कर्णाली विकास बैंकः दसैँमा पाँच हजार पाउन बचतकर्तालाई सास्ती



८० वर्षीय वीरेन्द्र भण्डारीले दिक्दारी व्यक्त गर्दै बिहीबार अपरान्ह्र मिसन टुडेसँग भने, ‘यसरी भुईँमै बस्नुपर्ने हो भने अहिलेसम्म कतै माग्न बसेको भएपनि १० हजार जति त कमाइसकिन्थ्यो होला । आफैँले जम्मा गरेको पाँच हजार पाउन यस्तो अपमान सहनुपरेको छ। हामी बचतकर्तालाई यिनिहरूले माग्नेभन्दा पनि तल्लो स्तरको बनाए ।’

वीरेन्द्र जैसी । नेपालगन्ज ।

बिहीबार अपरान्हतिर नेपालगन्जस्थित कर्णाली विकास बैंकको केन्द्रिय कार्यालयको आगनमा मानिसहरू भुईँमै बसेर आफ्नो पालो कुरिरहेका थिए । उनीहरूमध्ये अधिकांश महिला र ज्येष्ठ नागरिकहरू थिए । बैंकले असार महिनायता बचत फिर्ता दिन बन्द गरेकोमा दसैँको मुखमा पाँच हजारसम्म फिर्ता गर्न सकिने भन्दै सूचना जारी गरेको थियो । उक्त सूचनापछि बैंक पुगेका बचतकर्ताहरू पालो कुर्दा कुर्दै थाकेपछि भुईँमै बस्न बाध्य थिए । बैंकका कर्मचारीहरूले च्यानल गेटबाट निश्चित सङ्ख्यामा मात्रै बचतकर्ताहरूलाई कार्यालयभित्र प्रवेश गर्न दिइरहेका थिए ।

बैंकका पुगेका बचतकर्ताहरूमध्ये एक थिए नेपालगन्ज निवासी ६७ वर्षीय कृष्णराज पौडेल । अवकाशप्राप्त सरकारी कर्मचारी रहेका पौडेललाई नशासम्बन्धी समस्या रहेछ । चिकित्सकले काठमाडौँ गएर चाँडै उपचार गराउन भनेका छन् । तर, उनले र श्रीमतीले जीवनभर जागिर गरेर कमाइ गरेको करिब १५ लाख रूपैयाँँ कर्णाली विकास बैंकमा जम्मा गरेका थिए । बैंक सञ्चालक र कर्मचारीहरूले नै घोटाला गरेर बैंक डुबाइदिएपछि अहिले उनी समस्यामा छन् ।

उपचार गराउनु त परै जाओस् चाडबाड मनाउन पनि समस्या भएको पौडेलले बताए । बिहीबार बैंकले प्रति बचतकर्तालाई अधिकतम पाँच हजार दिने भनेर सूचना जारी गरेपछि बिहान ९ बजे नै बैंकमा पुगेका पौडेलले अपरान्हसम्म बचत फिर्ता पाएका थिएनन् । पछिल्लोपटक असारमा उनले पाँच हजार रूपैयाँँ फिर्ता पाएका थिए । बैंक समस्याग्रस्त घोषण भई राष्ट्र बैंकका कर्मचारीहरूले सम्हालेयता उनले अहिलेसम्म करिब ४० हजारजति मात्रै फिर्ता पाएको बताए ।

‘यसअघि असारमा बिहानदेखि लाइनमा बस्दा राती ८ बजे पाँच हजार पाइएको थियो । पानीमा भिज्दै अँध्यारोमा घर जानु परेको थियो,’ उनले बैंकको आगनमा भुइँमै बसेर आफनो पालो कुरिरहेका बचतकर्तातिर देखाउँदै भने, ‘अहिले दसैँको मुखमा यो हेर्नुस् बचतकर्ताहरूलाई दिएको दुःख । यिनिहरूले दिनुसम्म दुःख दिए ।’ पौडेलसँगै रहेका ८० वर्षीय वीरेन्द्र भण्डारीले दिक्दारी व्यक्त गर्दै भने, ‘यसरी भुईँमै बस्नुपर्ने हो भने अहिलेसम्म कतै माग्न बसेको भएपनि १० हजार जति त कमाइसकिन्थ्यो होला । आफैँले जम्मा गरेको पाँच हजार पाउन यस्तो अपमान सहनुपरेको छ । हामी बचतकर्तालाई यिनिहरूले माग्नेभन्दा पनि तल्लो स्तरको बनाए ।’

राष्ट्र बैंकका कर्मचारीहरूको टोलीले बैंकको नेतृत्व सम्हालेपछि बैंकमा फिर्ता हुने कर्जा, धितो लिलामी र कर्जा असुलीलगायतबाट उपलब्ध तरताअनुसार बचत पनि फिर्ता गर्दै जाने भनिएको थियो । असारसम्म पटक–पटक सूचना निकालेर निश्चित रकम र निश्चित सङ्ख्यामा बचतकर्तामा बचत फिर्ता गरिएको थियो । त्यसयता बैंकले बुधबार असोज ९ गतेबाट भुक्तानी दिन सुरु गरेको छ । आफ्नो सबै बचत बैंकमा जम्मा गरेका बचतकर्ताहरू अहिले दसैँ मनाउन पनि समस्या हुने अवस्था आएको बताइरहेका छन् । बैंकले एक जना बचतकर्तालाई अहिले बढीमा पाँच हजार मात्रै फिर्ता दिन सकिने सूचना निकालेको छ ।

उक्त सूचना निकालेपछि बैंकमा पुगेका बचतकर्ताहरू बिहान ९ बजेदेखि लाइनमा लागेपनि अपरान्हसम्म पालो नआइरहेको बताइरहेका थिए। नेपालगन्जमा केन्द्रिय कार्यालय रहेको कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडलाई नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरी २०८१ पुस ११ गतेबाट उपनिर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा रहेको टोली खटाई बैंकको सबै व्यवस्थापन आफ्नो हातमा लिएको थियो । उक्त समितिले त्यसयताका नौ महिनामा कर्णाली विकास बैंकबाट बचतकर्ताहरूले करिब ६० करोड रूपैयाँँ बचत फिर्ता पाएका राष्ट्र बैंकबाट खटिएको टोलीका निमित्त संयोजक विष्णुकुमार विश्वकर्मा बताउँछन् ।

दुःख गरेर कमाएको रकम सुरक्षित रहने र चाहिएको बेला प्रयोग गर्ने विश्वासले कर्णाली विकास बैंकमा बचत गरेका ४० हजार बढी बचतकर्ताहरू अहिले आफ्नो बचत फिर्ता नपाइएर तनावमा छन् । बैंकमा बचत गरिएको तीन अर्ब बढी रकम हिनामिना गरेको आरोपमा बैंकका तत्कालीन अध्यक्षहरू राजेन्द्रवीर राय र पशुपतिदयाल मिश्रासहित एक सय नौ जनालाई प्रतिवादी बनाएर उच्च अदालत नेपालगन्जमा मुद्दा विचाराधीन छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ असोज १० गते शुक्रबार