‘गोल्डेन एबीसी’मा विद्यार्थीलाई यातना प्रकरणः स्कुललाई कारबाही नगर्ने मुडमा नेपालगन्ज उपमहानगर



आफ्नी तीन कक्षामा पढ्ने थाइराइडको समस्या रहेकी र शारीरिकरूपले पनि विकलाङ्ग छोरीलाई विद्यालयले घाममा उभ्याएर यातना दिएको विषयमा छानबिनका लागि माग गर्न बुधबार उपमहानगरपालिका जाँदा उपमहानगरपालिकाका कर्मचारीहरूले विषयलाई सामान्य भएको र धेरै नउछाल्न भनेको एकजना अभिभावक जुनेद खानले बताए ।

नेपालगन्ज ।

बाँकेको नेपालगन्जस्थित गोल्डेन एबीसी एकेडेमी बाँके हाइस्कुलले अभिभावकहरूले शुल्क नतिरेको भन्दै बालबालिकालाई घाममा उभ्याएर यातना दिएको विषयमा कारबाहीका लागि नेपालगन्ज उपमहानगरपालिकाको शिक्षा शाखाले बेवास्ता गरेको पीडित अभिभावकहरूले बताएका छन् ।

आफ्नी तीन कक्षामा पढ्ने थाइराइडको समस्या रहेकी र शारीरिकरूपले पनि विकलाङ्ग छोरीलाई विद्यालयले घाममा उभ्याएर यातना दिएको विषयमा छानबिनका लागि माग गर्न बुधबार उपमहानगरपालिका जाँदा उपमहानगरपालिकाका कर्मचारीहरूले विषयलाई सामान्य भएको र धेरै नउछाल्न भनेको एकजना अभिभावक जुनेद खानले बताए । ‘म आफ्नी छोरीलाई विद्यालयले दिएको यातनाबारे छानबिनका लागि माग गर्न उपमहानगरपालिका पुगेको थिएँ ।

तर त्यहाँको एकजना सरले यो विषय ठूलो होइन । तपाईँकै छोरी पढ्ने स्कुल हो भन्ने हिसाबले कुरा गर्नुभयो । मैले त्यहीँ बसेर निवेदन लेखेर दिने सोचेको थिएँ । तर उहाँको कुरा सुनिसकेपछि उहाँहरूले केही गर्न सक्नुहुन्न भन्ने लाग्यो । त्यसपछि निवेदन नदिएरै म फर्केँ,’ जुनेदले मिसन टुडेसँग भने । जुनेदले आफूले भेटेका कर्मचारी उपमहानगरपालिकाका शिक्षा अधिकृत लोकेन्द्र शाही भएको बताए ।

उनले आफूलाई शाहीले पीडितको पक्षबाट भन्दा पनि पीडकको पक्षबाट कुरा गरेको जस्तो लागेपछि उनीबाट कारबाही या छानबिन हुन्छ भन्ने विश्वास हटेको बताए । ‘अब म सिडिओ कार्यालय जान्छु । मानवअधिकार आयोगमा पनि जान्छु । पर्छ भने त्योभन्दा माथिल्लो निकायमा पनि जान्छु । तर मेरो छोरीमाथि त्यस्तो व्यवहार गर्नेहरूलाई कारबाही हुनुपर्छ,’ जुनेदले भने । यता उपमहानगरका शिक्षा अधिकृत शाही आफूले कसैको पक्ष नलिएर विषयलाई अतिरञ्जित नगरौँ भन्न मात्रै खाजेको बताउँछन् ।

उनले आफूले लिखित जानकारी दिनुस् भनेर अनुरोध गरेपनि उनीहरू फर्किएर गएको बताए । शाहीले उपमहानगरले विद्यालयलाई सचेत गराउनेबाहेक अरु काम गर्न नसक्ने बताउँदै भने, ‘उहाँहरू प्रमाणसहित आउनुभयो भने हामी विद्यालयलाई अबदेखि यसो नगर्नुस् भनेर सचेत भने गराउन सक्छौँ ।’ गोल्डेन एबीसी एकेडेमीले केही दिनअघि शुल्क नतिरेका अभिभावकका बालबालिकालाई बाहिर घाममा उभ्याएर यातना दिएको थियो ।

अभिभावकहरूले शुल्क तिर्ने केही समय माग्दा–माग्दै विद्यालयले आफूहरूसँगको विषयमा अबोध बालबालिकालाई मानसिक र शारीरिक यातना दिएको भन्दै सामाजिक सञ्जालमै पीडा पोखेका थिए । विद्यालयका संस्थापक प्रबन्धक विकासबहादुर सिंहले धेरै अभिभावकले शुल्क नबुझाउँदा र सम्पर्कमा नआउँदा विद्यार्थीहरूलाई घरमा गएर अभिभावकलाई शुल्क बुझाउनका लागि आग्रह गर्न भनेर केही बेर कक्षा बाहिर राखिएको मात्रै तर्क गरे ।

उनले घाममा उभ्याएर यातना दिइएको नभई केहीबेर प्रांगणको चौतारोमा राखिएको दाबी गरेका छन् । तर, अभिभावकहरू भने घाममै उभ्याएर यातना दिइएको आरोप लगाउँछन् । बालअधिकारको विषयमा पैरवी गर्दै आएका अधिवक्ता वसन्त गौतम पनि कुनैपनि तर्कले विद्यालयले बालबालिकालाई कुनैपनि किसिमको यातना दिइएको विषय जाहेज नठहरिने बताउँछन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ असोज ९ गते बिहीबार