कर्णाली प्रदेशसभा जलेर ध्वस्त



वीरेन्द्रनगर ।

कर्णाली प्रदेशसभा जलेर ध्वस्त भएको छ । मंगलबार जेनजी आन्दोलनकारीहरूले लगाएको आगोले प्रदेशसभाका सबै भवन तथा संरचनाभित्रका सामाग्रीहरू जलेर नष्ट भएका छन् । प्रदेशसभा सचिवालयका कानुन अधिकृत मदन खड्काका अनुसार सभाको हल भएको भवन, सभामुख, उपसभामुखको कार्यकक्ष भएको भवन, सचिवालयको भवनदेखि संसदीय समितिका सबै कार्यालयहरूमा आगजनी भएको छ।

आगोले सबै कागजात, डकुमेन्ट, रेकर्डहरूदेखि टेक्निकल सामग्री कम्प्युटर, प्रसारण अन्य सामग्रीहरू जलेर नष्ट भएको उनले बताए । ‘अब केही पनि बाँकी छैन, जल्ने सामग्री सबै जलिसके । यति ठूलो सम्पत्तिको क्षति भयो,’ उनले भने, ‘सभाको मुख्य गेटदेखि भित्रको बाहिरी संरचनाहरू पनि पूरै तोडफोड गरिएको छ भने कुर्सी लगायत अन्य फर्निचर सामग्रीहरू तोडफोड भएका छन् ।’ सवारीसाधन भने बचेका छन्। उनका अनुसार केही साना सवारीबाहेक ठूला गाडीहरू आन्दोलनकारी आउनुअगावै प्रहरी कार्यालयमा लिएर राखिएकाले बचेका हुन् ।

सबै गरी एक अर्ब बराबरको क्षति भएको आंकलन गरिएको छ । कर्णाली प्रदेशमा नियन्त्रण बाहिर गएको जेनजी पुस्ताका युवाको आन्दोलनले उग्ररुप लिएपछि ठूलो धनजनको क्षति भएको छ । मंगलबारको आन्दोलनले उग्ररुप लिएपछि विभिन्न सरकारी तथा निजी भौतिक संरचनामा ठूलो क्षति पुगेको हो । आन्दोलनकारीहरूले कर्णाली प्रदेशसभा भवनदेखि जुम्ला र सुर्खेतस्थित विभिन्न राजनैतिक दलका पार्टी कार्यालयहरूसहित दर्जनौँ सरकारी तथा निजी भवन तोडफोड गरी आगजनी गरेका हुन् । आगजनी भएका सबै भवनहरू जलेर ध्वस्त भएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ २६ गते बिहीबार