प्याब्सन कोहलपुरद्वारा कोहलपुर नगरपालिकालाई सामग्री प्रदान



कोहलपुर ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) कोहलपुर नगर समितिद्वारा कोहलपुर नगरपालिकालाई जिन्सी सामग्री प्रदान गरिएको छ । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते भएको आगजनीबाट पूर्णरूपमा क्षतिग्रस्त भएको कोहलपुर नगरपालिकाबाट नागरिकलाई प्रदान गरिने सेवासमेत प्रभावित बनेको भन्दै सेवा प्रवाह सुचारु गर्नका लागि प्याब्सन कोहलपुरले बुधबार जिन्सी सामग्री प्रदान गरेको हो ।

प्याब्सन कोहलपुरका अध्यक्ष रमेश केसीले २४ गतेको जेनजी आन्दोलनका क्रममा आगलागी हुँदा नगरपालिकाको भौतिक संरचनासहित कार्यालयमा रहेका सामग्रीसमेत जलेर नष्ट हुँदा नागरिकले पाउनुपर्ने सेवा अवरुद्ध भएकाले पुनः सुचारु गर्नका लागि आवश्यक जिन्सी सामग्री प्रदान गरिएको बताए ।

प्याब्सन कोहलपुरअन्तर्गत रहेका विभिन्न २८ वटा विद्यालयहरूले स्वस्फूर्तरूपमा गरेको आर्थिक सहयोगबाट कोहलपुर नगरपालिकालाई ल्यापटप तीन थान, फोटोकपी मेसिन प्रिन्टर चार थान, डेस्कटप कम्प्युटर एक सेट, ७५ इन्ची मनिटर दुई थान गरी ६ लाख ६० हजार तीन सय रूपैयाँँ बराबरका जिन्सी सामग्री खरिद गरेर प्रदान गरिएको उनले बताए ।

कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीलाई अध्यक्ष केसीसहितको प्याब्सन कोहलपुरको टोली र विभिन्न विद्यालयका सञ्चालकहरू सम्मिलित टोलीले उक्त सामग्री प्रदान गरेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८२ असोज ९ गते बिहीबार