प्रधानमन्त्री कार्कीको सम्बोधनः ‘निर्वाचन प्रमुख लक्ष्य’



अन्तरिम सरकार गठन भएको दुई सातापछि बिहीबार देशबासीको नाममा सम्बोधन गरेकी प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारको प्रमुख लक्ष्य फागुन २१ मा चुनाव गराउने भएको स्पष्ट पारिन् । जेनजी आन्दोलनको क्रममा जेनजी विद्यार्थी तथा युवायुवतीहरूले अनाहकमा ज्यान गुमाउनुपरेका कारण सरकारले सम्बद्ध दोषीउपर सख्त कारबाही गर्ने प्रतिबद्धतासमेत उनले गरिन् ।

शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले पहिलोपटक राष्ट्रको नाममा सम्बोधन गरेकी छन् । भदौ २७ गते नेपालको पहिलो महिला प्रधानमन्त्री नियुक्त भएकी प्रधानमन्त्री कार्कीले त्यसको दुई हप्तापछि राष्ट्रको नाममा सम्बोधन गरेकी हुन् । बिहीबार साँझ ६ बजेर ९ मिनेटमा सम्बोधन सुरु गरेकी प्रधानमन्त्री कार्कीले ६ बजेर १९ मिनेटमा सम्बोधन सकाएकी थिइन् ।

जेनजी आन्दोलन पश्चातको जटिल परिस्थितिमा ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन गराउने जिम्मेवारीसहित आफू प्रधानमन्त्री भएकी बताइन् । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा जेनजी विद्यार्थी तथा युवायुवतीहरूले अनाहकमा ज्यान गुमाउनुपरेका कारण सरकारले सम्बद्ध दोषीउपर सख्त कारबाही गर्ने उनले प्रतिबद्धता जाहेर गरिन् ।

प्रधानमन्त्री कार्कीले फागुन २१ गते भित्रै स्वतन्त्र निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गर्न सरकारले आवश्यक पर्ने जनशक्ति, बजेट, निर्वाचन सामाग्री, सुरक्षा र कानुनी व्यवस्था लगायतका व्यवस्थाका विषयमा निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरी आम निर्वाचनको प्रारम्भिक कार्य सुरु गरिसकेको बताइन् । उनले १८ वर्ष पुगेका जेनजी युवापुस्तालाई मताधिकार प्रदान गर्ने र मतदाता नामावली अद्यावधिक गर्ने गरी विद्यमान निर्वाचन कानुनलाई अध्यादेशको माध्यमबाट संशोधन गरिसकेको पनि बताइन् ।

‘१८ वर्ष पुगेको जेनजी पुस्तालाई मताधिकार प्रदान गर्ने र मतदाता नामावली अध्यावधिक गर्नेगरी अध्यादेशबाट कानुन संशोधन गरिसकेको छ। रोजगारीको सिलसिलामा देशबाहिर रहेका नेपालीलाई विदेशबाट समेत आगामी निर्वाचनमा मतदान गर्नसक्ने सम्भावनाको बारेमा छलफल भइरहेको छ । विदेशमा रहेका नेपाली नागरिकले उठाएका जायज मागप्रति सरकार सकारात्मक रहेको छ,’ प्रधानमन्त्री कार्कीले सम्बोधनको क्रममा भनिन् ।

प्रतिनिधिसभाको आगामी निर्वाचनमा उत्साहका साथ भाग लिन र युवा पुस्ताको परिवर्तनको आकांक्षाको प्रतिनिधित्व गर्न सक्ने योग्य जनप्रतिनिधिको चयनका लागि आगामी निर्वाचनमा सहभागी हुन सबैलाई उनले आह्वान गरिन् । स्वतन्त्र भयरहित तथा निष्पक्ष निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न सबै राजनीतिक दल, नागरिक समाज, सञ्चार जगत र सरोकारवालाहरूलाई सक्रिय सहभागिताका लागि उनले अनुरोध गरेकी हुन् ।

नेपालको संविधान र शासकीय प्रणालीको संशोधन लगायत जेनजी पुस्ताले आन्दोलनको क्रममा जेनजी पुस्ताले उठाएका विषय वर्तमान अन्तरिम सरकारको कार्यक्षेत्र भन्दा बाहिरको विषय भएकोले युवा पुस्ता लगायतका परिवर्तन पक्षधर आम नेपाली जनतालाई आगामी आम निर्वाचनमा सहभागी भई संवैधानिक प्रक्रियाबाटै संविधान संशोधन गर्नका लागि प्रधानमन्त्री कार्कीले आग्रह गरिन् ।

हालै भएको युवा पुस्ताको आन्दोलनलाई उनले ‘अभूतपूर्व’ प्रदर्शनको संज्ञा दिइन् । जेनजी आन्दोलनको क्रममा ज्यान गुमाएकीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले घाइते व्यक्तिहरूको स्वास्थ्य लाभको कामनाका साथै सार्वजनिक संरचना, व्यवसायिक प्रतिष्ठान, निजी घर सम्पत्तिमा भएको अकल्पनीय र अपुरणीय क्षतिप्रति गहिरो दुःख व्यक्त गरिन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ असोज १० गते शुक्रबार