नेपालगन्ज ।
जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ का अर्का युवा १९ वर्षीय आयुष थापामगरको शनिबार अन्त्येष्टि गरिएको छ । उनलाई शनिबार बिहान अन्तिम श्रद्धाञ्जली दिएर नेपालगन्ज सुर्खेत रोडमा शवयात्रा निकालिएको थियो ।
त्यसपछि शनिबार दिउँसो बाँकेको सिधनियाघाटस्थित राप्ती नदीमा लगेर थापाको अन्त्येष्टि गरिएको हो ।
शुक्रबार अन्त्येष्टि गरिएका युवा सुलभराज श्रेष्ठको जस्तै थापाको अन्त्येष्टिमा पनि हजारौँ नेपालगन्जवासीहरू सहभागी भएका थिए ।नेपालगन्जबाट उच्च शिक्षा अध्ययनका लागि काठमाडौँ गएका नेपालगन्ज–१ निवासी श्रेष्ठ र थापामगरको जेनजी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर निधन भएको थियो । परिवारका एक्ला सन्तान एवं एकैटोलका सुलभ र आयुषको जेनजी आन्दोलनका क्रममा हत्या गरिएपछि उनीहरूको परिवार र आफन्तहरू मात्र नभएर सिंगो नेपालगन्ज नै शोकमा छ ।
अहिले सुलभ र आयुषको स्मृतिका रुपमा शालिक स्थापना गर्ने वा कुनै विशेष स्थलको नाम उनीहरूको नामबाट नामाकरण गर्ने भन्ने विषयमा पनि छलफल सुरु भएको पाइएको छ । कतिपयले नेपालगन्ज वडा नम्बर १ मा रहेको वाटरपार्कको नाम उनीहरूको नामबाट नामाकरण हुनुपर्ने सुझाव प्रस्तुत गरिरहेका छन् ।









प्रतिक्रिया दिनुहोस्