वर्तमान राजनीतिक संकट र निकास विषयक अन्तरक्रिया



श्यामलाल पोखरेल । बुटवल ।

बुटवलमा वर्तमान राजनीतिक संकट र निकास विषयक अन्तरक्रिया गरिएको छ । विप्लव नेतृत्व नेकपानिकट सहिद बेपत्ता स्मृति प्रतिष्ठान नेपालले बिहीबार अन्तरक्रिया आयोजना गरेको हो । उक्त अन्तरक्रिया कार्यक्रममा नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव, नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल र नेकपा माओवादी केन्द्रका उपमहासचिव जर्नादन शर्माले कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्नुपर्ने विषयमा समान धारणा व्यक्त गरेका छन् ।

छिन्नभिन्नको अवस्थामा रहेको कम्युनिष्ट आन्दोलनलाई एकीकृत गरेर अग्रगामी तथा नयाँ ढंगले कम्युनिष्ट आन्दोलनलाई अगाडी बढाउनुपर्ने उनीहरूको भनाइ छ । नेकपाका महासचिव विप्लवले गणतन्त्रले आफ्नो वर्ग नचिन्दा देशमा संकट उत्पन्न भएको बताउँदै उनले संकटको निकास समाजवाद भएको बताए । केही एनजीओ र आइएनजीओ भित्राउँदैमा र केही ऋण ल्याएर देश बनाउँछौ भन्नु पुरानाहरूको सडेगलेको सोचविचार भएको उल्लेख गर्दै नेपाल बनाउन नेपाली आफैँ लागेमा मात्र देश बन्ने उनले बताए ।

वामपन्थहरू दक्षिणपन्थमा र कम्युनिष्टहरू दलाल पुँजीवादमा बदलिँदा कम्युनिष्ट आन्दोलन बदनाम हुँदै गएको बताउँदै उनले भने, ‘हामीजस्ता खरिया फाँडेर आएका कम्युनिष्टहरूले कुनैपनि हालतमा कम्युनिष्ट आन्दोनलाई बदनाम हुन दिँदैनौ । जो नक्कली कम्युनिष्ट थिए उनीहरूबाटै कम्युनिष्ट आन्दोलन बदनाम भएको हो ।’ उनले कम्युनिष्ट आन्दोलन दिग्भ्रमित भएकाले कम्युनिष्ट आन्दोलनलाई दिग्दर्शन बनाउने गरी नयाँ बहसको थालनी भएको र बहसलाई निरन्तरता दिने बताए ।

पुरानोप्रति विश्वास टुटिसकेको र नयाँ पुस्ताको सहयोगबाट आफूहरू यहाँसम्म आएको बताउँदे उनले भने, ‘हामी अझै अगाडी बढ्छौँ । हाम्रो उद्देश्य साम्यवाद हो ।’ कम्युनिष्ट पार्टीमा भ्रम र संकट रहेको बताउँदै उनले नेपालको अर्थतन्त्र मुठीभर १०÷२० परिवारको हातमा सीमित रहेको, नेपालको कानुनी ढाँचा पुरानै रहेका, न्यायालय पैसाद्वारा निर्देशित भएको र यसको अन्त्यका लागि आफू नमरेको बताए ।

अहिलेको प्रमुख चुनौती दलाल पुँजीवाद भएको, भ्रष्टाचारले सीमा नाघेको बताउँदै उनले नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुँदा एक जना डिएसपीले भ्रष्टाचार संस्थागत छ भन्दा डिएसपीको सरुवा भएको घटना उल्लेख गर्दै सरकार सञ्चालकहरू भ्रष्टाचारमा डुबेको बताए । २०४७ सालको संविधान ब्युँताएर अहिलेको समस्या समाधान हुने हल्ला हल्ला मात्रै भएको भन्दै उनले पछाडी कोही फर्कने पक्षमा नभएको र राजा आउने सम्भव पनि नभएको बताए ।

पुरानाहरूको राज पनि अब नचल्ने भन्दै उनले ओली र प्रचण्डको आलोचना गर्दै भने, ‘अब ओली प्रचण्डले विद्यार्थी संगठन चलाए जस्तो गरी हामीलाई चलाउन खोज्नु लागि दुर्भाग्य हो ।’ विप्लवले कुलिङ पिरियड प्रकरण सन्दर्भ उल्लेख गर्दै राजनीतिक नेतृत्व कमजोर हुँदा कर्मचारीतन्त्रको बदमासीले सीमा नाघेको र देश भ्रष्टहरूको हातमा गएको बताए । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेपालका कम्युनिष्ट पार्टीहरूलाई दलाल पुँजीवादले कब्जामा लिएको बताए ।

उनले नेपालको कम्युनिष्ट आन्दोलनलाई नयाँ शिराबाट एकीकृत गर्नुपर्ने बताउँदै मुख्य कुरा कम्युनिष्ट आन्दोलन एकीकृत गर्ने भएको र नेतृत्व जसले गरेपनि हुने बताए । उनले देशलाई अग्रगामी समाजवादी मोडेलबाट अगाडी बढाउन सकेमा मात्रै देशलाई निकास दिन सकिने बताए । नेपालमा घुस नखाने नेताको कम्युनिष्ट पार्टी आवश्यक रहेको बताउँदै ठुला नेताहरूले घुस खाँदा कार्यकर्ताहरूले पनि त्यही सिकेकाले कम्युनिष्टहरू बदनाम भएको उनले बताए ।

नेपालमा व्यवस्था परिवर्तन गरेर जनताको बलमा नयाँ संविधान लेखिएपनि त्यही संविधान लेख्ने दल र दलका नेताहरूको काम गर्ने ढाँचा, संरचना र व्यवहारमा परिवर्तन नभएकाले समस्या उत्पन्न हुँदा जनातमा निराशा छाएको उल्लेख गरे । उनले राजनीतिक रूपमा नेपाली जनतामाथि भयंकर अत्याचार भएकाले जनताले विकल्प खोजेको बताउँदै पुराना पनि उस्तै र नयाँ भन्ने शक्ति झनै बदमासखालको भएको हुँदा अब आफूहरूबाटै नयाँ शक्तिको उदय हुनुपर्नेमा जोड दिए ।

माओवादीको जनयुद्ध र एमालेको बहुदलीय जनवादको औचित्य सकिएको बताउँदै उनले एमाले र माओवादीको स्कुलिङमा परिवर्तन हुन नसकेको दाबी गरे । उनले देउवा, ओली, प्रचण्ड, माधव नेपाल र रविहरू पनि असन्तुष्टि रहेकाले नयाँ निकास अबको आवश्यकता रहेको शताए । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उपमहासचिव जर्नादन शर्मा प्रभाकरले संघीय लोकतान्त्रिक गणतन्त्र जनताको लोकतन्त्र बन्न नसक्दा मुलुकमा समस्या आएको बताए ।

उनले हिजो राजतन्त्र फाल्न, लोकतान्त्रिक गणतन्त्र ल्याउन र संविधान लेख्न काम लागेका जनताका लागि अहिलेको लोकतान्त्रिक गणतन्त्र काम नलागेकाले राजनीतिक र नेताप्रति जनतामा वितृष्णा पैदा हुँदा कम्युनिष्ट आन्दोलन कमजोर भएको बताए । भ्रमित भएको कम्युनिष्ट आन्दोलनलाई एकीकृत गरेर मुलुकलाई निकास दिन समाजवादी बाटो अपनाउनुपर्नेमा जोड दिँदै उनले भने, ‘लोकतान्त्रिक गणतन्त्रमा जनताले शिक्षा, स्वास्थ्य, कृषि, उत्पादन र उद्योगमा केही पनि सेवा नपाएका किसानका उत्पादनले बजार नपाउँदा जनतामा निराशा छाएको छ।’

कम्युनिष्ट पार्टीहरूलाई पुर्नसंरचना गर्नुपर्ने बताउँदै उनले भने, ‘माओवादी केन्द्र र एमालेको एकतापछि नेकपा बन्दा जनतामा उत्साह छाएको र अहिले उक्त पार्टी फुटेपछि कम्युनिष्टप्रति आस्थावान जनातमा निराशा छाएको छ ।’ सत्ता स्वार्थका कारण त्यति बेलाको नेकपा विभाजन भएको उनको भनाइ छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ १३ गते शुक्रबार