कोहलपुर ।
छैटौँ प्याब्सन अन्तरविद्यालय नगरस्तरीय तीज नृत्य प्रतियोगिता–२०८२ मा बाल विद्या सदन र नमुना विद्या सदन स्कुल प्रथम भएका छन् ।शनिबार प्याब्सन कोहलपुरले आयोजना गरेको प्रतियोगितामा बाल विद्या र नमुना विद्या सदनले समान नतिजा प्राप्त गरेर प्रथम भएका हुन् ।
यस्तै राम जानकी माध्यमिक विद्यालय द्वितीय, बेवी वुल्म मन्टेश्वरी तृतीय र गोरखा युनाइटेड पब्लिक स्कुल सान्त्वना भएको हो । प्रथम हुने विद्यालय बाल विद्या सदन र नमुना विद्या सदनले नगद २५ हजार पुरस्कारसमेत प्राप्त गरेका छन् ।
त्यस्तै द्वितीय स्थान हासिल गर्न सफल राम जानकी माविले नगद १५ हजार र तृतीय हुने बेवी वुल्म मन्टेश्वरीले १० हजार नगद पुरस्कार प्राप्त गरेका हुन् । सान्त्वना हुने गोरखा स्कुलले भने नगद सात हजार पुरस्कार प्राप्त गरेको हो । उक्त अवसरमा बोल्दै कोहलपुर नगरपालिका उपप्रमुख संगीता सुवेदीले विद्यार्थीहरूको चौतर्फी विकासको लागि नृत्य पनि आवश्यक रहेको बताइन् । विद्यार्थीहरूमा लुकेका प्रतिभा र अन्तरनिहीत क्षमता प्रस्फुटन गर्ने राम्रो माध्यम तीज नृत्य प्रतियोगिता बन्न सक्ने उनको भनाइ छ ।
पढाइ सँगसँगै विद्यार्थीहरूको रुचिअनुसार अभिभावकले पनि साथ दिनुपर्नेमा उनले जोड दिइन् । तीज हिन्दु नेपाली महिलाहरूको महान पर्व रहेकाले त्यसको महत्वबारे जानकारी विद्यार्थीहरूलाई हुन आवश्यक रहेको बताइन् । प्रत्येक वर्ष प्याब्सनमा रहेका निजी विद्यालयहरूको सहभागितामा तीज नृत्य प्रतियोगिता सञ्चालन गर्दै आएको प्याब्सन कोहलपुरका अध्यक्ष रमेश खत्रीले बताए । प्रतियोगिताले विद्यार्थीहरूको अन्तरनिहीत क्षमता प्रस्फुटन गर्नुका साथै हौसला मिल्ने उनको भनाइ थियो ।









प्रतिक्रिया दिनुहोस्