वीरेन्द्रनगर ।
स्वास्थ्यकर्मीमाथि बलात्कार प्रयास भनेर अफवाह सूचना फैलाइएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । हुम्लामा एक स्वास्थ्यकर्मीमाथि बलात्कार प्रयासमा संलग्न तीन आरोपित पक्राउ भन्ने समाचार विभिन्न अनलाइन सञ्चार माध्यममा प्रकाशन भएपछि हुम्ला प्रहरीले त्यसको खण्डन गर्दै अफवाह फैलाइएको मिसन टुडेलाई जानकारी दिएको छ ।
कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले एक स्वास्थ्यकर्मी महिलामाथि अभद्र व्यवहार गरेको जाहेरी दर्ता भएको जानकारी दिँदै त्यसलाई बलात्कारको प्रयास भन्नु गलत हुने बताए । उनका अनुसार जिल्लाको ताजाकोट गाउँपालिकास्थित एक स्वास्थ्य चौकीमा कार्यरत ती महिला स्वास्थ्यकर्मीले स्वास्थ्य चौकीका इन्चार्ज लिलाराज शर्मा, एम्बुलेन्स चालक मंगल शाही र कार्यालय सहयोगी रामबहादुर बुढाले आफूमाथि अभद्र व्यवहार गरेको जाहेरी दर्ता गरेकी छन् ।
‘जाहेरी दर्तापछि तीनै जनालाई पक्राउ गरी थप अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अघि बढाइएको छ । पीडितले नै अभद्र व्यवहारमा जाहेरी दिएपछि अन्य कोही कसैले यौन दुव्र्यवहार भनेर भन्न मिल्दैन’ उनले भने, ‘पीडित र आरोपित सबै स्वास्थ्य चौकीको क्वाटरमा बसेका रहेछन् । आरोपितले तीजको दिन राती मदिरा सेवन गर्दै पीडितमाथि अपशब्द प्रयोग गरेपछि अभद्र व्यवहार गरेको महसुश गरी प्रहरीलाई खबर गरेकी हुन् ।’
पीडितले प्रहरीलाई खबर गर्ने बित्तिकै मंगलबार राती नै तत्काल उनीहरूलाई पक्राउ गरी बुधबार जिल्ला सदरमुकाम ल्याइएको उनले बताए । ताजाकोटमा स्वास्थ्यसम्बन्धी काम गर्दै आएकी ती महिलाको कोठामा गएर उनीहरूले अपशब्द प्रयोग गरेपछि ती महिलाले आफू कार्यरत संस्थाको काठमाडौँ कार्यालयमा जानकारी गराएकी थिइन् । कार्यालयले जिल्ला प्रहरी कार्यालय हुम्लालाई फोन गरेर घटनाका विषयमा जानकारी गराएपछि तीनै जना पक्राउ परेका थिए ।









प्रतिक्रिया दिनुहोस्