श्यामलाल पोखरेल । बुटवल ।
रुपन्देहीको भैरहवास्थित गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थल सुनसान छ । अन्तर्राष्ट्रिय उडानका लागि ठूलोे लगानी गरेर तयार गरिएको उक्त विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन छाडेपछि विमानस्थल सुनसान बनेको हो । नेपाल सरकारको ३७.४ प्रतिशत र एसियाली विकास बैंकको ६२.६ प्रतिशत लगानीमा निर्माण भएको हो । ३० अर्ब ९१ करोडको सुरुवाती सम्झौताअनुसार सुरु भएको परियोजना निर्माण अवधि बढेपछि मूल्य अभिवृद्धि करसहित ३५ अर्ब ६६ करोड पुगेको थियो ।
त्यसबाहेक, विमानस्थलका लागि २३ अर्ब रूपैयाँ जग्गा अधिग्रहणमा खर्च भएको थियो । विमानस्थल २०७९ जेठ २ गते उद्घाटन गरिएको हो । उद्घाटनपछि बेला बेला उडान भएपनि नियमित उडान नहुँदा विमानस्थल पार्किङस्थलको रूपमा प्रयोग भएको छ । गत सालको चैत १९ गतेदेखि उडान हुन सकेको छैन । जसले गर्दा अहिले सुनसान रहेको गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थल सामान्य पार्किङको रूपमा प्रयोग भएको छ । सुनसान विमानस्थलमा केही गाडी र केही मोटरसाइकलहरू देखिन्छन्, भने केही सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी देखिन्छन् ।
अन्तर्राष्ट्रिय नियमित उडान रोकिएपछि रुपन्देहीका उद्योगी व्यवसायीले नियमित उडानको माग गर्दै आएका छन् । उडानका लागि सरकारलाई दबाब दिँदै उद्योगी व्यवसायीहरूले विमानस्थलको गेट अगाडि प्रदर्शनसमेत गरिसकेका छन् । रुपन्देहीका विभिन्न व्यवसायिक संघसंस्थामा आबद्व उद्योगी व्यवसायीले संस्थागत रूपमा नियमति उडानको माग गर्दै आएका छन् । भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल बन्न सुरु भएदेखि नै लगानी बढाएर व्यवसाय सुरु गरेका व्यवसायीहरू अन्तर्राष्ट्रिय उडान नहुँदा अहिले सरकारसँग रुष्ट बनेका छन् ।
उद्योगी व्यवसायीले अन्तर्राष्ट्रिय उडान नियमित सुरु नभएसम्म आन्तरिक उडान बन्द गर्ने चेतावनी दिँदै प्रधानमन्त्री, विभागीय मन्त्री, प्रमुख दलका नेताहरूलाई ज्ञापनपत्र बुझाएपनि अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन हुन सकेको छैन । भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित रूपमा सञ्चालन नभए आगमी कात्तिक १७ गते हुने रुपन्देही क्षेत्र नम्बर ३ को निर्वाचन वहिष्कार गर्ने चेतावनी दिएपनि उडान हुने कुनै संकेत देखिएको छैन ।
कार्तिक १७ गते हुने उपनिर्वाचनको मिति नजिकिँदै जाँदा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित रूपमा सञ्चालन हुनुपर्ने माग गर्दै सिद्वार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँको संयोजकत्वमा संघर्ष समिति गठन गरिएको छ । नियमित उडानको माग गर्दै आएका उद्योगी व्यवसायीले विमानस्थल नियमित रूपमा सञ्चालन नभए उपनिर्वाचन बहिष्कार गर्ने सरकारलाई चेतावनी दिन थालेका छन् ।
विमानस्थल नियमित रूपमा सञ्चालनका लागि सरकार र राजनीतिक दलहरू गम्भीर नदेखिएकाले सबैको सहमतिमा अब उपनिर्वाचन बहिष्कार गर्ने योजना बनेको सिद्वार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र आचार्यले बताए ।
विमानस्थल नियमित रूपमा सञ्चालन नभएसम्म उपनिर्वाचन बहिष्कार गर्ने विषयमा भैरहवाका स्थानीय जनप्रतिनिधिहरू पनि एक ठाउँमा छन्। पर्यटन व्यवसायी विष्णुप्रसाद शर्माले उडानका लागि पटक पटक सरकारसँग आग्रह गर्दा पनि नसुनेकाले उपनिर्वाचन बहिष्कार गरेर दबाब सिर्जना गर्नुपर्ने अवस्था आएको बताए । चेम्बर अफ कमर्स लुम्बिनीका अध्यक्ष टंकप्रसाद पोखरेलले नियमित उडानका लागि सरकारलाई दबाब दिन उद्योगी व्यवसायीहरू एकीकृत हुनेपर्ने बताउँछन् ।
विमानस्थल नचलेपछि आफूहरू मर्कामा परेको भन्दै व्यवसायीले सरकारसँग क्षतिपूर्तिको मागसमेगत गरेका छन् । अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने भनेपछि भैरहवाका राम थापाले पर्यटन व्यवसायमा २२ करोड लगानी गरेका थिए । २२ करोड लगानीमा स्वीट पूर्णिमा होटल सञ्चालन गरेका थापाले अहिले अन्तर्राष्ट्रिय उडान नियमित नहुँदा ठूलोे घाटा खानुपरेको गुनासो गरे । गत वर्ष कात्तिकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मतका लागि आंशिक बन्द भएपछि जजिरा एयरवेज, फ्लाई दुबई, थाई एयर एसिया र नेपाल एयरलाइन्सले एक महिना जति उडान गरेका थिए ।
तर, भिजिबिलिटीको समस्या देखाउँदै उडान स्थगित गरेका थिए । नियमित उडान रोकिएपछि उडानका लागि चौतर्फी आवाज उठेपछि आगमी अक्टुबर २६ बाट थाइ एयरलाइन्सले उडानका लागि प्रस्ताव गरेको गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकार विनोद रावतले जानकारी गराए । तर थाइ एयरलाइन्सको उडान गर्ने प्रस्ताव स्वीकृति भएको छैन ।









प्रतिक्रिया दिनुहोस्