कोहलपुर ।
कोहलपुरको पुरानो बसपार्क दायाँ र बायाँ सडक छेउमा रहेका सार्वजनिक शौचालय अहिलेसम्म सञ्चालनमा आउन सकेका छैनन् । बन्द रहेका शौचालय लाखौँ रकममा मर्मत भएपनि सञ्चालनमा आउन नसकेका हुन् । नगर विकास समितिले तीन महिना लगाएर मर्मत गरेका शौचालयमा अहिले पनि ताल्चा लगाइएको छ । जसका कारण करिब ९ लाख रूपैयाँ खर्च गरेर मर्मत भएका शौचालय प्रयोगविहीन अवस्थामा रहेका छन् ।
ती शौचालय बन्द भएको ४ महिना पूरा भएको छ । मर्मत पछि पनि अझैसम्म सञ्चालमा नआउँदा शौचालय प्रयोग गर्ने सेवाग्राहीहरूले सास्ती खेपिरहेका छन् । शौचालयका बिग्रेका १० वटा आल्मोनियमका ढोका, सेफ्टी ट्याङकी, कलर र ट्वाइलेट सिट टायलहरू मर्मत गरेर नयाँ हालिएको इन्जिनियर अम्मरबहादुर बुढाथोकीले मिसन टुडेलाई बताए । करिब ९ लाख लागतमा पुरानो बसपार्कमा रहेका दुई वटै शौचालय मर्मत गरिएको उनले बताए । ‘शौचालय मर्मत गरिएका छन्, अरु नयाँ व्यक्तिबाट केही दिनमा सञ्चालनमा ल्याउने कुरा भइरहेको छ ।
रोडमा रहेको शौचालय खुलिसकेको छ । अरुपनि छिट्टै खुल्छन्,’ उनले भने केही दिनयता न्यूरोडमा रहेको सार्वजनिक शौचालय खुलेपनि बसपार्कमा रहेका शौचालय भने सञ्चालनमा आउन केही समय लाग्ने देखिएको छ । शौचालय मर्मत भएसँगै नयाँ व्यक्ति जितबहादुर सिंह ठकुरीले न्यूरोडमा रेष्टुरेन्ट र तीन वटा शौचालय सञ्चालनको जिम्मा लिएका छन् । केही समयदेखि उनले पञ्चकन्या भान्सा घर एण्ड बार र नजिकै रहेको शौचालय सञ्चालनमा ल्याएका हुन् ।
‘केही दिनदेखि मैले पञ्चकन्या भान्सा घर र शौचालय सञ्चालनमा ल्याएको छु, ‘उनले भने, ‘बसपार्कमा रहेका दुईवटा शौचालय पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । मैले पनि शौचालय कुन अवस्थामा छन् भनेर हेर्न पाएको छैन् । सबै बुझेर केही दिनमा शौचालय सञ्चालनमा आउँछन् ।’ अहिले बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म आफूले भान्सा घर र शौचालय सञ्चालन गर्दै आएको उनी बताउँछन् ।









प्रतिक्रिया दिनुहोस्