काठमाडौँ ।
सभापति शेरबहादुर देउवाको स्वास्थ्य अवस्था क्रमिक रूपमा सुधार हुँदै गएको नेपाली काँग्रेसले जानकारी दिएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पार्टी बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा प्रचार विभाग प्रमुख मीन बहादुर विश्वकर्माले देउवा दम्पत्तीको स्वास्थ्यबारे जानकारी दिएका थिए । ‘सुरुमा हामी अत्तालिएका थियौँ । लगत्तै स्वास्थ्य उपचार राम्रो हुँदै गयो । उहाँहरू अहिले सामान्य अवस्थामा हुनुहुन्छ ।
स्वास्थ्यमा सुधार भइरहेको छ,’ विश्वकर्माले सञ्चारकर्मीहरूसँग भने । सभापति देउवाको उपचार कहाँ भइरहेको भन्नेबारे उनले खुलाएनन् ।
‘सभापतिज्यूले दिनुभएको जानकारी अनुसार, गर्दनभन्दा माथि गम्भीर चोट लागेको छ । त्यहाँ १२ वटा टाँका लगाइएको छ,’ विश्वकर्माले भने, ‘त्यो भन्दा तल सामान्य चोट छ । त्यो टाँका लागेको ठाउँ र चोट निको हुँदै गएको अवस्था छ ।’ उनका अनुसार देउवा अहिले सामान्य बोलचाल र हिँडडुल गर्नसक्ने अवस्थामा छन् ।
‘उहाँ सामान्य बोलचाल, हिँडडुल गर्नसक्ने अवस्थामा हुनुहुन्छ । पार्टी र अन्य साथीहरूसँग पनि बोलचाल गर्नसक्ने अवस्थामा हुनुहुन्छ । चाँडोभन्दा चाँडो स्वास्थ्यमा सुधार भइरहेको अवस्थामा छ,’ विश्वकर्माले भने । चिकित्सकले केही दिन अझै अस्पतालमा राख्नुपर्ने बताएको पनि उनले जानकारी दिए । ‘केही दिन अझै अस्पतालमा राख्ने । उठ्दा चक्कर लाग्ने, धेरैबेर बोल्दा असहज हुने भइरहेको छ,’ उनले भने ।
चिकित्सकले धारिलो हतियारबाट घाउ लागेको बताए पनि के हतियार भन्ने चाहिँ नखुलेको उनले बताए । गत २४ भदौमा जेनजीहरूले गरेको प्रदर्शनका क्रममा बुढानीलकण्ठस्थित निवासमै उनीहरूमाथि कुटपिट भएको थियो । कुटपिटका क्रममा गम्भीर घाइते भएका उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गर्ने प्रयास गरिएको थियो । तर, आक्रोशित युवाहरूले त्यतिबेला अवरोध गरेका थिए । पछि सेनाले स्थलमार्ग हुँदै बुढानीलकण्ठबाट उद्धार गरेको थियो ।









प्रतिक्रिया दिनुहोस्