बजेट अभावले नाग्म–गमगढी सडकको कालोपत्रे ठप्प



जुम्ला ।

बजेट अभाव हुँदा नाग्म–गमगढी राजमार्गको कालोपत्रे रोकिएको छ । पर्यटकहरूको मुख्य गन्तव्य रहेको नेपाली भाषाको उद्गम स्थल सिंजा र राराताल घुम्न जाने मुख्य सडकमा नै बजेट अभावले स्तरवृद्धि हुन नसकेको हो । योजना अनुसारको प्रयाप्त बजेट विनियोजन नहुँदा यस सडकको स्तरवृद्धि हुन सकेको छैन । जुम्लाको नाग्मदेखि मुगुको गमगढी क्षेत्रको सडक ९३ किलोमिटर छ ।

आर्थिक वर्ष २०८०–८१ मा ६ किलोमिटर कालोपत्र भएपनि बजेट अभावका कारण देखाउँदै आर्थिक वर्ष ०८१–८२ मा कालोपत्रे तथा स्तरवृद्धि हुन सकेन । सडक स्तरवृद्धि हुन नसकेका कारण रारा तथा सिंजामा जाने पर्यटकहरूले सास्ती भोग्ने गरेका छन् । सडक डिभिजन कार्यालय जुम्लाका इन्जिनियर सौरभकुमार सिंहका अनुसार गत वर्ष बजेट अभावका कारण कालोपत्रेको कामलाई अगाडि बढाउन नसकिएको हो । यस वर्ष पनि बजेट कम विनियोजन भएको र दायित्व पनि उत्तिकै रहेकाले सडक कालोपत्रे हुने सम्भवना कम रहेको उनको भनाइ छ ।

पहिले कनकासुन्दरी गाउँपालिका पाण्डपगुफा क्षेत्रदेखि हाटसिञ्जासम्म ६ किलोमिटर कालोपत्रे गरिएको उनले बताए । ‘पछिल्लोपटक बनाउनुपर्ने सडक क्षेत्र बढी रहेको र बजेट कम भएका कारण कालोपत्रेसहितका काम ठप्प छन्,’ उले भने, ‘सडक बर्खा समयमा हिलो र हिउँदे सिजनमा धुलो हुने भएकाले यात्रुलाई समस्या भएको हो । त्यसैले बजेट अभावका कारण यो खण्डको सडक कालोपत्रे गर्न सकिएको छैन।’

सडक डिभिजन कार्यालयका अनुसार यसपटक पनि संघीय सरकारले यस सडकका लागि २५ करोड मात्रै बजेट विनियोजन गरेको छ । तर यो बजेट कालिकोटको रताडा, गाल्जे, नाग्म गमगढी र नाक्चे लाग्नासम्म खर्च गर्नुपर्ने उल्लेख छ । सडक डिभिजन कार्यालय जुम्लाले यस क्षेत्रमा कालोपत्रे गर्ने योजना बनाइरहे पनि बजेट अभावले हैरान बनाएको छ । सडक स्तरवृद्धि नहुँदा राराराताल घुम्न आएका पर्यटक फर्किँदा बिरामी भएर गएको घटना दोहोरिरहेका छन् ।

पर्यटक सुशिला चौधरीले रारा र सिंजा जस्तो ठाउँमा जाने राम्रो सडक बाटो अहिलेसम्म बन्न नसक्नु दुःखद् कुरा रहेको बताइन् । हालसम्म पनि सडक नबन्दा अच्चम लागेको उनको भनाइ छ । ‘यति राम्रो सम्भावना बोकेको स्थानमा हिलो बाटोका कारण बाटोमै रोकिनुपर्ने बाध्यताले पर्यटक हैरान छन् । नाग्म–गमगढी राजमार्ग बनाउन सरकारले प्राथमिकता दिएको देखिएन,’ उनले भनिन्, ‘कर्णाली राजमार्गको गगनेखोलामा पहिरोमा परेर तीन दिन बाटोमै बस्नुपरेको थियो । त्यसैमा झन् जुम्लादेखि मुगु पुग्ने सडकको हालत देख्दा दिक्क लाग्यो ।’

पर्यटकलाई मात्रै होइन । सिंजा हुँदै मुगु पुग्ने आम नागरिकलाई पनि उत्तिकै सकस छ । यो क्षेत्रमा उत्पादित स्याउ बाटो राम्रो नभएका कारण बाहिर समयमै ढुवानी गर्न समस्या भइरहेको स्थानीयको भनाइ छ । हिमा गाउँपालिका–५ का विकास रोकायाले सडक हिलाम्मे भएकाले यहाँ उत्पादन भएको स्याउका गाडी जिल्ला बाहिर लैजान किसानलाई हैरान भएको बताए । उनले भने, ‘गाडीभाडा बढेको छ, सडक राम्रो नभएका कारण भनेको समयमा सदरमुकाम जाने साधन पाउन कठिन छ । त्यसैले नाग्म–गमगढी राजमार्गलाई बजेट विनियोजन गरेर समयमै निर्माण गर्न आवश्यक छ ।’

  • No tags available
प्रकाशित मिति : २०८२ असोज ११ गते शनिबार