । यसपटक दसैँ छ । तर मेरो माइतीघरमा छैन । हाम्रो घरको कुरा गर्दा आफन्तहरूसँग भेटघाट गर्ने योजना छ । मेरो श्रीमान् बाहिर हुनुहुन्छ । भारतमा रहेको छोरो दसैँमा घर आउँदैछ । घरको मुख्य मान्छे नहुँदा दसैँमा खास्सै राम्रो हुँदैन । त्यसैले सामान्यरूपमा दसैँ मनाउने योजनामा छु । समग्र गाउँपालिकावासीलाई भने सामान्यरूपमा दसैँ मनाउन आग्रह गर्दछु । राम्रोसँग पर्व मनाउनुहोस् । अन्त्यमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना ।

  • No tags available
प्रकाशित मिति : २०८२ असोज १२ गते आइतबार