बजेट संशोधन गर्न माग गर्दै सिंजामा तालाबन्दी



जुम्ला ।

बजेट संशोधन गर्न माग गर्दै जिल्लाको सिंजा गाउँपालिकामा तालाबन्दी गरिएको छ । सिंजा गाउँपालिकाको आर्थिक वर्ष २०८२–०८३ को नीति तथा कार्यक्रमसहित बजेट गाउँ सभा सदस्यको बहुमतले पारित भइसकेको छ । तर बजेटप्रति असन्तुुष्ट जनाउँदै कार्यपालिका सदस्यहरूले विवाद उत्पन्न गराएका छन् । विवाद सुरु भएको एक महिना बढी भयो । तर अझै बजेट संशोधन गर्न माग गर्दै गाउँपालिका कार्यालयमा तालाबन्दी गर्ने, विरोध जनाउने जस्ता गतिविधि रोकिएका छैनन् ।

६ वटा वडा रहेको गाउँपालिकामा चार जना वडाध्यक्ष बजेटको विपक्षमा उभिएका छन् । पालिकामा जनप्रतिनिधिबीचको विवाद सुुरु भएको हो। विशेषगरी नेकपा माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधि बजेटको पक्षमा र त्यो इतरका सबै दलका जनप्रतिनिधि बजेटको विपक्षमा उभिएका छन् । बजेट पारित गर्दा दुवै पक्षका १४÷१४ जना मात्रै उपस्थित थिए । त्यो बेला गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले आफू बजेटको पक्षमा उभिएको भनेपछि बजेट पारित भएको थियो ।

अध्यक्ष धिताल पनि माओवादी पार्टीबाट निर्वाचित हुन् । गाउँपालिकाको गाउँ सभामा १८ जना माओवादी केन्द्र र १६ जना अन्य पार्टीबाट निवाचित जनप्रतिनिधि छन् । गाउँपालिकाले आर्थिक वर्ष २०८२–०८३ को बजेट माओवादी पार्टीका कार्यकर्ता केन्द्रित हुनेगरी ल्याएको भन्दै चार जना वडाध्यक्ष सहितको टोलीले असहमति जारी रोखेको छ । यो असहमतिसहित गाउँपालिकामा विवाद चर्किँदै आएको छ । पटक पटक छलफल भएपनि सहमति हुन सकेको छैन ।

गाउँपालिकामा विवाद चुलिँदै जाँदा सार्वजनिक सेवा प्रभावित बनेको छ । दैनिक आन्दोलन हुन थालेपछि उपाध्यक्ष सितली रोकायाको संयोजकत्वमा वार्ता समिति पनि बनेको थियो । उनीसँगै पालिकाका प्रवक्ता तथा सिँजा–२ का वडाध्यक्ष तीर्थ वड र तीन नम्बर वडाध्यक्ष सुरतबहादुर रावत सदस्य छन् । तर ९ भदौमा आन्दोलनरत पक्ष र वार्ता टोलीबीच बसेको बैठकले विवाद समाधान गर्न नसकेपछि बुधबार पालिकामा तालाबन्दी गरिएको छ । यसले पालिकाको कामकाज प्रभावित बनेको छ ।

बिहानै १० बजेदेखि नै कार्यालयमा ताला लागेकोले नियमित काम ठप्प छ । असार ३१ गते पारित भएको बजेट संशोधन नहुँदासम्म ताला नखोल्ने आन्दोलनरत पक्षले चेतावनी दिएका छन् । आन्दोलनरत पक्षले बजेटमा बहुमतको दम्भ देखाएको, समान बजेटको व्यवस्थापन हुन नसकेको, कार्यकर्ता पोस्याउने बजेट ल्याएको, टोलस्तरीय बजेटको व्यवस्था नभएको र सबै तहका शिक्षक र स्वास्थ्यकर्मीको व्यवस्थापन हुन नसक्दा प्रभावकारी रूपमा सेवा प्रवाह हुन नसकेको आरोप लगाएका छन् ।

उत्पादनमूलक बजेटको मागसहित आफूहरू आन्दोलनमा उत्रिएको सिँजा–६ का वडाध्यक्ष लालबहादुर बुढाले बताए । उनका अनुसार पहिले सहमतिअनुसार नै बजेट बनेको थियो । पछि माओवादी नेता कार्यकर्ता बसेर आफू अनुकूलको कार्यकर्तालाई फाइदा पुग्ने बजेट ल्याएको दाबी छ । त्यसैले बाध्य भएर आन्दोलनमा उत्रिनु परेको उनको भनाइ छ । बजेट बनाउनुअघि नयाँ सडक खन्दा पालिकाकै डोजर प्रयोग गर्ने, डोजरमा चाहिने तेलको प्रबन्ध गर्ने गरी बजेट ल्याउने सहमति थियो । तर सहमति कार्यान्वयन नगरिएको आन्दोलनरत पक्षले जनाएको छ ।

नेपाली काँग्रेस गाउँपालिका समितिका सभापति गोविन्द शर्माको नेतृत्वमा पाँच सदस्यीय संघर्ष समिति नै गठन गरेर आन्दोलन थालिएको हो । यता गाउँपालिका अध्यक्ष धितालले जनपक्षीय नीति तथा कार्यक्रम र बजेट गाउँ सभाबाट पारित भएको भन्दै संशोधन नहुने बताए । सबै टुंगिएको विषयमा विवादमा ल्याउन आवश्यक नरहेको उनको भनाइ छ । १५ लाख बजेटका सडकको विषयमा मात्रै उनीहरूको असहमति रहेको भन्दै हाल सबै कुरामा अड्को थाप्न थालेको अध्यक्ष धितालले बताए ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ १२ गते बिहीबार