
नन्दराम जैशी । सुर्खेत ।
कर्णालीका सरोकारवाला निकायले ड्रागन फ्रुट खेती विस्तारमा जोड दिएका छन् । शनिबार वीरेन्द्रनगरमा सम्पन्न ड्रागन खेती स्थानीय स्रोत व्यक्ति तालिमको समापन तथा ग्राजुएसन कार्यक्रमका अवसरमा सरोकारवाला निकायले यस्तो बताएका हुन् । ड्रागन फल व्यवसायको दिगो विकास तथा विस्तारका लागि गत साउन २८ गतेदेखि सञ्चालन भएको २१ दिने तालिम शनिबार सम्पन्न भएको हो । सो अवसरमा तालिममा सहभागी सुर्खेतका १२ जना व्यक्ति ड्रागन खेती स्थानीय स्रोत व्यक्तिका रुपमा घोषित भएका छन् ।
कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले ड्रागन खेती स्थानीय स्रोत व्यक्ति घोषणा तथा प्रमाणपत्र प्रदान गर्दै उनीहरूलाई उद्देश्यमा कटिबद्ध रहेर काम गर्न सुझाव दिए । ‘पछिल्लो समय अवसर पाउँदा पाउँदै पनि कतिपय युवाहरू उद्यममार्फत स्वरोजगार बन्न नसकेको स्थिति छ । हामी तिहारका लागि अर्बौँको फूल आयात गरिरहेका छौँ,’ उनले भने, ‘अन्य क्षेत्रमा झन् हामी कसरी आत्मनिर्भर बन्नसक्छौँ ? अब प्रदेश सरकारले केही गरेन भनेर गाली होइन, मेहनत गर्नुप¥यो, सरकारले लगानी गरिरहेको छ र गर्ने पनि छ ।’
मन्त्रालयका सचिव सञ्जिवकुमार कर्णले कृषि क्षेत्रमा सरकारले गरेका राम्रा कामका विषयमा नागरिकले थाहा नपाउँदा पनि प्रदेश सरकारले केही गरेन भन्ने भ्रम सिर्जना भएको तर्क गरे । कृषि विकास निर्देशनालयका निर्देशक तिलकप्रसाद पाण्डेले कृषिसम्बन्धी कुनैपनि कार्यक्रम सञ्चालन गर्दादेखि तथ्यांक संकलन र सार्वजनिक गर्दासम्म सरकारी र गैरसरकारी निकायबीच समन्वय सहकार्य बलियो हुनुपर्ने बताए ।
वरिष्ठ कृषिप्रसार अधिकृत धनबहादुर कठायतले आगामी दिनमा जोसुकै कार्यालयले ६ कार्य दिनभन्दा माथिको तालिम सञ्चालन गर्दा लागत साझेदारीको मोडलमा जानुपर्ने बताए । उनले भने, ‘आगामी दिनमा ड्रागन खेतीमा किसानलाई जे–जे चाहिन्छ ? त्यो सुझाव सल्लाहसहितको पहिलो चरणको सबै काम स्रोत व्यक्तिले गर्नेछन् । सोहीअनुसार उनीहरूको प्रशिक्षण केन्द्रबाट सीप परीक्षण भई तयार भएका छन् ।’
इन इलम, हेल्भेटास नेपालको आर्थिक सहयोग, कृषि तथा पशुपन्छी व्यवसाय प्रवद्र्धन प्रशिक्षण केन्द्र, सुर्खेतको समन्वय तथा ड्रागन फ्रुट उत्पादक किसान संघ, सुर्खेतको आयोजनामा तालिम सञ्चालन भएको थियो । तालिममा सहभागी वीरेन्द्रनगर–१२ की सपना बुढाले अब ड्रागन फ्रुट खेती विस्तारमा योगदान दिने बताइन् । गुर्भाकोट १२ का ड्रागन कृषक दोमन गाहाले गाउँमा १८ घरधुरीले ड्रागन फ्रुट खेती गरिरहेको जानकारी दिँदै त्यहाँको उत्पादनको हिस्सा प्रदेशकै आधा रहेको बताए । गत वर्ष गाउँमा ८२ लाखसम्मको कारोबार भएको उनको भनाइ छ ।
इन इलम परियोजना संयोजक टेकबहादुर सिंहले आर्थिक उपार्जन तथा स्वरोजगारीका दृष्टिकोणले ड्रागन फ्रुट खेती विस्तार गर्नुपर्ने भन्दै उत्पादनका हिसाबले क्रमशः सुर्खेत, दैलेख, सल्यान, जाजरकोट र रूकुम पश्चिममा राम्रो सम्भावना रहेको जानकारी दिए । स्थानीय स्रोत व्यक्तिको मोड्यूलर तालिममा सहभागी भई ड्रागन खेतीको स्रोतव्यक्ति घोषणा हुन पाउँदा सहभागिहरूले खुसी व्यक्त गरेका थिए । तालिम पाँच वटा मोड्यूलमा सम्पन्न भएको ड्रागन फ्रुट उत्पादक किसान संघ सुर्खेतका अध्यक्ष महेन्द्रप्रसाद खनालले बताए ।
प्रमुख प्रशिक्षक टिकाराम थापाका अनुसार मोड्युल एकमा ड्रागन फ्रुट खेती, नर्सरी प्रविधि र कृषि उद्यमशीलताबारे ज्ञान हस्तान्तरण गरिएको थियो । त्यस्तै मोड्युल दुईअन्तर्गत माटो, हावापानी, रोपण प्रविधि, सिँचाइ र गोडमेल, मोड्युल तीनअन्तर्गत रोग कीरा तथा जोखिम व्यवस्थापन, मोड्युल चारअन्तर्गत बगैँचा व्यवस्थापन, फल उत्पादन, पोस्ट हार्भेष्ट प्रविधि र मोड्युल पाँचमा बजार व्यवस्थापन, दिगोपना र व्यवसाय योजनाबारे प्रशिक्षित गराइएको छ ।








प्रतिक्रिया दिनुहोस्