कोहलपुर (बाँके) ।
जिल्लाको नेपालगन्ज–३ एकलैनी क्षेत्रबाट चोरी गर्न लागेको आंशकामा स्थानीयले दुईजना पुरुषलाई नियन्त्रणमा लिएका छन् । आइतबार राति ३ बजेतिर फातिमा फाउन्डेसन नजिकैबाट युवाहरूको समूहले एकजनालाई नियन्त्रणमा लिएका थिए । स्थानीयका अनुसार उक्त क्षेत्रमा अपरिचित व्यक्तिहरू पाँचजनाको समूहमा आएका थिए । युवाहरूले लखेटेपछि अन्य व्यक्ति भने भाग्न सफल भए ।
पहिला ती व्यक्तिहरूले बिजुलीको पोलमा ढुंगा प्रहार गरेर बत्ती बन्द खोजेको वडा नम्बर ३ वडा अध्यक्ष मोहम्मद अय्युब सिद्धिकीले बताए ।
उनका अनुसार युवाहरूले आवाज सुनेपछि लगत्तै उक्त स्थानमा पुगेका थिए । ‘युवाहरू पुगेपछि उनीहरू भाग्न खोजे । लगत्तै एकजनालाई युवाहरूले पक्राउ गरे । कुटपिट गरे । बत्तीको पोलमा बाँधे,’ उनले भने ।
उनले एक व्यक्तिलाई बाँधिरहेकै अवस्थामा बिहान सात बजेतिर अर्को अपरिचित व्यक्तिसमेत समातिएको र उनले आफ्नो साथी भएको बताएपछि स्थानीय युवाहरूले ती व्यक्तिलाईसमेत नियन्त्रणमा लिएका थिए । अर्को व्यक्तिले बोकेको बोरा खोल्दा ठूलो परिणाममा गोलीका खोकासमेत भेटिएको थियो । पछि वडाको रोहबरमा वडा प्रहरी कार्यालयलाई बुझाइएको उनले बताए ।
आफ्नो वडासहित नेपालगन्जका विभिन्न क्षेत्रमा चोरी गर्ने धम्कीसहित पर्चा टाँस्ने र चेतावनी दिन थालेपछि वडा कार्यालयको रोहबरमा युवाहरू परिचालन गरिएको वडाअध्यक्ष सिद्धिकीले बताए । ‘प्रत्येक टोलमा कम्तीमा पाँच जनाको समूहमा युवाहरूले रातीको समयमा ड्युटी गरिरहेका थिए । सञ्चार सम्पर्कका लागि एउटा व्हाट्स एप गु्रपसमेत बनाइएको छ । सबैजना त्यसरी परिचालित हुन्छ ।
युवाहरूले पहिलो चरणको सफलता हात पारेका छन् । दुई जनालाई समातेर प्रहरीलाई बुझाइएको छ,’ वडा अध्यक्ष सिद्धिकी भन्छन् । यता, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी दीपक पातलीले दुई जनालाई पक्राउ गरेर स्थानीयले वडा कार्यालयमार्फत जिल्ला प्रहरी कार्यालयलाई बुझाएको बताए । उनका अनुसार पक्राउपर्नेमा बर्दियाको बारबर्दिया ११ का अन्दाजी ३० वर्षीय महिनुधिक शेष र भारत बाबागन्जका अन्दाजी ३५ वर्षीय राजु कुसबन्दीय रहेका छन् ।
राजु कुसबन्दीय यसअघि पनि चोरी मुद्दामा पक्राउ परेर छुटेका व्यक्ति रहेको उनको भनाइ छ । दुई जनाबाट २ हजार ९६ वटा गोलीका खोका स्थानीयले बरामद् गरेका थिए । उनले भने, ‘गोलीका धेरै खोका भेटिएका छन् । कवाडीमा बेच्नेजस्तो देखिन्छ ।’ यतिका धेरै गोलीका खोका उनीहरूले कहाँबाट ल्याए त्यसबारे थप अनुसन्धान भइरहेको बताए ।









प्रतिक्रिया दिनुहोस्