लुम्बिनी लाभाजमा रसियन जुवारेभा अनुबन्ध



काठमाडौँ ।

वात्सल्य एभरेष्ट महिला भलिबल लिगको फ्रेन्चाइज टिम लुम्बिनी लाभाजले रसियन खेलाडी भेरोनिका जुवारेभालाई अनुबन्धन गरेको छ । नेपाल भलिबल संघको सहकार्यमा इन्फिनिटी ड्रीम्स प्रालिले आयोजना गरेको प्रतियोगितामा लुम्बिनी लाभाजले रसियाकी आउटसाईड हिटर जुवरेभलाई दोस्रो सिजनको प्रतियोगिताका लागि अनुबन्धन गरेको हो ।

जुवरेभ मिडल ब्लकर पोजिसनमा बलियो उपस्थिति जनाउने खेलाडीका रूपमा चिनिन्छिन् । उनले रसियाको विभिन्न शीर्ष लिग र क्लबहरूमा खेल्दै उल्लेखनीय प्रदर्शन गरिसकेकी छिन् । बलियो ब्लकिङ, तीव्र प्रतिक्रिया क्षमता र नेट अगाडि निर्णायक अंक दिलाउने उनको कौशलता, टिमका लागि महत्वपूर्ण योगदान हुने अपेक्षा गरिएको क्लबले जनाएको छ । लुम्बिनी लाभाज टिमलाई अझै सशक्त बनाउन अन्य दुई विदेशी खेलाडीको नाम केही दिनमा नै सार्वजनिक गरिने टिम म्यानेजर स्तुती निरौलाले बताइन् ।

विदेशी खेलाडीको सहभागिताले टोलीलाई थप सशक्त बनाउने म्यानेजर निरौलाले विश्वास व्यक्त गरेकी छिन् । यसअघि सम्पन्न अक्सनमार्फत टोलीले नेपाली महिला भलिवल टोलीका कप्तान अरुण शाहीसहित कमला विष्ट, अलिसा मानन्धर, सान्तीकला तामाङ, अनुसा चौधरी, रोमा महतो, जेनिसा विश्वकर्मा र रिकजना माझीलाई पनि अनुबन्ध गरिसकेको र खेलाडीहरू पूर्णरुपमा प्रशिक्षणमा रहेका छन् । दोस्रो संस्करणको वात्सल्य एभरेस्ट महिला भलिबल लिग भदौ २० देखि २८ गतेसम्म पोखरामा हँुदैछ ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ ८ गते आइतबार