कोहलपुर नगर पुनर्निर्माणका नाममा अनधिकृत सहयोग अभियान



नगर प्रमुख पूर्णप्रसाद आचार्यले कोहलपुरले प्रदेश र संघ सरकारबाहेक कसैको आर्थिक सहयोग (नगद) स्वीकार नगर्ने स्पष्ट पारेका छन् । नगरपालिकालाई भौतिक सामाग्रीहरू ‐कम्प्युटर, ल्यापटप, डेस्कटप, फर्निचर, निर्माण सामाग्री तथा इलेक्ट्रोनिक वस्तु र स्टेसनरी) लगायतका सामाग्री स्वीकार गर्नुपूर्व नगरका विज्ञ कर्मचारीले प्रमाणित गरेको मापदण्डभित्र पर्ने गुणस्तरीय सामाग्री मात्र स्वीकार गरिने उनले बताए ।

शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके)।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा बाँकेको कोहलपुर नगरपालिकामा आगजनी गरियो । आगजनीका कारण नगर कार्यपालिकाको कार्यालय रहेको भवन पूर्णरूपमा क्षतिग्रस्त भएको छ । झण्डै दुईहप्ता पुग्न लाग्दासमेत कार्यालयको सेवा सुचारु हुन सकेको छैन । आगजनीपछि भदौ ३० गते बसेको नगर कार्यपालिका बैठकले इन्टरनेट सञ्चालनका पूर्वाधारहरू, कार्यालयका अत्यावश्यक भौतिक संरचना, कार्यालय सञ्चालनका आवश्यक सामग्रीहरू समेत नष्ट भई कार्यालयको सेवामा कठिनाइ हुन गएकोले यथाशीघ्र क्षति भएका संरचनाहरूको मर्मतसम्भार एवम् कार्यालय सामग्रीको व्यवस्थापन गरी सेवा सुचारु गर्ने निर्णय गरेको थियो ।

त्यसका लागि चालू खर्चतर्फ विनियोजित बजेटबाट अपुग हुने देखिएमा नगरसभाको विशेष अधिवेशन आह्वान गरी रकमान्तर एवम् स्रोतान्तर गर्ने निर्णय गरिएको छ । तर, केही दिनयता नगरपालिकामा कार्यरत एक कर्मचारीसहितको पाँच जनाको समूहले ‘कोहलपुर नगर पुनर्निर्माण सहयोग अपिल’ भन्दै जापानमा रहेका व्यक्तिको क्युआर कोडसहित अभियान सञ्चालन भएपछि चौतर्फी विवाद सुरु भएको छ । सरकारी कार्यालयको पुनर्निर्माणका लागि देशमै नरहेका व्यक्तिको नाममा सहयोगका नाममा अभियान सञ्चालन गरिएको भन्दै नागरिकस्तरबाट विरोध सुरु भएको हो ।

सहयोगका लागि अपील गरिएको पोस्टरमा हालैको जेनजी आन्दोलनका कारण कोहलपुर नगरपालिकाका कार्यालयहरू, सार्वजनिक संरचना र सेवामा ठूलो क्षति पुगेको भन्दै नगरलाई पुनःस्थापना र सवल बनाउन सबैको साथ र सहयोगको आवश्यक रहेको उल्लेख गरिएको छ ।
नगरपालिका जल्नुअघि र जलिसकेपछिका तीन तस्बिर राखेर अपिल गरिएको सूचनामा भनिएको छ, ‘तपाईँको सानो योगदानले ठूलो परिवर्तन ल्याउन सक्छ । कोहलपुरलाई सुरक्षित, सुन्दर र सम्मुनत बनाउन आजै सहयोग गर्नुहोस् ।’ पोस्टरमा दीपक वर नामका व्यक्तिको एनआइसी एसिया बैंकको खाता नम्बर र क्युआर कोड राखिएको छ ।

सम्पर्क व्यक्तिहरूमा दीपक वर (जापान), धनबहादुर खड्का (मालदिप्स), कृष्ण खड्का (युगान्डा), रमेश वर (नेपाल) र प्रेमप्रकाश बुढाथोकी (नेपाल) रहेका छन् । पाँचजना सम्पर्क व्यक्तिमध्ये प्रेमप्रकाश बुढाथोकी त कोहलपुर नगरपालिकाका कर्मचारी हुन् भने रमेश वर नगरपालिकास्तरीय युवा क्लब सञ्जालका अध्यक्ष हुन् ।

उनीहरूले अभियान सञ्चालन सुरु गर्नेबित्तिकै विवाद भएको हो । पाँच जना युवाले सुरु गरेको अभियान राम्रो काम भएपनि सरकारी संरचना बनाउन व्यक्तिगत खातामा पैसा जम्मा गर्ने कुराले अभियानको पारदर्शिताका विषयमा प्रश्न उठाउँदै अभियानमाथि नै प्रश्न उठाइएको हो ।धेरैले यो अभियानको वैधतामाथि नै प्रश्न गरेका छन् । अभियान आधिकारिक हो कि होइन, कि नगरपालिकाले नै स्वीकृति दिएको भन्ने प्रश्न नगरपालिकामाथि नै उठेको छ ।

‘नगरप्रमुखको अनुमतिमा अभियान सुरु गरिएको हो’

कोहलपुर नगर पुनर्निर्माण अभियानका विषयमा चौतर्फी विरोध भएपछि अभियानका सम्पर्क व्यक्तिहरूले नगरपालिकाको हितको लागि अभियान सञ्चालन गरिएको दाबी गरेका छन् । सिंगो देश नै संकटमा परेको बेला युवाहरूका तर्फबाट स्वयम्सेवीरूपमा सहयोग गरौँ भन्ने पवित्र उद्देश्यले अभियान सुरु गरिएको बताएका हुन् । अभियानमा संलग्न रमेश वरले नगरप्रमुखसँगको कुराकानीमै आफूहरूले सहयोग अभियान सञ्चालन गरेको बताए ।

उनका अनुसार आन्दोलनका कारण कोहलपुर नगरपालिकामा धेरै क्षति पुगेको छ । सेवासमेत सञ्चालन गर्न नसक्ने अवस्थामा रहेको बेलामा देश तथा विदेशमा रहेका युवाहरूको तर्फबाट स्वेच्छिकरूपमा सहयोग संकलन गरेर नगरपालिकालाई हस्तान्तरण गर्ने उद्देश्यले आफूहरूले अभियान सुरु गरेको नगरस्तरीय युवा क्लब सञ्जालका अध्यक्षसमेत रहेका वरले बताए । ‘अभियान सुरु गर्नुपूर्व नगरप्रमुख ज्यूसँग कुरा भएको हो । मैले नै उहाँसँग कुरा गरेको हो । उहाँले नगरप्रमुखको हैसियतमा अनौपचारिकरूपमा सहमति दिनु भएकै हो । यो अभियानमा नगरप्रमुखको अनुमति छ,’ मिसन टुडे दैनिकसँग कुराकानी गर्दै उनले भने ।

अभियान कुनै अफिसियल कोष वा सरकारी संरचना नभएर स्वतःस्फूर्तरूपमा विदेशमा रहेका युवाहरूले सुरु गरेको जनअभियान भएको उनले बताए । ‘यो अभियान पूर्णरूपमा पारदर्शी रहनेछ । अभियान सुरु भएको मितिदेखि अन्त्यसम्मको बैंक स्टेटमेन्टलगायत सबै विवरण संलग्न गरिनेछ । पालिकाले तोकेबमोजिमको जिन्सी सामग्री हस्तान्तरण गरिनेछ । प्रत्यक्षरूपमा कसैबाट रकम लिनेदिने हुँदैन । सबै सहयोग बैंकमार्फत मात्र हुनेछ,’ आफू मध्यस्थकर्ता भएको भन्दै उनले भने ।

आफूहरूले सुरु गरेको अभियानलाई लिएर विभिन्न अफवाहहरू फैलाउने खालका गतिविधिहरू भइरहेकाले यो अभियान निस्वार्थ भावनाले सुरु गरिएको उनले बताएका छन् । उनले आफू (रमेश वर, कोहलपुर) यसमा मध्यस्थकर्ताको रूपमा मात्र रहने र सम्पूर्ण सहयोग रकम पारदर्शी ढंगले प्रयोग भई नगर पुनर्निर्माणमा खर्च हुने बताए । यस्तै सहयोग अभियानमा रहेका नगरपालिकाका कर्मचारीसमेत रहेका बुढाथोकीले युवाहरूले विशुद्ध सहयोगको भावले अभियान सुरु गरेको र आफ्नोबाटसमेत सहयोग गर्न सकिन्छ कि भनेर अभियानलाई साथ दिएको बताए ।

उनले आन्दोलनका क्रममा नगरपालिकाले क्षति व्यहोरेको भन्दै युवाहरूका तर्फबाट केही सहयोग गर्न सकिन्छ कि भनेर सुरु भएकोले सबैलाई सहयोग गर्न अपिल गरे । सेटेम्बर १८ बाट सुरु भएको अभियान अक्टोवर १८ सम्म सञ्चालन हुनेछ । हिसाबकिताब र सामूहिक बैठक अक्टोबर १९, २० र २१ गते र रकम हस्तान्तरण अक्टोबर ३१ का दिन गरिने जनाइएको छ ।

नगरपालिकाको नीति ः ‘नगद नस्वीकार्ने, जिन्सी लिने’

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा कोहलपुर नगरपालिका तोडफोड तथा आगजनीबाट पूर्णरूपमा नष्ट भएकाले पुनर्निर्माण जुटिरहेको नगरप्रमुख पूर्णप्रसाद आचार्यले बताएका छन् । उनका अनुसार हाल पालिकामा सम्पूर्ण सेवा अवरुद्ध छन् । केही दिनमा नगरपालिकाभित्र पूर्ववत अवस्थामा सेवा सुचारु गर्नेगरी आफूहरू लागिपरेको नगरप्रमुख आचार्यले बताएका छन् ।

शनिबार सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै उनले भनेका छन्, ‘अग्रजहरू, समाजसेवी, व्यवसायी र विभिन्न व्यक्ति संघसंस्थाहरू जसले कोहलपुरलाई ध्वस्त भएको हैन, निर्माण र समृद्ध कोहलपुर हेर्न चाहानुहुन्छ । हामी पालिकालाई आर्थिक तथा भौतिक सहयोग गर्न चाहान्छौँ यसको प्रक्रिया वा पालिकाको आधिकारिक धारणा के छ भनेर सोधिरहनु भएको छ ।’

नगरपालिकाको दुईबुँदे नीति सार्वजनिक गर्दै उनले कोहलपुर नगरपालिकाले प्रदेश र संघ सरकारबाहेक कसैको आर्थिक सहयोग ‐नगद) स्वीकार नगर्ने स्पष्ट पारेका छन् । नगरपालिकालाई भौतिक सामाग्रीहरू ‐कम्प्युटर, ल्यापटप, डेस्कटप, फर्निचर, निर्माण सामाग्री तथा इलेक्ट्रोनिक वस्तु र स्टेसनरी) लगायतका सामाग्री स्वीकार गर्नुपूर्व नगरका विज्ञ कर्मचारीले प्रमाणित गरेको मापदण्डभित्र पर्ने गुणस्तरीय सामाग्री मात्र स्वीकार गरिने उनले बताए ।

साथै जिन्सी सामग्री सहयोग उपलब्ध गराउने सबैको नाम र प्राप्त सामाग्री विवरण पालिकाको फेसबुक पेजबाट सार्वजनिक गरिने उनको भनाइ छ । नगरपालिकामा आर्थिक सहयोग गर्ने बाहानामा कोही कसैले पनि रकम संकलन नगर्नुहुन नगरपालिकाले अनुरोध गरेको छ । साथै मापदण्ड पूरा भएका जिन्सी सामग्री भने स्वेच्छिकरूपमा सहयोग गर्न सक्ने नगरपालिकाले जनाएको छ ।

पुनर्निर्माणका लागि डेढ करोड बजेट रकमान्तर

जेनजी आन्दोलनका क्रममा तोडफोडपछि बन्द अवस्थामा रहेको कोहलपुर नगरपालिकाको सेवा अझै सञ्चालन हुन सकेको छैन । आन्दोलनका क्रममा अनुमानित १२ करोड बराबरको क्षति पुगेको छ । नगरपालिकाको मुख्य कार्यालयदेखि चार वटा वडा कार्यालयमा पूर्णरूपमा क्षति पुगेको छ । ती कार्यालय पुनर्निर्माणका लागि चालू आर्थिक वर्षको बजेटबाट रकमान्तर गरिएको छ । शनिबार बसेको कोहलपुर नगरपालिकाको नगरसभाको १८औँ विशेष अधिवेशनले तत्काल पुनर्निर्माण कार्य सुरु गर्नका लागि १ करोड ५० लाख रूपैयाँ रकमान्तर गर्ने निर्णय गरेको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले आन्दोलनका क्रममा आगजनी, तोडफोड र चोरी भएका सवारीसाधन, अन्य भौतिक संरचनाको व्यवस्थापन, कार्यालय र चार वटा वडा कार्यालय निर्माणका लागि विशेष अधिवेशनमार्फत रकमान्तर गरिएको बताए । नगरपालिकाले उक्त बजेट चालू आर्थिक वर्षको लागि विनियोजित तालिम, गोष्ठी तथा केही योजनामार्फत बजेट कटौती गरेको हो । यस्तै उनले आन्दोलनको क्रममा भएको क्षतिको विवरण संकलनकै क्रममा रहेको भन्दै अनुमानित १२ करोडसम्म नगरपालिकाले क्षति व्यहोरेको बताए ।

७ गतेदेखि नियमित सेवा सुचारु 

लामो समय सेवा बन्द हुँदा नगरवासीलाई असुविधा भएको भन्दै केही दिनमा सेवा सुचारु गर्ने तयारी भइरहेको नगरपालिकाले जनाएको छ ।प्रमुख प्रशासकीय अधिकृत गिरीले ७ गतेबाट नगरपालिकाका नियमित सेवा सुचारु हुने जानकारी दिए । आन्दोलनका क्रममा ध्वस्त भएको कार्यालयको विकल्पको रूपमा तत्कालका लागि नगर शिक्षा शाखा र पुरानो नगर अस्पतालको भवन प्रयोग गरिने उनले बताए ।

ती भवनमा नगरप्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृतदेखि शाखा प्रमुखहरूको कार्यकक्ष निर्माण गरेर सेवा सुचारु गर्नेसमेत उनको भनाइ छ। ‘कार्यालय व्यवस्थापनको काम गरिरहेका छौँ । धेरै शाखाका प्रमुख तथा कर्मचारीका लागि कार्यकक्ष व्यवस्थापन भइसकेको छ । अन्य कार्यकक्ष व्यवस्थापनका लागि कर्मचारीहरू खटिरहनु भएको छ । अब असोज ७ गतेबाट नगरपालिका र वडास्तरबाट नियमित सेवा सुरु हुन्छ,’ मिसन टुडेसँग कुराकानी गर्दै उनले भने ।

  • No tags available
प्रकाशित मिति : २०८२ असोज ५ गते आइतबार