जैश–ए–मोहम्मदका तीन सदस्य नेपाल हुँदै भारत पुगेर फर्किए



काठमाडौँ ।

बिहीबार एकाएक भारतीय सञ्चार माध्यमहरूमा एक तस्बिर सार्वजनिक भयो । भारतीय सञ्चारमाध्यमहरूका अनुसार तीन जना पाकिस्तानी नागरिक, जो आतंकवादी संगठन जैश–ए–मोहम्मदका सदस्य नेपाल हुँदै बिहारमा पुगेर फर्किए । उनीहरूको तस्बिरसहित आएको खबरले भारत मात्र होइन, नेपालमा पनि खलबली मच्चियो ।

भारतीय मिडियाले नेपाललाई आरोप लगाउनका लागि झुट फैलाएका हुन् कि भन्ने पनि लागेर नेपाली मिडियाहरूले तथ्य जाँच गर्दा भारतीय मिडियाले उल्लेख गरेका नामहरू भएका व्यक्तिहरू नेपाल आएको र फर्किएको पुष्टि भयो । तर उनीहरू किन नेपाल आएका थिए भन्ने विवरण भने नेपाल सरकारसँग छैन । छ त केवल उनीहरू नेपाल आएको र केही दिनपछि फर्किएर मलेसिया गएको ।

सँगै आएका तीन जना फर्किँदा छुट्टाछुट्टै

हसनैन अली, आदिल हुसैन र मोहम्मद उस्मान दुबईबाट नेपाल आएको नेपाल अध्यागमन विभागले जनाएको छ । उनीहरू ८ अगष्टमा नेपाल आएको अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले पुष्टि गरेका छन् । उनीहरूमध्ये हसनैन अली बिहीबार मलेसियन एअरलाइन्सबाट मलेसिया गएका छन् । यस्तै आदिल हुसैन भदौ ८ अर्थात् अगष्ट २४ मा र मोहम्मद उस्मान साउन ३० गते अर्थात् अगष्ट १५ मै मलेसिया फर्किए ।

अध्यागमनको कालो सूचीमा नपरेका कारण उनीहरूविरुद्ध नेपालले कुनै सोधीखोजी नै गरेन । उनीहरू के उद्देश्यले नेपाल आएका हुन्, कहाँ–कहाँ गए र के–के गरे भन्ने जानकारी नेपाल प्रहरीसँग छैन । आतंकवादी संगठनका सदस्य भए पनि नेपालको अध्यागमनको कालो सूचीमा नपरेका कारण कुनै रोकटोक नगरिएको नेपाली अध्यागमनको भनाइ छ । तर एकैसाथ आएका उनीहरू भिन्न–भिन्न मितिमा फर्किनुको कारण भने खुलेको छैन ।

भारतमा हाई अलर्ट

यता भारतमा भने उनीहरू नेपाल हुँदै भारत छिरेको पुष्ट भएसँगै उच्च सतर्कता अपनाइएको छ । बिहार प्रहरीले हाई अलर्ट जारी गरेको छ । बिहार प्रहरीले उनीहरूको तस्बिरसहित ठेगानासमेत सार्वजनिक गरेको छ । हसनैन पाकिस्तानको रावलपिण्डीका हुन् भने आदिल उमरकोटका हुन् । यस्तै मोहम्मद उस्मान बहावलपुरका हुन् ।

बिहार प्रहरीका अनुसार यी तीनै जना जैश–ए–मोहम्मदका सदस्य हुन् । बहावलपुर जैशको गढका रूपमा परिचित छ । बिहार प्रहरीका अनुसार उनीहरू काठमाडौँबाट भारत प्रवेश गरेको र त्यहाँका मस्जिदहरूमा पुगेर शंकास्पद गतिविधिहरू गरेका छन् । सोही कारण पनि भारतीय प्रहरीले उनीहरू कुन–कुन क्षेत्रमा पुगेका थिए भन्ने विषयमा छानबिन सुरु गरेको छ ।

पहलगाम आक्रमणपछि भारत–पाकिस्तानका नागरिकहरूको आवागमनमा कडाइ गरिएको छ । यस्तोमा आतंकवादी संगठनमा जोडिएको सानो जानकारी हुँदा पनि उनीहरू पाकिस्तानबाट भारत प्रवेश गर्ने सम्भावना कमै हुन्छ । तर नेपाल–भारत सीमा खुला छ । करिब १७ सय किलोमिटर लामो खुला सीमानाका कारण नेपाल र भारतका नागरिकहरू बिनाचेकजाँच वारपार गर्दै आएका छन् । सोही कारण पनि उनीहरू नेपाल हुँदै भारत प्रवेश गरेको भारतीय सुरक्षा अधिकारीहरूको आकलन छ ।

चुनाव लक्षित गतिविधि हुनसक्ने आशंका

जब–जब भारतका मुस्लिम बहुल क्षेत्रमा चुनाव हुन्छ । तब त्यहाँ कुनै न कुनै अप्रिय घटना हुने गरेको छ । अहिले पनि बिहारको विधान सभा चुनाव आउँदैछ । आगामी अक्टुबर–नोभेम्बरमा बिहारका २४३ क्षेत्रमा विधान सभा चुनाव हुँदैछ । भारतीय गुप्तचर निकाय ‘रअ’ले जैश–ए–मोहम्मदका सदस्यहरू बिहार विधान सभा चुनावलाई नै लक्षित गरी आएको हुनसक्ने आशंका गरेको छ ।

उनीहरूसँग अन्य शंकास्पद व्यक्तिहरूको पनि आगमन भएको हुनसक्ने भन्दै बिहार प्रहरीले सीमावर्ती क्षेत्रका नदी, जंगल र ग्रामीण इलाकामा निगरानी बढाएको छ । बिहारको करिब ७२९ किलोमिटर लामो सीमा नेपालसँग जोडिन्छ । भारतीय गुप्तचर निकायका अनुसार नेपालमा यस्ता आतंकवादी संगठनका सदस्यहरू अहिले सक्रिय छन् ।

पछिल्लो समय तराई क्षेत्रका मस्जिदहरूमा पर्यटक भिसामा आएका पाकिस्तानी र बंगलादेशी नागरिकहरूले धार्मिक गतिविधि र त्यहाँका मानिसहरूलाई संगठित गर्ने काम गरेको भन्दै निगरानी बढाइएको स्वयम् नेपाल प्रहरीले नै बताइरहेको छ । सोही कारण पनि भारती गुप्तचर निकायले नेपालमा यस्ता आतंकवादी संगठनका सदस्यहरू सक्रिय रहेको दाबी गरेको हो ।

सन् २०२५ को हालैका २० दिनमा १८ जना शंकास्पद व्यक्तिहरू नेपाल हुँदै भारत प्रवेश गरेको भारतीय पक्षको दाबी छ । उसै पनि बिहार चुनावअघि राहुल गान्धीको भोट चोरीको मुद्दाले भारतमा असहज स्थिति उत्पन्न गराएको छ । राहुल गान्धी र भारतीय कंग्रेस जैश–ए–मोहम्मद जस्ता आतंकवादी संगठनको खुलेर विरोध गर्दैनन् । बरु भित्रभित्रै मौन समर्थन जनाउँछन् ।

सोही कारण पनि यी आतंकवादी संगठनका सदस्य भनेर दाबी गरिएका व्यक्तिहरू गान्धीको चुनावी यात्रासँग पनि जोडिएको भारतीय पक्षको आशंका छ । बहरहाल प्रहरी मुख्यालेले सबै जिल्लामा सतर्क गरेको छ । खासगरी सीमावर्ती जिल्लाहरू सीतामडी, मधुबनी, पश्चिम चम्पारण, अरहिरिया, किशनगन्ज र सुपौलमा विशेष निगरानी राखिएको इन्डिया टुडेले उल्लेख गरेको छ ।

के हो जैश–ए–मोहम्मद ?

पाकिस्तानी आतंकवादी संगठन जैश–ए–मोहम्मदको स्थापना मसूद अजहरले गरेका थिए । पाकिस्तानी भूमिमा बसेर उनले भारतमा आतंकवादी आक्रमण गर्ने गरेका छन् । मसूद अजहर भनेर चिनिने मौलाना मसूद अजहर अल्बी एक कुख्यात इस्लामिक आतंकवादी हुन् । उनलाई भारत, अमेरिका, बेलायत र संयुक्त राष्ट्रसंघले विश्व आतंकवादीको सूचीमा राखेको छ ।

मसूद अजहरको पूरा नाम मौलाना मसूद अजहर अल्बी हो । उनको जन्म सन् १९६८ को जुलाई १० मा पाकिस्तानको पन्जाब प्रान्तमा पर्ने बहाबलपुरमा भएको थियो । पाकिस्तानको कराचीमा रहेको जामिया उल–उलूम इस्लामियाबाट धार्मिक शिक्षा प्राप्त गरेका उनी भारतमा भएका विभिन्न आतंकवादी हमलाका मास्टर माइन्ड मानिन्छन् । मसूद अजहर २० वर्षको उमेरदेखि नै आतंकवादी संगठनमा आबद्ध भएको बताइन्छ ।

उनी सुरुमा आतंकवादी संगठन हरकत–उल–अन्सारमा आबद्ध भएका थिए । यही संगठनबाट उनले भारतमा आतंकवादी क्रियाकलापमा संलग्न हुने गरेका थिए । उनी धार्मिक गुरुको रूपमा आतंकवादी क्रियाकलापमा संलग्न हुने गरेको बताइन्छ ।यो संगठनमा बसेर भारतमा आतंकवादी क्रियाकलाप गरिरहेका अजहर सन् १९९४ मा धार्मिक कार्यक्रमको बहाना बनाएर आतंकवादसँग सम्बन्धित काममा संलग्न भएको आरोपमा पक्राउ परेका थिए । तर कुन आतंकवादी काममा उनले के गरे भन्ने ठोस प्रमाण भारतसँग थिएन । उनी भारतीय जेलमा नै रहेका बेला नेपालमा भएको विमान अपहरण काण्डपछि उनी रिहा भए ।

जैश–ए–मोहम्मदको नेपाल कनेक्शन

पाकिस्तान नेपालको मित्र राष्ट्र हो । त्यसैले त्यहाँका मानिसहरू नेपाल घुम्न आउनु, काम विशेष आएर जानु कुनै अनौठो कुरा होइन । तर जैश–ए–मोहम्मदजस्तो आतंकवादी संगठनका सदस्य नेपाल आउनु र भारत पुगेर फेरि नेपालबाटै फर्किनुले भने सुरक्षा संवेदनशीलतामा ठुलो महत्व राख्छ । यो संगठनको नेपाल कनेक्शन पनि यस्तै खालको छ । भारतीय जेलमा रहेका आफ्ना नेतालाई छुटाउन नेपालबाट विमान अपहरण गरिएको घटनाका कारण भारतीय सुरक्षा निकायले नेपालको सुरक्षा प्रणालीमा त्यति विश्वास गर्दैनन् ।

कारण सन् १९९९ डिसेम्बर २४ मा आइसी–८१४ कलसाइनको विमान यही संगठनका आतंकवादीहरूले अपहरण गरी अफगानिस्तानको कान्दाहारमा पु¥याएका थिए । त्यसबेला भारतले आफ्ना यात्रुहरूको सुरक्षाका लागि जेलमा रहेका हरकत–उल–अन्सारका तीन नेतालाई रिहा गर्न बाध्य भयो, जसमा पाकिस्तानका कट्टरपन्थी नेता मसूद अजहर, अहमद उमर सईद शेख र मुश्ताक अहमद जरगर थिए । रिहाइ भएपछि मसूदले जैश–ए–मोहम्मद नामक संस्था खोलेर सञ्चालन सुरु गरे भने अहमद उमर सईद शेख इस्लामिक आतंकवादी क्रियाकलापमा संलग्न रहे । शेखले पछि अमेरिकी पत्रकार ड्यानियल पर्लको हत्या गरेका थिए ।

यता फिरौतीमा रिहा भएका मुश्ताक अहमद जरगर भने पाकिस्तान शासित काश्मीर अर्थात् पिओकेमा काश्मीरी आतंकवादी संगठनमा आबद्ध भएका थिए । विमान अपहरणपछि फिरौतीका रूपमा छाडिएका मसूद अजहर जेलबाट छुटेपछि पाकिस्तान फर्केर सन् २००० मा जैश–ए–मोहम्मद अर्थात् जेइएम स्थापना गरे । यही समूहले पछि भारतका विभिन्न स्थानमा आतंकवादी आक्रमण गरेको दाबी गरिएको छ ।

यो संगठनले सन् २००१ को डिसेम्बर १३ मा भारतीय संसदमा हमला गरेको थियो । भारतीय संसद् अधिवेशन सकिएलगत्तै नक्कली सरकारी गाडीमा प्रवेश गरेका पाँच जना सशस्त्र आतंकवादीले एके–४७, ह्यान्ड ग्रिनेड र विस्फोटक पदार्थ प्रयोग गरेर संसद् भवनमा हमला गरेका थिए। उक्त हमलामा ९ जना सुरक्षाकर्मी र कर्मचारीको मृत्यु भएको थियो । उक्त हमलामा आक्रमणमा संलग्न ५ जना आतंकवादी पनि मारिएका थिए। संसद् भवनमा रहेका करिब एक सय जना सांसद भने सबै सुरक्षित बनेका थिए ।

त्यसैगरी यही समूहले सन् २०१६ को जनवरी २ मा भारतको पन्जाबमा रहेको भारतीय वायु सेनाको एयर बेसमा आक्रमण ग¥यो, जहाँ ७ जना भारतीय सुरक्षाकर्मी मारिएका थिए । उक्त घटनाको जिम्मेवारी जैश–ए–मोहम्मदले लिएको थियो, जसका योजनाकार मसूद अजहर थिए । यो हमलाको उद्देश्य भारतीय वायु सेनाको सैनिक संरचना माथि आक्रमण गरेर देशको सुरक्षा प्रणाली कमजोर बनाउने कोसिस रहेको भारतीय सेनाले दाबी गरेको थियो ।

घटनाको १ दिन पहिले मात्रै एक भारतीय सैनिक अपहरणमा परेका थिए, त्यसपछि आतंकवादी संगठनका ६ जना सदस्य त्यसको भोलिपल्ट अर्थात् जनवरी २ को बिहान ३ बजे सेनाको एयर बेसमा पस्न सफल भएका थिए । एयर बेसमा पुगेर उनीहरूले एके–४७, ग्रिनेड, विस्फोटक पदार्थ आदिले आक्रमण सुरु गरेका थिए । ३ दिनसम्म चलेको उक्त भिडन्तमा ६ जना आतंकवादीहरू समेत मारिएका थिए ।

घटनापछि भारतको गुप्तचर निकायले पाकिस्तानस्थित मसूद अजहर र उनका भाइ रौफ अजहरले हमलाको योजना बनाएको प्रमाणसहित पुष्टि गरेको थियो । त्यसमा आक्रमणकारीको फोन र लोकेसन पाकिस्तानमा ट्रेस भएको, जैश–ए–मोहम्मदले आक्रमणको जिम्मेवारी लिएको, फोन वार्ता र जिपिएस ट्रयाकिङमा पाकिस्तानको भूमि देखिएको थियो ।

यस्तै मसूद अजहर नेतृत्वकै जैश–ए–मोहम्मद समूहले सन् २०१९ को फेब्रुअरी १४ मा भारतको जम्बू काश्मीरमा पर्ने पुलवामा जिल्लामा आत्मघाती आक्रमण ग¥यो । उक्त आक्रमणमा ४० प्रहरीको तत्कालै मृत्यु भयो । सोही कारण पनि यस्तो आतंकवादी संगठनका सदस्यहरू नेपाल हुँदै भारत प्रवेश गरेको र फेरि नेपालकै बाटो सहजरूपमा मलेसिया फर्किएको सूचनाले नेपालले छिमेकीविरुद्ध कुनै पनि किसिमका अवाञ्छित गतिविधि हुन नदिने भनी गरेको प्रतिबद्धतामै प्रश्न उठ्छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ १३ गते शुक्रबार