हाम्रो देशको शिक्षाप्रणाली अवैज्ञानिक र अव्यावहारिक छ । विश्वविद्यालयबाट उत्पादन हुने शिक्षितहरूसँग पर्याप्त मौलिक व्यावहारिक र सिर्जनात्मक ज्ञानको अभाव देखिन्छ । घोँकेर रटेर परीक्षा दिने र धेरै नम्बर ल्याएर पास हुने र जागिर खाने । बस यत्तिनै देखिन्छ लक्ष्य र उद्देश्य । विद्यार्थीहरूमा मौलिक , सिर्जनात्मक ज्ञान र तर्कशील क्षमताको अभाव देखिन्छ । शिक्षा सैद्धान्तिकभन्दा बढी प्रयोगात्मक हुनुपर्छ ।
चिन्तामणि घिमिरे
वैज्ञानिक दृष्टिकोण कुनैपनि घटनाको पृष्ठभूमिमा उपस्थित कार्यकारणलाई बुझ्ने प्रवृत्ति हो । वैज्ञानिक दृष्टिकोणले हाम्रो मस्तिष्कमा तर्कशक्तिलाई विकसित गराउँदछ साथै विवेकपूर्ण निर्णय लिने कुरामा सहयोग गर्दछ । वैज्ञानिक दृष्टिकोणले मानिसलाई प्रश्न गर्न सिकाउँछ, जिज्ञासु बनाउँछ र यथार्थतासँग जोड्छ । वैज्ञानिक दृष्टिकोणका अनुसार त्यो कुरा ग्रहण गर्न योग्य छ, जो प्रयोग र परीक्षणद्वारा सिद्ध गर्न सकिन्छ । अर्थात् जो व्यवहारद्वारा पुष्टि भइसकेको छ । जसमा कार्यकारण सम्बन्ध स्थापित गर्न सकिन्छ ।
जनमानसमा वैज्ञानिक दृष्टिकोणको विकास गर्न वैज्ञानिक चेतनाले प्रशिक्षित र दिक्षित भएकाहरूको कर्तव्य हुन आउँछ । विज्ञानलाई आमजनताको बीचमा नपु¥याइकन समाजलाई शिक्षित बनाउन सकिँदैन । नागरिकहरूलाई शिक्षित बनाउनको लागि वैज्ञानिक शिक्षाको आवश्यकता पर्दछ । प्रत्येक सचेत र चेतनशील नागरिकको यो कर्तव्य हुन्छ कि वैज्ञानिक दृष्टिकोणको विकासको लागि प्रयास गर्नुपर्दछ । अहिलेको शिक्षा प्रणालीले चेतनशील नागरिकको उत्पादन गर्न सक्दैन । शिक्षाले मानिसलाई सचेत र तर्कशील बनाउनुपर्ने हो तर हामीकहाँ त्यस्तो देखिँदैन । विज्ञान र प्रविधिमा आधारित शिक्षाले तार्किक र चेतनशील नागरिक पैदा गर्दछ ।
विज्ञानलाई अप्ठ्यारो विषयमा दर्ज गरिएको छ । सामान्य मानिसले विज्ञान बुझ्न सक्तैनन् भनिन्छ र उनीहरूलाई विज्ञानबाट टाढा राख्ने प्रयास गरिँदै आएको देखिन्छ । तर विज्ञानको आविष्कार मानवजातिले उत्पादनमा भाग लिँदै जाँदा भएको देखिन्छ । श्रमिक वर्ग नै वैज्ञानिक आविष्कारहरूको असली हकदार हो । तर अहिले विज्ञानलाई पुँजीपती वर्गले आफ्नो स्वार्थपूर्तिको लागि प्रयोग गरिरहेको छ । हाम्रो देशको शैक्षिक संस्थाहरूमा पढाइने विज्ञानले तर्क र प्रश्न गर्न सिकाउँदैन । शासक वर्गको स्वार्थ अनुकूल हुनेगरी पाठ्यक्रम र पाठ्यसामग्री तयार गरिएको हुन्छ । विदेशी दातृ संस्थाहरूको रोहवरमा निर्माण गरिएको शिक्षाले कस्तो जनशक्ति निर्माण गर्ला ।
संसारभर वैज्ञानिक चेतनाको विकास भइरहेको छ । समाज विकासको नियमविपरीत अन्य देशमा जस्तै नेपालमा पनि अन्धविश्वासी, रुढीवादी र पाखन्डीहरूद्वारा समाजको विकासको मार्गमा सिर्जना गरिरहेको अवरोधहरूलाई हटाएर एक विवेकशील, न्यायपूर्ण र समतामूलक समाज बनाउनको लागि क्रान्तिकारी, आलोचनात्मक चेत र वैज्ञानिक दृष्टिकोण भएका सचेत तप्का लागिपरेको छ । तर यो सङ्ख्या अत्यन्तै न्यून छ । हाम्रो देशको संविधानमा मौलिक हकमा कार्यान्वयन गर्न नपर्ने आकर्षक र मनमोहक शब्दहरू उल्लेख्य गरिएको छ । तर ती व्यवहारमा लागु छैनन् र हुँदैनन् पनि । नेपालको संविधान २०७२ को धारा ४ मा नेपाललाई समाजवादउन्मुख राज्यको रूपमा स्वीकार गरिएको छ ।
समाजवादउन्मुख भन्नाले समाजवादतिर फर्केको वा समाजवादी दिशातिर लागेको भन्ने बुझ्नुपर्छ । समाजवादलाई टेवा पु¥याउने नीति तथा कार्यक्रम लागु गर्नुपर्छ । राज्यबाट बनाइने नीति तथा कार्यक्रमले हुनेखाने वर्गकै पक्षपोषण गर्दै आइरहेको छ । आधारभूत वर्गको पक्षमा राज्य कहिल्यै पनि देखिएन । संविधानमा समाजवाद भन्ने शब्द जनतालाई झुक्याउनको लागि लेखिएको छ । नेपालमा मात्र होइन भारतको संविधानमा पनि समाजवाद शब्दको उल्लेख गरिएको छ । समाजवाद संविधानमा लेख्दैमा खुरुखुरु हिँडेर आउने होइन । यो त कष्टसाध्य बाटो भएर आउने कुरा हो ।
सजिलै प्राप्त हुने भए श्रमिक वर्गले यस्तो अमानवीय सास्ती किन भोग्नु पथ्र्यो र ? संविधानको उद्देश्य भविष्यमा वैज्ञानिक सूचना एवं ज्ञानमा वृद्धि गराएर वैज्ञानिक दृष्टिकोणयुक्त चेतना सम्पन्न समाजको निर्माण गर्नु, समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्नु हो भनिएको छ । परन्तु वर्तमान सत्य योभन्दा धेरै टाढा छ । जब आफ्नो कार्यक्षेत्रमा विज्ञानको आराधना गर्ने, हवाईजहाज, अन्तरिक्ष यान एवं अन्य यातायातका साधनहरू यात्राको लागि प्रयोग गर्नुभन्दा पहिले शुभमुहुर्त देख्ने (साइत जुराउने), नरिवल फोड्ने र यात्रा प्रारम्भ गर्ने बेलामा भगवानले यात्रा सफल पारुन् जस्ता अवैज्ञानिक हरकत गर्ने वैज्ञानिकहरूको सामाजिक व्यवहार नै वैज्ञानिक दृष्टिकोणको विपरीत छ, अरु बाँकी बुर्जुवा बुद्धिजीवीहरू तथा आम शिक्षित– अशिक्षित मान्छेहरूसँग के अपेक्षा गर्न सकिन्छ ? विमान चालकले विमानलाई उडान गर्ने बेलामा भगवानले हाम्रो यात्रा सफल पारुन् भन्छन् ।
चिकित्सकले शरीरको कुनै भाग वा अङ्गको चिरफार गर्ने बेलामा भगवानले सफल पारुन् भन्छन् । त्यस्तै इन्जिनियरले पनि भौतिक संरचना निर्माण गर्ने बेलामा भगवानको पूजा गर्छन् र पशुपन्छीको बलिसमेत दिन्छन् । शिक्षकले बिहान घरमा भगवानको पूजा गर्छन् र दिउँसो स्कुल पढाउने गर्छन् । यी चारैथरीलाई आफ्नो योग्यता, ज्ञान, क्षमता र सीपमाथि विश्वास नै छैन । यिनले कस्तो नागरिक जन्माउलान् र कस्तो समाजको निर्माण गर्लान् । अहिलेसम्म समाज भगवान भरोसेमा चलिरहेको छ । समाजको ठूलो हिस्सासँग अध्यात्मवादी र अवैज्ञानिक दृष्टिकोण छ । पढेलेखेका र आफूलाई शिक्षित र विद्वान् ठान्नेहरूनै अन्धविश्वासको आहालमा डुबिरहेका छन् । राज्यसत्ता धर्मको संरक्षक बनेर ठिङ्ग उभिएको छ ।
अहिलेको विश्व धार्मिक उन्मादतिर ढल्केको छ । नेपालमा राजावादीहरूले हिन्दु धर्मलाई बोकेर हिँडिरहेका छन् । त्यस्तै भारतमा भारतीय जनता पार्टीले हिन्दु धर्मकै आडमा सन् २०१४ देखि यता लगातार तेस्रो कार्यकालसम्म शासन गरिरहेको छ । यानेकि दुई कार्यकाल पूरा ग¥यो र तेस्रो कार्यकालमा प्रवेश गरेको छ । सन् २०२४ को अन्त्यतिर भारतमा भएको लोकसभा निर्वाचनमा भारतीय जनता पार्टीले आफ्नो पहिलेदेखिको संसद्मा भएको बहुमत गुमाएर संसद्को सबैभन्दा ठूलो दलमा खुम्चिनुपरेको छ । साथै अन्य दलहरूसँग मिलेर गठबन्धन सरकारको नेतृत्व गरिरहेको छ । गत निर्वाचनमा भाजपाले हिन्दुवादलाई जोडतोडकासाथ उठाइरहेको थियोे ।
उता मध्यपूर्वका इस्लाम धर्मको बाहुल्य भएको देशहरूमा पनि धर्मकै नाममा राजनीति गर्ने परम्परा चलिआएको छ । युरोपियन र अमेरिकनहरू संसारभर धर्मको प्रचारप्रसारमा लागिरहेका छन् । गरिब देशका जनताहरूलाई सहयोगको धर्मरुपी विषको प्रसाद खुवाइरहेका छन् । धर्म श्रमिक वर्गका लागि हातमा लगाइएको हतकडी हो । त्यो हतकडीलाई चुँडालेर मात्र मानवजाति मुक्त हुन सक्छ । धर्मको भ्रमजालबाट मुक्त भएपछि मात्र मानवजाति सुखी र सम्पन्न हुन सक्छ । राज्य सञ्चालकहरू नै धर्मको पोखरीमा पौडी खेलिरहेका छन् ।
बिहानै रेडियो र टेलिभिजनमा धार्मिक कार्यक्रमहरू बजाइएका हुन्छन् । विज्ञानको प्रचार गर्ने एउटा पनि रेडियो र टेलिभिजन छैन् । पत्रपत्रिकाले विज्ञानसम्बन्धी विषयलाई प्राथमिकता नै दिँदैनन् । सञ्चारका श्रव्य दृश्य च्यानलहरूमा बिहान छ बजेको अखबार कार्यक्रमपछि राशीफल भट्टाएर जनताको तार्किक चेतनालाई भुत्ते बनाउने काममा मलजल गरिरहेका हुन्छन् ।
हाम्रो देशको शिक्षाप्रणाली अवैज्ञानिक र अव्यावहारिक छ । विश्वविद्यालयबाट उत्पादन हुने शिक्षितहरूसँग पर्याप्त मौलिक व्यावहारिक र सिर्जनात्मक ज्ञानको अभाव देखिन्छ । घोँकेर रटेर परीक्षा दिने र धेरै नम्बर ल्याएर पास हुने र जागिर खाने । बस यत्तिनै देखिन्छ लक्ष्य र उद्देश्य। विद्यार्थीहरूमा मौलिक , सिर्जनात्मक ज्ञान र तर्कशील क्षमताको अभाव देखिन्छ । शिक्षा सैद्धान्तिकभन्दा बढी प्रयोगात्मक हुनुपर्छ । पाठ्यक्रमद्वारा निर्धारित गरिएको पाठ्यपुस्तकीय ज्ञानबाहेक अन्य सामाजिक ज्ञानको बारेमा न्यूनतम ज्ञान पनि नभएको देखिन्छ । समाज विज्ञान र प्रकृति विज्ञानको बारेमा ज्ञान हासिल गर्ने कुरा दूर बन्दै गइरहेको छ ।
प्रत्येक वर्षको माघ फागुनतिर हाम्रो देशको शैक्षिक संस्थाहरूमा वर्षको एकपटक विद्याकी देवी भनिने सरस्वतीको पूजा आराधना गर्ने चलन छ। त्यस दिनलाई श्रीपञ्चमी वा सरस्वती पूजा भनिन्छ । कलिला मस्तिष्कहरूमा सरस्वतीको पूजा गरेपछि विद्या आउँछ भनेर जबर्जस्ती घुसारिन्छ। तर ती सरस्वतीको लिखित इतिहास छैन् र ती काल्पनिक पात्र हुन् । पत्थरको मूर्तिलाई पूजा गरेर त्यो पत्थरले सुन्ने कुरै हुँदैन । यो त जानाजानी राज्यले षड्यन्त्रपूर्वक विद्यार्थीहरूको दिमागलाई भुत्ते बनाउन खोजेको हो । विभिन्न धार्मिक संस्थाहरूले खोलेको शैक्षिक संस्थाहरूमा आ–आफ्नो धर्मको धार्मिक ज्ञानद्वारा कलिला मस्तिष्कहरूलाई प्रशिक्षित गर्ने गर्दछन् । विद्यालयहरू विज्ञानको अखडा बन्नुपर्नेमा त्यसो नभएर धार्मिक अखडा बनिरहेका छन् र अन्धविश्वास नामको प्रसाद वितरण गरिरहेका छन् ।
आजपनि हाम्रो समाज कैयौँ प्रकारका अन्धविश्वासहरू र ढोँगहरूको बन्धनमा नराम्रोसँग बाँधिएको छ । जातीय भेदभाव, धार्मिक भेदभाव, ढोँगी बाबाहरूको प्रभाव, डायन, चुडेल र बोक्सीको नाममा महिलाहरूको हत्या, हरेक कार्य गर्नुभन्दा पहिले मुहुर्त देख्नु, कर्मको बदला राशि एवं पूर्वनिर्धारित भाग्यमाथि अधिक भरोसा गर्नु, आधुनिक विज्ञानका नियमहरूलाई आधार बनाएर वैज्ञानिक चेतना फैलाउनुको बदला धार्मिक ग्रन्थहरूमा विज्ञान खोज्नु, आधुनिक चिकित्सा पद्धतिको बदला तान्त्रिक, झारफुकेहरू, धर्मगुरु र महात्माहरूसँग उपचारको आशा गर्नु, खडेरी परेको बेला वर्षा गराउनलाई यज्ञ गर्नु कहिँकतै जानुपरेमा साइत (दिन बार) हेराउनु, बलि दिएर मनोकामना पूरा गर्ने इच्छा राख्नु, सुर्यचन्द्र ग्रहणको राहुकेतुको कोप मान्नु, विवाहको लागि युवकयुवतीको सोचविचार, व्यवहार, मेडिकल फिटनेस जाँच्नुको बदला कुण्डली मिलान गर्नु आदि यसका केही उदाहरणहरू हुन ।
समाजको नसा–नसामा अन्धविश्वास र रुढीवाद भरिएको छ । बाँकी रहेलपहेलको कसर धार्मिक कट्टरपन्थ फैलाउनका लागि राजनीतिक दलहरूले काम गरिरहेका छन् । आफ्ना खराबीहरूलाई लुकाउन, जनतालाई विवेकशील हुनबाट रोक्नको लागि राजनीतिक नेताले अन्धविश्वासलाई प्रोत्साहन दिइरहेका छन् । कोरोना माहामारीमा ताउलो र थाल बजाएर भगाउने, महामारीलाई देवीदेवताको प्रकोप मान्ने, ढोँगी बाबाहरूको पछाडि लाग्ने, उनीहरूलाई ढोग्ने, उनीहरूको महिमामन्डन गर्ने, समाजलाई उन्नतिको बाटोमा लैजानुको बदला धार्मिक कर्मकाण्ड, मन्दिर, मस्जिद, चर्च र गुम्बामा अल्झाइराख्ने, कुनै सरकारी भवनको शिलान्यास गर्नपर्दा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सांसदहरूद्वारा भवनको जगमा पूजापाठ गर्नु र उस्तैपरे पशुपन्छीलाई बलि दिनु, राजनीतिक दलको उच्च नेतृत्वद्वारा धार्मिक संस्थाहरूमा धार्मिक क्रियाकलाप गर्नु, जसबाट बुझिन्छ कि राजनीतिक नेताहरूले अन्धविश्वासलाई मलजल गरेर हुर्काइरहेका छन् र फैलाइरहेका पनि ।
ईश्वर, परमेश्वर, अल्लाह र प्रभुको इच्छाबाट सृष्टि–प्रकृतिको सञ्चालन भएको मान्ने समाजमा प्रकृतिको नियमहरूमाथि पकड जमाएर नयाँ नयाँ खोज, अनुसन्धान र आविष्कार गर्ने वैज्ञानिकहरू पैदा हुने आशा कसरी गर्न सकिन्छ ? बच्चाहरूको परीक्षामा राम्रो परिणाम ल्याउनको लागि भगवान, अल्लाह र प्रभुको प्रार्थना गर्न सल्लाह दिइन्छ भने ती बच्चाहरूले कसरी मेहनत÷परिश्रमको महत्त्वलाई बुझ्न सक्छन् ? पूर्वनिर्धारित भाग्यमाथि भरोसा गर्ने समाजले कसरी आफ्नो भविष्य निर्माण स्वयं आफैँ गर्नुपर्दछ भन्ने विश्वास कसरी गर्न सक्तछ ? आफ्नो गरिबी र दूरावस्थालाई पूर्वजन्मको कर्मको फल मान्ने समाजले कसरी ती शोषकहरू र भ्रष्टाचारीहरूको विरुद्ध आवाज उठाउन सक्छ ? जो उनीहरूको दुर्दशाको लागि जिम्मेवार छन् ।
समाजमा व्याप्त जातिगत उचनीचको ईश्वरद्वारा पैदा गरिएको हो भनेर विभाजनलाई स्वीकार गर्ने समाजमा सामाजिक भेदभाव खतम गर्न कसरी सम्भव हुनसक्छ ? धर्म–परम्पराहरूको आड लिएर महिलाहरूमाथि कैयौँ बन्देज लगाउने समाजमा नारी स्वतन्त्रता, महिला सशक्तीकरण कसरी व्यवहारमा प्रयोग गरेर जान सकिन्छ ? आजको समयको माग छ कि हामी तर्कवादी, विवेकशील, वैज्ञानिक दृष्टिकोणयुक्त समाज निर्माण गर्ने काममा अगाडि बढीरहेका छौँ । कुनै पनि देश वा समाजको विकास विज्ञान तथा प्रविधिको विकास वा त्यसका÷मानवताको हितमा उपयोग गर्न, समाजलाई तर्कशील, अन्धविश्वासमुक्त, सडेगलेको परम्पराहरूबाट मुक्त बनाएर नै हुनसक्छ । अन्धविश्वास र रुढीवादी परम्पराहरूमा बाँधिएको÷जकडिएको समाज उन्नतिको सिँढीहरू चढ्न सक्दैन ।









प्रतिक्रिया दिनुहोस्