चेतना शर्मा
हरेक मानिसको जीवनमा यादका पत्रहरू खातै खात लागेर बसेका हुन्छन् । मिठा याद फूल बनेर फक्रिरहन्छ भने नमिठा याद मैन बनेर पग्लिरहन्छ । देखेको र भोगेको अनुभवहरूले कहिलेकाहीँ अचानक स्मृतिको हुण्डरी ल्याउँछन् र मस्तिष्कलाई धुम्म पार्छन् । अतीतका काला पानाले नराम्ररी झस्काउँछन् । कहिले मन द्रवित बनाएर रुवाउन खोज्छन् त कहिले सोच्न बाध्य पार्छन् । स्मृति भन्ने चिज अचम्मको छ । कति बेला मनको दैलो उघार्छ र टुप्लुक्क आइपुग्छ पत्तै हुँदैन ।
मेरो स्मृतिपटलमा पनि एउटा नमिठो घाउ छ । त्यो घाउ तीज पर्वसँग सम्बन्धित छ । तीजको स्मृति मेरो मानसपटलमा यसरी बसेको छ कि प्रत्येक वर्ष तीज टुप्लुक्क आइपुग्छ र स्मृतिको ढोका खोलेरै जान्छ । मानौँ मेरो स्मृति ‘पन्डोरा बाकस’ हो । एकपछि एक गर्दै स्मृतिको पुन्तुरो खुल्दै जान्छ । सबैको जीवनमा बाल्यकालको विशेष महत्व हुन्छ । बाल्यकालका सम्झना बिर्सन सकिँदैन । ती त जीवनभर हामीसँगै रहन्छ । बाल्यकालको स्मृति कुनै सङ्गीतको धुनभन्दा फरक हुँदैन । त्यसले सधैँ हाम्रो मानसपटलमा डेरा जमाएर बसिदिन्छ र हामीलाई आफ्नै लयमा बगाएर लैजान्छ ।
त्यो वर्ष वातावरण हरियो थियो । केवल हरियो मात्र होइन, साँच्चै हरियो । भाद्र महिनाको सुरुवात हरेक वर्ष यसै गरी भइरहेको हुन्छ । त्यसमा अचम्म वा अनौठो मान्नुपर्ने कारण छैन । किनभने भाद्र महिनामा सधैँ यस्तै वातावरण हुन्छ । नाङ्गै खुट्टाले भुइँमा हिँड्दा दुबो र माटोको स्पर्शले मुटुसम्म पुगेर शीतलता दिन्छ । उखरमाउलो गर्मीमा पंखा जसरी चल्दछ शीतल हावा । कपालका गुजुल्टाजस्ता बादल बेला बेला आकाशमा घुम्छन् । ती बादल कहिले बर्सिन्छन् धरती टेक्नलाई त कहिले आस मात्र देखाएर आकाशमै हराउँछन् ।
साउन÷भदौ महिनाको समयमा हरियालीको पूर्ण आनन्द धानका गराहरूमा देखिन्छन् । धानका जराले भुइँमा आफ्नो ठाउँ मजबुतसँग जमाइसकेका हुन्छन् । केही महिनापछि खेतमा झुल्न तयार भएर बसेका गरा भरीका धानको सौन्दर्य हेरेर कहिले अघाइन्छ र ? यसै गरी प्रकृतिको रङ हरियो बनेर हरेक वर्ष आउने वर्षा ऋतु मेरा लागि विशेष थिए । मेरो बाल्यकालमा वर्षा ऋतुले मलाई मोहनी लगाउँथ्यो । मलाई लाग्थ्यो, यस ऋतुमा देखिने मेरो गाउँको दृश्य एक सिङ्गो क्यानभासमा उतारिएको सुन्दर चित्र हो ।
यही ऋतुमा हरियो रङलाई साथ दिन आइपुग्छ रातो रङ । हरेक वर्ष रातोपनलाई अँगालोमा लिएर आउने तीज पर्वको सौन्दर्य अवर्णनीय छ । आमा र काकीहरूका लागि आएको तीज हामी बालबालिकाका लागि पनि आउँथ्यो मिठा खानेकुरा र राम्रा लाउने कुरा लिएर । तीजको किनमेल होस् या मिठो दर खाने लालसा । भर्खर किशोरावस्थामा टेकेका हामी उत्साहले भरिन्थ्यौँ । त्यो खुसी कहिले हाम्रा नङमा नङ पालिसको रङले पोतिन्थ्यो त कहिले लच्छा डोरीले कपालको शोभालाई चलायमान बनाउँथ्यो । मनको चञ्चलतालाई ती निर्जीव शृङ्गारका वस्तुहरूले लालमोहर लगाइरहेका हुन्थे ।
स्मृति पनि अचम्मकै कुरा रहेछ । सम्झन चाहेका कुरा बिर्साइदिन्छ र बिर्सनुपर्ने कुरा आँखाका डिलमा चलचित्रझैँ घुमाइरहन्छ ।
कान्छा दाइको सम्झना मेरो स्मृतिमा विशेष छ । हामी सबैले माया गर्ने कान्छा दाइ । सानैमा टुहुरो भएका दाइलाई बुवाले पहाडबाट आफूसँगै ल्याउनु भएको थियो । जति पढ्न सके त्यति बुवाले पढाइदिनु भयो । काम गर्न सिकाइदिनु भयो र काममा पनि लगाइदिनु भयो । विवाहपछि छुट्टै घरमा बस्न थाले पनि कान्छा दाइ र भाउजु कहिल्यै हाम्रो मनको घडेरीबाट अलग भएनन् । हामी ससाना खुसी र दुःखका पलहरू सँगै बाँड्थ्यौँ हरेक चाडपर्वमा एउटै आँगनमा भेला भएर रमाउँथ्यौँ ।
तीजको उत्सवमा हाम्रो आँगनले आफ्नो छातीलाई झनै ठुलो र चौडा बनाउँथ्यो । हरेक वर्ष आँगन टेक्ने यो पर्व उस्तै गरी आउँथ्यो, जसरी अघिल्ला वर्ष आउँथ्यो । चाडपर्व सँगै मनाउँदा मन आह्लादित हुन्थ्यो । त्यो बेलाको उत्साह, उमङ्ग आज दुर्लभ बनेको छ । तीजले हाम्रो आँगनमा तीज गीतका भाका लिएर आउँथ्यो । ती भाकामा कम्मर मर्काइ नाच्न लालायित हुन्थे आमा र छिमेकी काकीहरू । कतिपयको माइतीको बाटो बन्द भइसकेको हुन्थ्यो त कतिपयलाई दाइभाउजु, भाइ–बुहारीको व्यवहारले माइती जान मन लाग्दैनथ्यो । त्यो पीडा उनीहरूका गीतका शब्दमा सजीव बनेर उत्रिन्थे ।
कान्छी भाउजु पनि तीजको व्रत लिने गर्थिन् । दुई÷तीन दिनअगाडि देखिनै घाँसपात काटेर तीन÷चार दिनसम्म पुग्ने गरी तयारी गर्थिन् । आमाले नभ्याउने भएकाले हाम्रो गोठका लागि पनि जोहो मिलाइ दिन्थिन् । आमाकी मन मिल्ने बुहारी, सङ्गिनी र हाम्री प्रिय भाउजु थिइन् उनी । कान्छा दाइप्रति भाउजुको स्नेह र सहकार्य प्रशंसनीय थियो । कुखुराका अण्डा र दूधको व्यापार गरेर आर्थिक मामलामा दाइलाई सक्दो सहयोग स्वतःस्फूर्त रूपमा गरिरहेकी हुन्थिन् । दाइ–भाउजुको अनुहारमा एकअर्काप्रतिको सहयोग र सद्भावको सुन्दरता मज्जाले झल्किन्थ्यो । लाग्थ्यो, यी दुई जनाको जोडी भगवानले बनाएका हुन् ।
विसं २०५६ सालको तीज अघिल्ला वर्षभन्दा फरक भएर आयो हाम्रा लागि । भनिन्छ, तुफान आउनुअघिको सन्नाटा डरलाग्दो हुन्छ । त्यो दिन बिहानैदेखि वातावरण खुलेको थिएन । हामीमध्ये कोही प्रसन्न थिएनौँ । बाटाहरू पनि सुनसान थिए । बेलुका हाम्रो घरमा दर खाने कार्यक्रम थियो । दिनभरि नाचगान गरेर रमाइरहेका गाउँभरिका आमा, काकी, दिदीबहिनीहरू सबै आआफ्ना घर फर्किसकेका थिए । मैले देखेको त्यो तीज आजका सहर बजारमा आउने तीजभन्दा भिन्न थियो । आफ्नो निर्जला व्रत भए पनि परिवारका अरू सदस्यका लागि खाना बनाउन महिलाले भान्साका सम्पूर्ण काम गर्नुपथ्र्यो । भोलिपल्ट दिउँसो तीजको दिन पनि सबै जना हाम्रो आँगनमा जम्मा भए । हाम्रो घर हाम्रो मात्र ‘घर’ थिएन । सबैलाई स्वागत गर्ने ठाउँ थियो । यस्तो लाग्थ्यो, मानौँ घरका ढोका पनि सबैलाई स्वागत गर्ने भावले उभिएका थिए ।
आमाले भन्थिन्, ‘आफ्नो आहारा त पशुले पनि खोज्न सक्छ । मानिस भएर जन्मेपछि अरूका निम्ति पनि सोच्नुपर्छ । अरूका लागि आफ्नो हृदय सधैँ उदार र खुला राख्नुपर्छ ।’ हाम्रो आँगनमा भरिभराउ मानिस देख्दा सबैले आनन्दको अनुभूति गर्थे । सायद त्यसैले होला, छिमेकीहरूले हाम्रो आँगनलाई ‘हँसिलो आँगन’ भनेर नै नामकरण गरेका थिए । त्यतिखेरको अपनत्व र मित्रताको भाव आजकल गाउँमा कमै भेटिन्छ । त्यही आफ्नोपन जसलाई शब्दले बयान गर्नु आवश्यक छैन । जसलाई केवल आत्मीय भावले बुझ्छ । बेला बेला गाउँ जान्छु, अझै पनि त्यो आत्मीयता खोज्छु तर भेट्न सक्दिनँ । पच्चीस वर्ष बितिसकेको छ । मेरो स्मृतिमा अझै पनि त्यो तीजको रात मेटिँदै नमेटिने गरी बसेको छ ।
कान्छा दाइको अनुहार मेरा यादको सन्दुकमा लालमोहर लगाएर बसेको छ । बुवाले भन्नुहुन्थ्यो, ‘कान्छालाई हेर तिमीहरू, के उसलाई चिन्ता हुँदैन होला ? तर उसले जिउने कला क्या मज्जाले जानेको छ ! मुस्कानको पछेउरा अनुहारमा ओढेरै हिँड्छ ।’ त्यो दिन सूर्यास्त भइसकेको थियो । पण्डित हाम्रो घरमा आएर सबैलाई छिटो पूजामा बस्न भने । मलाई लाग्थ्यो सबैभन्दा व्यस्त र दामले गोजी भरिएका भनेकै पण्डितहरू हुन् । साइकलको ह्यान्डलमा दुई वटा ठुलो झोला अड्काएका थिए पण्डित बाजेले । चामल र फलफूलले भरिएको झोला देखेर मेरो लोभी मनले सोच्यो, ‘हाम्रा बुवाले पनि कहिलेकाहीँ जजमानी गरे पनि हुन्थ्यो नि !’
पण्डितलाई सधैँ चटारो हुन्छ भन्ने थाहा पाएर आमाले पूजा स्थान र सामग्री सधैँ तयार राख्थिन् । त्यो दिन पूजाका लागि भनेर हामी मिलेर लामो चटाइमा बसेका थियौँ । मैले रातो फ्रक लगाएकी थिएँ । आफू राम्री भएकी महसुस भएर होला खुट्टाले भुइँ छोडेको थियो । कान्छी भाउजुले कर्के नजरले जिस्क्याउँदै भनिन्, ‘नानी व्रत बस्न सुरु गर, राम्रा श्रीमान् अनि श्रीमान्को लामो आयु प्राप्त हुन्छ ।’ मेरो अनुहार लाजको लालीले राताम्मे भयो । तर मनभित्र मिठो काउकुती पनि लागिरहेको थियो । किशोरावस्थाको उतारचढावले भरिएको मेरो शरीर र मनमा भाउजुको ती शब्दहरूले गहिरो प्रभाव पार्दै थिए । मैले मुस्कुराउँदै टाउको निहुराएँ ।
पूजा सकिँदै थियो । जसो जसो पण्डितको निर्देशन हुन्थ्यो पूजामा बसेका व्रतालुले त्यसै त्यसै गरिरहेका थिए । अचानक अखण्ड दीप निभ्यो । आमाहरू एकअर्काको अनुहार हेर्दै अचम्मित भए । पण्डित बाजेले केही हुन्नको सङ्केत गर्नुभएको केही पलमै ठुलो बम पड्किएको आवाज कानको जाली फुट्ने गरी आयो । हामीले केही बुझ्नै सकेनौँ । सबैको अनुहार डरले रातो भएको थियो । त्यो आर्मी र माओवादीबीच भिडन्त थियो, बुझ्न गाह्रो भएन । हाम्रो मनमा डरको कालो बादल मडारियो । यस्तो लाग्यो, आज कसको रातो सिन्दूर मेटियो । कसको व्रतको आह्वान भगवान्ले सुनेन ।
चराहरूको चिर्बिराहट रोकिएको थिएन । कुकुरको भुकाइले मस्तिष्कमा त्रासको हुन्डरी चलिरहेको थियो । पूजा छिटो सकाएर हामी घरभित्र बस्यौँ । बाहिर निस्कन उपयुक्त थिएन । केही बेरपछि मानिसको समूह हाम्रो घरनजिक आयो जस्तो लाग्यो । कान्छी भाउजु ढोका खोलेर हिम्मतका साथ बाहिर निस्किइन् । हामीले उनलाई रोक्न खोज्यौँ तर उनी बल लाएर बाहिर गइन् । तीन चार जना पुरुष आएर भनिरहेका थिए, ‘आर्मी र माओवादीबीच मुठभेड भयो । कान्छो त्यहीँ ठहरै भयो ।’ कान्छी भाउजु भावशून्य भएर ढल्नुभयो ।
त्यो पल त सायद स्वयम् यमराजले पनि देख्न सक्दैनन् होला । हामी बिस्तारै बाहिर निस्क्यौँ । केही क्षणअघिको भाउजुको चम्किलो अनुहारमा दुःखको पहाड खसेको थियो । मलाई ताजै सम्झना छ, सबै सुनसान थियो । आवाज थिएन घरमा । अघिल्लो दिन जे भयो, त्यो सम्झनासँगै भुइँ चिसो लाग्थ्यो । कान्छी भाउजुको निधारको रातो सिन्दूर एकाएक हराएको थियो । त्यो एक रातमै संसार उल्टिएको थियो । आज ती सबै घटना भएको पच्चीस वर्ष बितिसकेको छ । तर अझै पनि तीज आउँदा मनमा एउटा पुरानो अन्धकार फर्किन्छ । त्यो रात घटेको घटनाका कारण तीजको रौनकले मलाई कहिल्यै छोएन । दुःख, रित्तोपन र चिरस्थायी वियोगको दिन कान्छी भाउजुको सिन्दूरे रङको सारी एक निमेषमै रङ्गहीन भएर परिणत भई जीवनका भित्ताहरूलाई रित्ता बनाएर गए ।
हरेक तीजमा नारीहरू रातो सारीमा सजिन्छन् । नाचगान हुन्छ, मिठा परिकारहरू पकाइन्छन् । तर मेरा लागि तीज भनेको स्मृतिपटलमा रहेको नमिठो गरी च्यातिएको त्यो पत्र हो जसले एक निमेषमै कान्छी भाउजुको कान्छा दाइसँग जीवन बिताउने, सन्तान जन्माउने र हरेक तीजमा कान्छा दाइका लागि व्रत बसेर लामो आयु माग्ने सपना उडाएर लगेको थियो । मेरो स्मृतिमा कहिल्यै नमेटिने गरी खत बनेर बसेको त्यो पलले आज पनि मलाई तीजको दिन रङ्गिन भएर नाच्ने, गाउने र मन्दिर धाउने गोडालाई कुँजो बनाएर एउटा कुनामा थन्क्याउँछ । कान्छा दाइ र भाउजूको यादले आँखा भरिन्छ ।









प्रतिक्रिया दिनुहोस्