सुरेन्द्रको हत्या भएको प्रहरी निष्कर्ष



सुर्खेत ।

दैलेखको छामघाट खोला किनारामा शव भेटिएका सुरेन्द्रबहादुर शाहीको हत्या गरेर खोलामा फालेको प्रहरी अनुसन्धानबाट खुलेको छ । गत साउन महिनाको ११ गतेका दिन मृतक २८ वर्षीय शाहीको शव दुल्लु नगरपालिका–११, कयलकुनास्थित छामघाट खोला किनारमा फेला परेको थियो । तर दैलेख प्रहरीको अनुसन्धानबाट शाहीको हत्या नै गरिएको निष्कर्षसहित गंगा वन र उनका बुवाआमाविरुद्ध दैलेख जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ ।

दैलेखको महावु गाउँपालिका–५ काँशीकाध बस्ने २७ वर्षीय गंगासहित उनका बुवा नैने र आमा भकुविरुद्ध मुद्दा अदालतमा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेश बरालले जानकारी दिए । उनका अनुसार सुरेन्द्रको शव भेटिएको मितिदेखि प्रहरीले विभिन्न कोणबाट अनुसन्धान थालेको थियो । अनुसन्धान गर्दै जाँदा गंगासहित बुवाआमा पनि संलग्न देखिएको डीएसपी बरालले बताए । हाल प्रहरीले अनुसन्धान प्रक्रिया सकेर तीनै जनाविरुद्ध मुद्दा अदालतमा दर्ता गरिसकेको छ ।

साउन ११ गते बिहान ६ बजे सुरेन्द्रको शव दुल्लु नगरपालिका–११ कयलकुनास्थित छामघाट खोलाको किनारामा भेटियो । शरीरको तल्लो भाग नांगो र शरीरको माथिल्लो भागमा सेतो खैरो रंगको टिसर्टमा शव फेला परेको थियो । प्रहरीले घटनास्थलमा मुचुल्का लगायतका कार्यहरू गरी सनाखतको लागि जिल्ला स्वास्थ्य कार्यालय दैलेखमा शव पठाएको थियो । उक्त शव सुरेन्द्रको नै रहेको पहिचान खुलेको थियो । साउन १३ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा सुरेन्द्रका बुवा झक्कबहादुर शाहीले कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गर्न भन्दै मुद्दा दर्ता गराएका थिए । सोही दिन सुरेन्द्रको शव पोष्टमार्टम गरेर आफन्तले अन्तिम दाहसंस्कार गर्ने भन्दै बुझेका थिए ।

दैलेखका प्रहरी प्रमुख बरालले घटना शंकास्पद रहेको र आफन्तलेसमेत केही रहस्यमय जानकारी दिएकाले अनुसन्धानको दायरा फराकिलो पारिएको जानकारी दिए । विभिन्न माध्यमवाट अनुसन्धान गर्दै जाँदा गंगाको संलग्नता रहेकी देखिने केही बलिया तथ्य फेलाको प्रहरीले जानकारी दिएको छ । अनुसन्धानको क्रममा घटनाको प्रतिवादी गंगासहित बुबा नैने र आमा भकुकोसमेत संलग्नता पाइएको प्रहरीको भनाइ छ । परिवारका अनुसार मृतक सुरेन्द्र रोजगारीका लागि मलेसिया पुगेका थिए । ३३ महिनासम्म उनले उतै काम गरे । मलेसिया हुँदा नै सुरेन्द्र र गंगाको चिनजान फेसबुकबाट भयो । दुई वर्षसम्म उनीहरूबीच फेसबुकमा कुराकानी पनि भयो ।

सो समयमा साथी बनाई माया प्रेम गर्छु भनी विवाह गर्नेसम्मको आश्वासन गंगाले दिइन् । यो क्रममा गंगाले प्रलोभनमा पारी विभिन्न बाहाना बनाई विभिन्न मितिमा विभिन्न माध्यमवाट चार लाख ४६ हजार ९२० रुपैयाँ ५३ पैसा आर्थिक लाभ सुरेन्द्रबाट लिएको अनुसन्धानबाट खुलेको छ । आर्थिक लाभ लिइसकेपछि बिस्तारै सुरेन्द्रबाट गंगा टाढिन खोजेकी थिइन् । तर बिस्तारै गंगा टाढिन थालेपछि सुरेन्द्रले आफू नेपाल आउन लागेको जानकारी गराए । गंगाले सुरेन्द्रलाई फेसबुकमा अनफ्रेण्ड गर्नुको साथै मोबाइलमा पनि ब्लक गरिन् । सुरेन्द्र नेपाल नआइपुग्दै गंगा पासपोर्ट बनाएर विदेश जान भिसा लगाउन काठमाडौँसम्म पुगेको प्रहरी प्रमुख बराल बताउँछन् ।

नेपाल फर्किएका सुरेन्द्रले गंगासँग सम्पर्क गर्न उनकै आफन्तबाट खोजी थालेका थिए । साउन २ गते सुरेन्द्रले गंगा र उनका बुवाआमासँग सम्पर्क गरी कुराकानी गरेको प्रहरीले बताएको छ । प्रहरी प्रमुख बराल भन्छन्, ‘हत्या गर्ने दिनसम्म तीनै जनासँग सुरेन्द्रको नियमित सम्पर्क भएको देखिन्छ । बुबाआमाले गंगाको विवाह तपाईँसँग गरिदिन्छौँ भनेर १० साउनमा बोलाएका रहेछन् । त्यही दिन उनलाई झोलुंगे पुलबाट खोलामा फालेको बयान गंगाले प्रहरीलाई दिएकी छन् ।’

सुरेन्द्रलाई गंगाले महाबु गाउँपालिका–४ काप्रिखोला र पाँच नम्बरमा पर्ने काँसीकाध जोड्ने रापटस्थित छामघाट खोला माथिको झोलुङ्गे पुलमा भेट्न बोलाएको उल्लेख छ । तर सुरेन्द्र त्यहाँ पुगेपछि बिस्तारै एकआपसमा झै–झगडा भयो । साउन १० गते राति ११ बजे सोही पुलबाट खोलामा खसाई हत्या गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

सुरेन्द्रको हत्या गर्नुपूर्व नै साउन ६ गते गंगाका बुवा नैने र आमा भक्कुले सबै योजना बनाएको प्रहरी अनुसन्धानले देखाएको छ । अपराध गराउन सहयोग गरेको देखिएकोले नैने र भक्कुलाई कसुरको अपराधिक षडयन्त्र, उद्योग, दुरूत्साहन र मतियारको कारबाहीमा मुद्दा चलाइएको छ । यता गंगाको हकमा कर्तव्य ज्यान तथा आपराधिक लाभ मुद्दामा कारबाहीको मागसहित प्रहरीले अदालतमा मुद्दा दर्ता गरेको छ । दैलेख जिल्ला अदालतका श्रेस्तेदार वीरेन्द्रबहादुर मल्लका अनुसार यसबारे थुनछेक बहस जारी छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ ११ गते बुधबार