पुरानो पुस्तादेखि जेनजी पुस्ताको नजरमा हरितालिका तीज



हरितालिका तीज नेपाली हिन्दु महिलाहरुको महान चाड हो । भाद्र शुक्ल तृतीयाको दिन हिन्दु महिलाहरूले भगवान शिवको पूजा आराधना गरी व्रत बस्नुका साथै नाचगान गरेर धुमधामसँग तीज मनाउने गर्छन् । पार्वतीले शिवजीलाई वरका रूपमा प्राप्त गरौँ भनेर मनोकामना राखी तीजको व्रत बसेपछि तीजको चलन चलेको जनविश्वास रहिआएको छ । तर, पछिल्लो समय तीज आधुनिकीकरण हुँदै गएको छ । मौलिकता बोकेको तीज हिजोभन्दा आजभोलि भिन्न रुपमा मनाउन थालिएको छ । पछिल्लो समय तीजको दर खाने बाहानामा दारु खाने समेत गरेको पाइन्छ । अर्काेतर्फ तीजको मौलिकता र पुराना भाकाहरु हराउँदै जान थालेका छन् । एकदिन मात्र खाँदै आएको दर अहिले एक महिनासम्म समेत चल्ने गरेको छ । परम्परागत र मौलिक गीतहरु हराउँदा वृद्धाहरु चिन्तामा छन् भने युवा पुस्ताहरु परम्परागतका राम्रा कुराहरु अँगाल्दै समयअनुसार अघि बढ्नुपर्ने बताउँछन् ।

‘हामी पानी नखाएर व्रत बस्ने गथ्र्यौँ’

डम्मकुमारी घिमिरे,स्थानीय गृहिणी

हाम्रो पालामा तीजको अघिल्लो दिन केही नखाएर व्रत बस्नुपर्ने हुन्थ्यो । विशेषगरी व्र्रत बस्नुभन्दा अधिल्लो रात बाबा र आमाले छोरीचेलीहरुलाई घरमा बोलाएर दर खुवाउने चलन थियो । हामी पानी समेत नखाएर व्रत बस्ने गथ्र्यौँ । साँझपख शिवको पूजा आराधाना गरी अर्घ दिएर पञ्चामृत ग्रहण गर्ने गथ्र्यौँ । माछा मासु केही खान हुन्थेन् । हाम्रा पालामा तीज दुःख र सुख बिसाउने एउटा चौतारी जस्तै बनेको थियो । अहिले त माछा मासुबिना दर नखाए जस्तै हुन्छ । आधुनिकतासँगै पुराना मौलिक तीजका गीतहरु पनि हराए ।

पहिलेभन्दा परिवर्तन आउँछ भन्थे । यही रहेछ कि के हो परिवर्तन जस्तो लाग्छ । अहिलेका नारीहरुले ‘लौका फर्सी खादैनौँ वर्षदिनको दरमा, माछा मासु खान्छौँ हामी माइतीघरमा’ भन्छन् । मलाई माइतीघर बिटुलो बनाए जस्तै लाग्छ । ‘माइतीघर जाने हो, आमाले पकाएको चिनी भात खाने हो’ यस्ता पुराना गीतहरु हामीले गाउँने गथ्र्यौँ । एकदिन मात्र व्रत बसेर दर खाने चलन थियो । अहिले एक महिनासम्म दर खाने गर्छन् । दुःख सुखका गीतभन्दा पनि मनोरञ्जनका नामले विकृत्ति फैलिँदै गएकाले चिन्ता लाग्छ ।

‘हाम्रा पालामा जस्तो अहिले केही पनि छैन्’
प्रेमकुमारी लम्साल,स्थानीय गृहिणी

तीजको समयमा छोरीचेलीहरु माइतीघर आउने । दिदिबहिनी भेला हुने गर्थे । मौलिक गीतहरु गाउने र नाच्ने गथ्र्यौँ । हाम्रा पालामा जस्तो अहिले केही पनि छैन् । न त मौलिक गीतहरु छन् । न त खानेकुराहरु नै छन् । अहिले त माछा मासु नै दर हो । हाम्रो समयमा दर भनेको दरिलो खानेकुराहरु बनाएर खाने गथ्र्यौँ । खीर लगायतका खानेकुराहरु खान्थ्यौँ । भगवानका गीतहरु गाउने र रातभर रमाइलो गर्दै बस्ने ।

आफ््नो श्रीमान्को लागी एकदिन भएपनि तीजको अघिल्लो दिन पानी समेत नखाएर व्रत बस्ने चलन थियो । त्यसको महत्व छुट्टै थियो । हामीले गुनगुनाउने गीतहरुले छोरीचेलीका दुःख, सुख र वेदना बोकेका हुन्थे । ती भाका र गीतहरु अहिले कतै सुन्न पाइँदैनन् । सबै कुराहरु हराउँदै जाँदा चिन्ता लाग्छ । तर, के गर्नु । हामीले पनि बाध्यताले हेरेर बस्नुपरेको छ ।

‘स्वतन्त्रताको नाममा विकृत्ति फैलाउन हुँदैन’
बसन्ती अधिकारी, लुम्बिनी प्रदेश सांसद

सर्वप्रथम त सबै जना महिला तथा दिदीबहिनीहरुलाई हरितालिका तीजको उपलक्ष्यमा हार्दिक शुभकामना । पहिला हजुरअमा र आमाको समयमा तीजको अघिल्लो एक दिन मात्रै दर खाने प्रचलन थियो । त्यति व्यस्त पनि नहुने भएका कारणले होला । तर, अहिले सबै उद्योगी, व्यापारी, कर्मचारी, शिक्षक, पत्रकार र राजनीतिक महिलाहरुको व्यस्त समय छ । आफू माइत जाने समय छुट्टाएर बाँकी समय महिलाहरुका संघ र समूहले छुट्टाछुट्टै जम्मा भएर रमाइलो गरेर मनाउने गर्छन् । कर्कलो र गाभा खाने ।

तीजको अघिल्लो दिन वर्त बस्ने समयमा माछा मासु केही नखाने गर्थे । पछिल्लो समय दर खान पनि पार्टी प्यालेसमा जाने रमाइलो गर्ने गर्छन् । दर खाने कुरामा चाहीँ दारु खाएको मैले पाएको छैन् । कतिपयले त घरमा दर खाने गरेका छन् । अबका युवा पुस्ताहरुले यसलाई संरक्षण नगरे संस्कृति र संस्कार हराउँदै जान्छ । अलिकति पुनरावृत्ति गर्दै नयाँ तरिकाले मनाउँदै जाने । अधिकार खोज्दै गर्दा कर्तव्य बिसर्नु हुँदैन । हामीले स्वतन्त्रताको नाममा विकृत्ति फैलाउन हुँदैन । म यसको विरुद्धमा छु ।

‘संस्कृति जोगाउनु हामी सबैको दायित्व हो’
संगीता सुवेदी, उपप्रमुख, कोहलपुर नगरपालिका

नारीहरुको विशेष पर्वको रुपमा रहेको तीज पर्व विगत र अहिले मनाउने चलन उस्ता उस्तै हो । पहिला तीजको अघिल्लो दिन मात्र दर खाने प्रचलन थियो । अहिले दुई हप्ता अघिदेखि दर खाने प्रचलन रहेको छ । यसलाई मैले सकारात्मक रुपमा लिएको छु । यदाकदा सामाजिक सञ्जालमा टिकाटीप्पणी पनि भएको देखेकी थिएँ । तर, हिजोको दिनमा आफ्ना बाबा, आमा र मावली दर खान जाने चलन थियो ।

अहिले विभिन्न संस्थाहरुमा महिलाहरुको सहभागिता छ । जसका कारण पालिका, विद्यालय र संघसंस्थाहरुले आफ््ना कार्यालयमा रहेका नारीहरुलाई दर खुवाउने गर्दा लामो भएको हो । र, सम्पूर्ण महिलाहरु तीजको वर्त बस्छौँ । त्यस्तो समयमा आफ्नो स्वास्थ्यलाई ख्याल गरेर वर्त बस्न आग्रह गर्दछु । आफ्नो संस्कृति जोगाउनु हामी सबैको दायित्व हो । साथसाथै हरितालिका तीजको सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

‘हुँदाखाने र हुनेखानेको तीज फरक छ’
अनीता नेपाली , महिला अधिकार कर्मी

तीज नारीहरुको प्रमुख पर्वका रुपमा लिने गरिन्छ । पहिले र अहिलेको तीजमा धेरै फरक रहेको पाइन्छ । पहिला संस्कृति जगेर्ना गर्न परम्परगत तरिकाले तीज मनाउने गरिन्थ्यो । तर, अहिले तीज मनाउने तरिका बिस्तारै आधुनिकण भएको पाइन्छ । सरहमा मात्र नभइ गाउँसम्म आधुनिकताले छोइसकेको छ । अहिलेको तीज हुनेखाने र हुँदाखानेबीच पनि फरक रहेको छ । अहिलेको तीजले धेरै भिन्नता देखाउने गरेको छ। निश्चित समूहरुले मात्रै रमाइ रहेको पाइन्छ । पहिला सामान्य रुपमा परम्परात रुपमा मनाउने गर्थे ।

दुःख र सुख मेटाउनुका साथै पारिवारिक मिलनका रुपमा समेत पर्व मनाइने गरिन्थ्यो । तर, अहिले तडकभडक तीजलाई मान्यता धेरै लिएको जस्तो लाग्छ । जेनजी पुस्ताले मनाउने तीज अझ फरक छ । अझ भनौँ पछिल्लो समय दर खाने बाहानामा दारु खाने लगायतका विभिन्न विकृत्ति फैलिरहेको छ । यसले नहुने मानिसहरुलाई मानसिक र शारीरिक रुपमा असर पारेको छ ।

‘आधुनिकीकरणका नाममा विकृत्तिलाई अंगाल्न हुन्न’
सिर्जना थारु, उपाध्यक्ष ,कोहलपुर नगर स्तरीय युवा क्लब संजाल

तीज पहिले धेरैजसो महिलाहरुले धार्मिक र पतिसमर्पित भएर मनाउने गर्थे । दुःख र सुख सहेर व्रत बस्ने गर्थे । अहिले तीज मात्र धर्म र परम्परामा सीमित छैन् कि महिलाहरुले रमाइलो भेटघाटका साथै आधुनिकतातिर अघि बढेको छ । महिलाहरुको स्वतन्त्रता र आत्म अभिव्यक्तिको चाडका रुपमा तीज बनेको छ । खानपान पनि बदलिएको छ । पहिला व्रत बस्दा पानी समेत नखाएर बस्ने गर्थे । अहिलेका महिलाहरुले आफ्नो स्वास्थ्यलाई हेरर व्रत बस्ने गरेका छन् ।

पहिलेका तीजका गीतहरु सुख, दुःख र सासुले दिएका पीडा झल्किने खालका हुन्थे । सांस्कृतिक बाजासहित तीज मनाउथे । पुरातनबाट परिवर्तन हुन आवश्यक छ । हाम्रो धर्म, संस्कार र संस्कृति जोगाउन आवश्यक छ । एक महिना अघिदेखि दर खाने र भेटघाट हुने गर्छ । यो सँगसँगै विकृत्ति पनि यदाकदा देखिन्छन् । आधुनिकीकरणका नाममा विकृत्तिलाई अंगाल्न हुन्न । पहिलाका संस्कृतिमा पनि विकृत्ति थिए । त्यसमा रहेका राम्रा पक्षलाई हामीले ग्रहण गरेर अघि बढ्न पर्छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ १० गते मंगलबार