आज बुबाको मुख हेर्ने दिन



काठमाडौँ ।

कुशे औंसी अर्थात् आज बुबाको मुख हेर्ने दिन । आजको दिन आफ्ना बुबालाई मिठो खाना र राम्रा कपडा दिएर सम्मान गर्ने गर्छन् । यस दिन बुवाको मुख हेर्ने, अर्थात् बुवा दिवसको रूपमा मनाई बुवालाई विशेष सम्मान गर्ने र आमाबाबु नहुनेले तीर्थमा खासगरी गोकर्ण र विष्णुपादुकामा श्राद्ध, तर्पण, दान, पुण्य गरी पितृ तार्ने र आफू पुण्यात्मा बन्ने विश्वास गरिन्छ ।

पितृदिवस भाद्रकृष्ण अमावस्याको दिन हो । अमावस्याको रातका अधिपति पितृ हुन् । मानिसहरूले आफ्ना आमा बाबुहरूको सम्झना खासगरी जीवनको अन्धकारमय रातमैं गर्ने हुँदा अमावस्याका दिनमै ती दुबै दिवसहरू मान्ने गरिआएको हो । संस्कृतिविद् हरिराम जोशीका अनुसार छोराछोरी आमा बाबुकै प्रतिरूप हुन् । त्यसैले माता पिताको आदर सत्कार गर्नु छोरा छोरीले स्वयम् आफूले आफैँलाई चिन्नु हो, विगतलाई नियाल्दै प्रगतिपथमा लम्कनु हो ।

हामीले हिजोलाई स्मरण गर्दै आफूलाई डोराउनु पर्छ । यसै तथ्यको परिप्रेक्षमा मात एवं पित दिवसलाई लिन सकिने जोशी बताउनुहुन्छ । यस दिवसमा जीवित माता पिताहरूलाई छोराछोरीहरूले विभिन्न प्रकारका मिष्ठान्न तथा अरू अनेकौं लगा आदिहरू ल्याई चढाउने चलन छ ।यसबाहेक दिवंगत भएका आमा बाबुहरूको सम्झनामा तीर्थ गोकर्णमा गई नुहाई धुआई गर्नुको साथै श्रद्धाञ्जलीस्वरूप तर्पण दिने कार्य गर्दछन्। सम्बन्धित तीर्थमा जान नसक्नेहरू आ–आफ्ना पुरोहित वा कर्मनिष्ठ ब्राह्मणकहाँ गई सीधा दान दिनेसमेत चलन पुरानो हो ।

यस्तै, संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार बुबाको मुख हेर्ने चलन वैद्धिक कालदेखि नै चलिआएको हो । किनभने यसमा पितृ पक्षको पनि महत्व छ । आजको दिनलाई कुशे औंसी र गोकर्ण औंशी भन्ने पनि चलन छ । यस दिनमा विशेषगरी बुबा हुनेहरुले जीवित रुपमा नै मुख हेर्ने गर्छन् । तर बुबा नहुनेहरु पवित्र स्थल त्रिवेणी अर्थात् दुई नदीको संगममा गएर पितृ श्राद्ध गर्ने चलन पनि छ । भौतिक शरीर नष्ट भए पनि हरेक वर्ष सम्मानका साथ श्राद्ध गर्ने चलन छ र यसदिन विशेष स्मरण गरेर जीवित बुबालाई र पितृलाई सम्मान गर्ने चलन छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ ७ गते शनिबार