नेपालगन्ज ।
भेरी अस्पताल प्रशासनले फार्मेसीका दुई जना कर्मचारीले सेवाग्राहीलाई फिर्ता नदिनुपर्ने रकम फिर्ता दिएको पाइएपछि कारबाही प्रक्रिया अघि बढाएको छ । बीमामा आबद्ध भएका एक जना बिरामीबाट औषधि वापतको रकम क्यासमा रिटर्न गरेको पाइएपछि उनीहरूलाई तत्कालका लागि निलम्बन गरिएको भेरी अस्पताल प्रशासनले जानकारी दिएको छ ।
प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ड डा.निराजन सुवेदीले फार्मेसीको काउन्टरमा काम गर्ने दुई जना कर्मचारीलाई तत्कालका लागि निलम्बन गरेर स्पष्टीकरण सोधिएको जानकारी दिए । उनका अनुसार एक जनालाई अघिल्लो शुक्रबार र अर्कोलाई मंगलबार निलम्बन गरिएको हो । उनीहरूमाथि आन्तरिक अनुसन्धान भइरहेको बताउँदै डा. सुवेदीले भने, ‘एक हप्ताको समय दिएर स्पष्टीकरण सोधिएको छ । उनीहरूले दिने जवाफका आधारमा कारबाही प्रक्रिया अगाडि बढ्छ,’ सुवेदीले भने ।
प्रारम्भिक जाँचबुझका क्रममा ती कर्मचारीले बीमाबाट किनेको औषधि फिर्ता गर्न आएका सेवाग्राहीले तिरेको १० प्रतिशत शुल्क क्यासमा फिर्ता गरेका पाइएको हो । तर बीमाबाट खरिद भएको औषधिको शुल्क क्यासमा फिर्ता गर्न पाइने व्यवस्था छैन । अहिले बीमाबाट खरिद हुने औषधि तथा सेवामा लाग्ने १० प्रतिशत शुल्क बिरामीले तिर्नुपर्ने व्यवस्था छ ।
उक्त शुल्कको बील बीमाले व्यहोरेको रकमको बीलमै जोडिएर बन्ने गरेको छ । यसरी उक्त बीलको रकम फिर्ता गर्दा कर्मचारीले गल्ती गरेको पाइएपनि त्यो गल्ती भुलवश भएको हो या सुनियोजित तवरले भन्ने विषय अनुसन्धानकै क्रममा रहको डा. सुवेदीको भनाइ छ । उनीहरूले भुक्तानी दिएको बीलहरूमा एउटा एक हजार चार सय र अर्काे चार हजार बढीको बील रहेको सुवेदीको भनाइ छ ।









प्रतिक्रिया दिनुहोस्