सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रसँग सम्झौता गरी लुम्बिनी प्रदेशको नेपालगन्जस्थित भेरी अस्पताल र कर्णाली प्रदेशको सुर्खेत वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश अस्पतालमा मृगौला प्रत्यारोपण सेवा सञ्चालनमा ल्याइएको थियो । तर, अहिले यी दुवै अस्पतालमा उक्त सेवा सञ्चालनमा छैन । सेवा अनियमित भएपछि बिरामीहरू अलमलिने र सेवाको विश्वसनीयतामा प्रश्न उठ्ने अवस्था आएको सम्बद्ध चिकित्सकहरू बताउँछन् ।
वीरेन्द्र जैसी । नेपालगन्ज ।
सातै प्रदेशमा मृगौला प्रत्यारोपण सेवा विस्तार गर्ने लक्ष्यसहित प्रत्यारोपण सेवा सुरु गरिएका पश्चिम नेपालका दुई अस्पतालमा अहिले उक्त सेवा अवरुद्ध अवस्थामा छ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रसँग सम्झौता गरी लुम्बिनी प्रदेशको नेपालगन्जस्थित भेरी अस्पताल र कर्णाली प्रदेशको सुर्खेत वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश अस्पतालमा मृगौला प्रत्यारोपण सेवा सञ्चालनमा ल्याइएको थियो । तर, अहिले यी दुवै अस्पतालमा उक्त सेवा सञ्चालनमा छैन ।
काठमाडौँबाहिर पोखरापछि कर्णाली प्रदेश अस्पतालमा मृगौला प्रत्यारोपण सेवा सञ्चालनमा ल्याइएको थियो । २०७९ माघ २१ गते पहिलोपटक दुई जनाको मृगौला प्रत्यारोपण गरिएको थियो । प्रत्यारोपण सेवा सुरु भएको ३० महिनामा सात जनाले मात्रै सेवा पाएका छन् । जबकी सेवा सुरु गर्दा हरेक महिना दुईपटक मृगौला प्रत्यारोपण सेवा दिइने भनिएको थियो । पछिल्लोपटक मृगौला प्रत्यारोपण भएको पनि दुई महिनाभन्दा बढी भइसकेको छ ।
यस्तै भेरी अस्पतालमा गएको वैशाख ९ गते दुईजना बिरामीमा मृगौला प्रत्यारोपण गरी सेवा सुरु गरिएको थियो । उक्त अस्पतालमा हरेक महिनामा मृगौला प्रत्यारोपण सेवा दिइने भनिएको थियो । तर, पहिलो प्रत्यारोपण सेवा दिएयता उक्त सेवा अघि बढ्न सकेको छैन । यी दुई अस्पतालमा मृगौला प्रत्यारोपण सेवा सुरु भएपछि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका बिरामीहरूले काठमाडौँ नै पुग्नुपर्ने बाध्यताको अन्त्य हुने, यात्रा तथा अस्पताल बस्दा हुने खर्चको भार कम हुने अपेक्षा गरिएको थियो ।
साथै, उक्त सेवाले अस्पतालहरूको सेवाको गुणस्तरीयता पनि बढ्ने अपेक्षा गरिएको थियो । सेवा अनियमित भएपछि बिरामीहरू अलमलिने र सेवाको विश्वसनीयतामा प्रश्न उठ्ने अवस्था आएको सम्बद्ध चिकित्सकहरू बताउँछन् । कर्णाली प्रदेश अस्पतालमा त प्रत्यारोपण गरिएका बिरामीहरू पनि विशेषज्ञ चिकित्सकको अभावमा फ्लोअप जाँचका लागि काठमाडौँ नै पठाउनुपर्ने अवस्था रहेको थियो । कर्णाली प्रदेश अस्पतालका सूचना अधिकारी विनोद बस्नेतका अनुसार अब कहिले प्रत्यारोपण सेवा सुरु हुन्छ भन्ने यकिन छैन ।
किनकी अहिले प्रदेश अस्पताल प्रमुखविहीन छ । ‘पहिलेको अस्पताल प्रमुख प्रमोशन भएर स्वास्थ्य मन्त्रालय जानुभो । नयाँ कार्यालय प्रमुख तोकिएको छैन । प्लान त बन्ला तर नयाँ हाकिमसाब नआएसम्म केही भन्न सकिन्न,’ बस्नेतले भने । उनले अस्पतालका एकजना सर्जन मृगौला प्रत्यारोपणकै अध्ययनका लागि बिदामा रहेको पनि बताए । उनले ती सर्जन फर्किएर आएपछि सेवा सुचारु हुने आशा गरिएको बताए । उनको अध्ययन आगामी माघमा सकिने बस्नेतले जानकारी दिए ।
अस्पतालमा प्रत्यारोपण सेवा सुचारु राख्नका लागि जनशक्तिको पनि अभाव छ । किनकी उक्त सेवा दिन ट्रान्सप्लान्ट सर्जन, नेफ्रोलोजिस्ट, युरोलोजिस्ट जस्ता विशेषज्ञ जनशक्तिहरूकै अभाव छ । ती जनशक्तिहरू सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबाटै ल्याएर सेवा दिनुबाहेकको विकल्प छैन । यसले हरेक प्रत्यारोपणका बेला ठूलोे टिमलाई काठमाडौँबाट ल्याउने र व्यवस्थापन गर्ने काममा खर्च पनि बढी लाग्ने गरेको सूचना अधिकारी बस्नेतले बताए ।
विशेषज्ञबाहेक नर्सिङ स्टाफहरू भने सातवटा प्रत्यारोपण सेवापछि तालिमप्राप्त भइसकेको दाबी बस्नेतले गरे । उनले प्रत्यारोपणका लागि अत्यावश्यक उपकरणहरू पनि अस्पतालले खरिद गरिसकेको बताएका छन् । ‘हामीकहाँ नभएको प्रविधि र उपकरण प्रत्यारोपण केन्द्रबाटै लिएर आउनुहुन्छ,’ उनले भने । भेरी अस्पतालका मृगौला रोग विशेषज्ञ डा. दीपेश गुप्ताका अनुसार अस्पताल अझै प्रत्यारोपण सेवाका बेला लाग्ने खर्च सरकारबाट पाउनका लागि प्रक्रिया पूरा गरिसकेको छैन । उनले पहिलोपटक भएको दुईजना बिरामीको प्रत्यारोपण सेवामा भएको खर्च अस्पतालबाटै व्यहोर्नुपरेको बताए ।
एकजना बिरामीलाई प्रत्यारोण गर्दा चार लाखभन्दा बढी खर्च लाग्ने गरेकोमा उक्त खर्च सबै अस्पतालले नै व्यहोर्न नसक्ने भएकाले मन्त्रालयमा सूचीकृत गर्नुपर्ने भएको अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र शाहले बताए । सरकारबाट उक्त खर्च पाउनका लागि कम्तिमा एकपटक प्रत्यारोपण सेवा दिएपछि मन्त्रालयमा सूचीकरण गर्नुपर्ने व्यवस्था रहेको तर, उक्त प्रक्रिया पूरा नभएको डा. गुप्ताको भनाइ छ । ‘बिरामीलाई प्रत्यारोपण सेवा दिएवापत लाग्ने खर्च सरकारले व्यहोर्ने व्यवस्थाका लागि अस्पताललाई प्रत्यारोपण केन्द्रको रूपमा दर्ता गर्नुपर्ने रहेछ । अहिले हामी त्यसकै प्रक्रियामा रहेका छौँ । मन्त्रालयबाट टिम आएर आवश्यक जाँचबुझ गरिरहेकोछ । आशा गरौँ चाँडै प्रक्रिया पूरा भएर सेवा सुचारु हुन्छ,’ डा. गुप्ताले भने ।
डा. गुप्ताले भेरी अस्पतालमा जनशक्तिका कारण सेवा अवरुद्ध नहुने दाबी गरे । उनले अस्पतालमा मृगौला प्रत्यारोपणका लागि आधारभूत जनशक्ति तथा पूर्वाधारहरू उपलब्ध रहेको र नपुगेको जनशक्ति केन्द्रबाट प्राप्त हुने भएकोले सेवा सुचारुका लागि अरु बाधाहरू नरहेको बताए । अस्पतालमा अहिले दुईजना मृगौला विशेषज्ञ रहेका छन् भने जनरल सर्जरी, एनेस्थेसिया, फिजिसियन लगायत विधाका विशेषज्ञ चिकित्सकहरूसमेत उपलब्ध छन् ।
मृगौला विशेषज्ञहरू ड. दीपेश गुप्ता र डा. शौरभ हमाल, एनेस्थेसियोलोजिष्ट डा. पारस पाण्डे, डायलासिस इन्चार्ज डा. पारस श्रेष्ठलगायतको टिम अस्पतालमा छ । डा. गुप्ताले प्रत्यारोपणका लागि लाइसेन्स पनि प्राप्त गरिसकेका छन् । उनले अन्य पूर्वाधारका सम्बन्धमा भने, ‘अस्पतालमा अपरेशन थियटर, आइसियु बेड लगायतको व्यवस्था पनि छ । केही नर्सहरूले तालिम पनि लिएर आउनुभएको छ । यसले गर्दा हामी प्रत्यारोपणका लागि सक्षम छौँ ।’
यी सबै सहजता हुँदाहुँदै पनि अस्पतालले सेवा सुचारु गर्न प्रत्यारोपण गर्दा लाग्ने खर्चको व्यवस्थापनको विषयले रोकिएको गुप्ताको भनाइ छ ।
मृगौला प्रत्यारोपण गर्ने बिरामीलाई सरकारले ७ लाखसम्मको सुविधा दिनका लागि केन्द्रबाट अनुगमन गरेर टोली फर्किसकेको तर स्वीकृति पाउन केही समय लाग्ने भेरी अस्पतालका मेसु डा. निराजन सुवेदीले जानकारी दिए । स्वास्थ्य सेवा विभागको नर्सिङ तथा सामजिक सुरक्षा महाशाखाले अनुगमन गरेर निःशुल्क सुविधाका लागि सूचीकृत गर्नुपर्ने व्यवस्था छ ।
सूचीकृत भएपछि मिर्गौला प्रत्यारोपणका बिरामीहरूले मिर्गौला प्रत्यारोपणका लागि चार लाख, औषधि खर्चवापत दुई लाख र थप एक लाख गरी ७ लाख रूपैयाँको निःशुल्क उपचार पाउने छन् । अहिले काठमाडौँमा शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, त्रिवि शिक्षण अस्पताल, वीर अस्पतालसहित केही निजी अस्पताल र पोखरामा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृगौला प्रत्यारोपण गरिन्छ ।
उक्त सेवालाई सातै प्रदेशमा विस्तार गर्ने लक्ष्यसहित पहिलोपटक कर्णाली प्रदेश र त्यसपछि भेरी अस्पतालमा सेवा सुरु गरिएको थियो । उक्त सेवाका लागि शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र अस्पतालबीच सम्झौता गरेर केन्द्रको सहयोगमा प्रत्यारोपण सेवा अघि बढाइने मोडेल तय गरिएको थियो ।
केन्द्रमा उपलब्ध जनशक्तिमार्फत सीप हस्तान्तरण गरेर सेवा दिने भनिएको थियो । अस्पतालमा नियमित प्रत्यारोपण सेवा सञ्चालन गर्ने योजना अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा प्राविधिकहरूको पनि क्षमता वृद्धि गरी आत्मनिर्भर बनाउन केन्द्रले तालिम दिनेगरी सम्झौता भएको थियो । केही समयसम्म केन्द्रका जनशक्तिको साथ लिने र बिस्तारै अस्पताल नै प्रत्यारोपणका लागि आत्मनिर्भर बन्ने रणानीति लिइएकोमा उक्त रणनीतिको सुरुवाती चरणमै समस्या देखिएका हुन् ।









प्रतिक्रिया दिनुहोस्