सुर्खेत ।
विगत ६ वर्षदेखि अलपत्र बनेको सुर्खेतको भेरीगंगा नगरपालिकास्थित रामघाट प्रहरी चौकी निर्माणको काम सम्पन्न भएको छ । प्रहरी चौकी निर्माणका लागि गाल्वा÷क्याराभान÷सुपरस्टार जेभी काठमाडौँ र जिल्ला प्रहरी कार्यालय सुर्खेतबीच २०७६ जेठ ११ गते सम्झौता भएको थियो ।
एक करोड ५७ लाख ५८ हजार लागतमा सम्झौता भएपनि भवन भने एक करोड ३२ लाख सात हजार लागतमा सम्पन्न भएको हो । ३०२ वर्ग मिटरमा बनेको तीन तले भवनमा ब्यारेक, अफिस, गार्ड रुम, हिरासत कक्ष, मनोरञ्जन कक्ष, शौचालय, मेस लगायतका संरचना छन् ।
नवनिर्मित प्रहरी चौकी उद्घाटन गर्दै कर्णाली सरकारका मुख्यमन्त्री यामलाल कँडेलले अघिल्लो पुस्ता जस्तो अहिलेको पुस्तामा धैर्यता नभएकाले समाज र विकासको गति बुझेर अघि बढ्नुपर्ने बताए । आफ्ना लागि ५० वर्षपछि नयाँ प्रहरी चौकी पाएको उल्लेख गर्दै अहिलेको पुस्ताले यतिका वर्ष पर्खन नसक्ने बताए । जिम्मेवार ठाउँमा रहेकाहरूले इमान्दारपूर्वक काम गरेर विश्वास दिलाउन उनको अनुरोध छ । यसो गर्नाले जनप्रतिनिधिलाई नै सहज हुने उनको भनाइ छ ।
‘भौतिक पूर्वाधार, उपकरणको बन्दोबस्त मात्र नभई प्रहरीको व्यवहार पनि जनमैत्री हुनुपर्छ । मूलधारका ठूला तीन दलले एक अर्कालाई दोष देखाएर पन्छिन मिल्दैन’ उनले भने, ‘निरासा बाँडेर जनताबाट विश्वास जित्न खोज्नुपनि गलत हो । दलीय मतभिन्नतालाई थाती राखेर जनतमाझ आशा र विश्वास दिलाउन सके राजनीति र विकासले सही मार्ग पहिल्याउँछ ।’ एक अर्कालाई कमजोर देखाउने र केही भएको छैन् भनेर निरासा बाँड्ने काम गर्नु गलत हुने उनको भनाइ छ ।
भएका राम्रा सकारात्मक कामहरूमा सत्तापक्ष प्रतिपक्षमा विभाजित नभई प्रष्ट भन्न सक्नुपर्ने अवस्था आएको उनले बताए । नत्र जनतालाई व्यवस्थाप्रति भरोसा जगाउन सबै दललाई सकस पर्ने उनले उल्लेख गरे । कर्णाली प्रदेश सभा सदस्य एवं पूर्व कानूनमन्त्री कृष्णबहादुर जिसीले प्रदेश सरकारले प्रहरीलाई सबल, सक्षम र सुविधासम्पन्न बनाउने ध्येयका साथ विभिन्न स्थानमा भवन निर्माणको योजना सञ्चालन गरिएको बताए।
कर्णाली प्रदेश सरकारका पूर्वमन्त्री खड्कबहादुर खत्रीले तमाम चुनौतीका बाबजुद भवन निर्माण कार्य पूरा भएकोमा खुसी व्यक्त गरे । भेरीगंगा नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकालले सुविधासम्पन्न भवनबाट शान्ति सुरक्षा र अपराध नियन्त्रण जस्ता कार्यमा प्रहरी सफल हुनुपर्ने बताएका थिए ।









प्रतिक्रिया दिनुहोस्