एक वर्षमै १८ करोडभन्दा बढीको खसीबोका बिक्री



बाँकेका विभिन्न स्थानमा रहेका सामाजिक उद्यमी महिला सहकारी संस्थामा आबद्ध भएका उनीहरूले गत आर्थिक वर्ष २०८१–०८२ मा साढे अठार करोडभन्दा बढीका खसीबोका बिक्री गरेर आत्मनिर्भर बन्दै आएका छन् । सामाजिक उद्यमी महिला सहकारी संस्थासँग आबद्ध किसानहरूलाई संस्थाले बाख्रापालनका लागि समूह बनाएर ऋणसमेत प्रवाह गर्ने उत्पादन भएका खसीबोकाहरू संस्थाले आफैँले खरिद गर्दै आएका छन् ।

नेपालगन्ज (बाँके) ।

पछिल्लो समयमा बाँकेका बाख्रापालक किसानहरूले राम्रो आम्दानी गर्दै आएका छन् । उनीहरूले खसीबोका बिक्री गरेर बार्षिक करोडौँ रूपैयाँ आम्दानी गरेका छन् । जिल्लाका विभिन्न स्थानमा रहेका सामाजिक उद्यमी महिला सहकारी संस्थामा आबद्ध भएका उनीहरूले गत आर्थिक वर्ष २०८१–०८२ मा साढे अठार करोडभन्दा बढीका खसीबोका बिक्री गरेर आत्मनिर्भर बन्दै आएका हुन् । सामाजिक उद्यमी महिला सहकारी संस्थासँग आबद्ध किसानहरूलाई संस्थाले बाख्रापालनका लागि समूह बनाएर ऋणसमेत प्रवाह गर्ने उत्पादन भएका खसीबोकाहरू संस्थाले आफैँले खरिद गर्दै आएका छन् ।

किसानसँग खरिद गरेका खसीबोकाहरू संस्थाहरूले बाहिरी जिल्ला निर्यात गर्दै आएका छन् । गत आवमा मात्र किसानहरूले संस्थामा बिक्री गरेका खसीबोका बाहिरी जिल्लामा निर्यात गरेर बाँकेका विभिन्न स्थानमा रहेका १५ वटा सामाजिक उद्यमी महिला सहकारी संस्थाले १८ करोडभन्दा बढीको आर्थिक कारोबार गरेका छन् । सहकारी संस्थाले किसानसँग खरिद गरेका खसीबोकामा प्रतिकिलो १० रूपैयाँ नाफा राखेर बाहिरी जिल्लामा निर्यात गर्दै आएका छन् ।

गत आवमा जिल्लाका विभिन्न १५ वटा सामाजिक उद्यमी महिला सहकारी संस्थाले गत आवमा १८ करोड ५४ लाख ९१ हजार २९१ रूपैयाँ बराबरका खसीबोका बिक्री गरेका हुन् । उनीहरूले उक्त रकम बराबरका तीन लाख ६८ हजार ९४५ किलोग्रामका १० हजार ९७३ वटा खसीबोका बिक्री गरेका हुन् । सबैभन्दा बढी राप्ती सोनारी गाउँपालिका– ७ पिप्रहवास्थित रोशनी सामाजिक उद्यमी महिला सहकारी संस्थाले खसीबोका बिक्री गरेको छ ।

संस्थाका व्यवस्थापक नसरुदिन शेषका अनुसार संस्थाले गत आवमा तीन करोड ९१ लाख ४१ हजार नौ सय रूपैयाँका खसीबोका बिक्री गरेको हो । उक्त रकम बराबरका ७४ हजार ५५६ किलोग्राम तौलका दुई हजार ७१ वटा खसीबोका बिक्री भएका हुन् । त्यसपछि राप्ती सोनारी– ७ लालपुरमा रहेको परिवर्तन साउमससंले दुई करोड ६२ लाख दुई हजार ५२५ रूपैयाँका खसीबोका बिक्री गरेको छ । संस्थाका व्यवस्थापक पम्फा परियारले उक्त रकम बराबरका ५१ हजार ३७७ किलोग्राम तौल भएका १५ सय ४१ वटा सखीबोका बिक्री गरिएको जानकारी दिइन् ।

राप्ती सोनारी– ६ टेपरीमा रहेको नयाँ सिर्जनशील साउमससंले एक करोड ९० लाख ६७ हजार ३२२ रूपैयाँ बराबरका खसीबोका बिक्री गरेको संस्थाका व्यवस्थापक दिव्या गुरुङले जानकारी दिइन् । उनका अनुसार ३५ हजार ६६८ किलोग्राम बराबरका एक हजार १९ वटा खसीबोका बिक्री गरिएको हो । बैजनाथ गाउँपालिका– ८ टिटहरियामा रहेको दिपलगन साउमससंले एक करोड ६७ लाख ४० हजार नौ सय रूपैयाँका खसीबोका बिक्री गरेको व्यस्थापक गौमती गुरुङले जानकारी दिइन् । उनका अनुसार ३० हजार ४३८ किलोग्राम तौल बराबरका ८५० वटा खसीबोका बिक्री भएका हुन् ।

राप्ती सोनारी– २ खोरीयास्थित जननी साउमससंले एक करोड ३९ लाख ९७ हजार ४०६ रूपैयाँका खसीबोका बिक्री गरेको छ । संस्थाका व्यवस्थापक गणेशबहादुर खत्रीका अनुसार उक्त रकम बराबरका २७ हजार ३१० किलोग्राम बराबरका ८७० वटा खसीबोका बिक्री भएका हुन्। कुसुम साउमससंले एक करोड २८ लाख ७८ हजार २०३ रूपैयाँका खसीबोका बिक्री गरेको प्रवन्धक गङ्गा खुनाले जानकारी दिइन् । उनका अनुसार २४ हजार ३५७ किलोग्राम तौल बराबरका ७७५ वटा खसीबोका बिक्री भएका थिए ।

त्यसैगरी राप्ती सोनारी ४ धामपुरस्थित सुनकोशी साउमससंले एक करोड छ लाख ४३ हजार २४१ रूपैयाँका खसीबोका बिक्री गरेको व्यवस्थापक दिपा पुनले जानकारी दिइन् । उनका अनुसार १९ हजार ७०७ किलोग्राम तौल बराबरका ६९० वटा खसीबोका बिक्री भएका थिए ।
राप्ती सोनारी –९ ढकेरीस्थित सङ्घर्षशील सामाजिक उद्यमी महिला सहकारी संस्थाका व्यवस्थापक भूपेन्द्र खड्काका अनुसार सो संस्थाले ९७ लाख २७ हजार ३६१ रूपैयाँका खसीबोका बिक्री गरेको छ ।

३१ ह्जार ७६४ किलोग्राम तौल बराबरका ८८५ वटा खसीबोका बिक्री गरिएको उनले बताए । सङ्गिनी साउमससंले ९३ लाख ४८ हजार ६८४ रूपैयाँका खसीबोका बिक्री गरेको व्यवस्थापक पार्वती खत्रीले जानकारी दिइन् । उनका अनुसार १८ हजार ४८८ किलोग्राम तौल बराबरका ५८८ वटा खसीबोका बिक्री भएका हुन् । त्यसैगरी, बैजापुर साउमससंले ३४ लाख चार हजार ४८० रूपैयाँ बराबरका खसीबोका बिक्री गरेको छ । व्यवस्थापक चन्द्र थारूका अनुसार छ हजार ५३१ किलोग्राम बराबरका १९० वटा खसीबोका बिक्री गरिएको हो ।

अप्सरा साउमससंले ४७ लाख १७ हजार ४५१ रूपैयाँ बराबरका खसीबोका बिक्री गरेको व्यवस्थापक झुपा विष्टले बताइन् । उनका अनुसार ११ हजार ८४४ किलोग्राम तौल बराबरका ३५३ वटा खसीबोका बिक्री भएका हुन् । कोहलपुर साउमससंले ७२ लाख ३३ हजार ९८ रूपैयाँका खसीबोका बिक्री गरेको व्यवस्थापक नवीन साहुले जानकारी दिए । उनका अनुसार १३ हजार ३३८ किलोग्राम तौल बराबरका ४१६ वटा खसीबोका बिक्री भएका हुन् । बैजनाथ ४ एकासीनगरस्थित बैजनाथ साउमससंले २३ लाख ९७ हजार ९७५ रूपैयाँका खसीबोका बिक्री गरेको व्यवस्थापक प्रमोद रिजालले जानकारी दिए ।

उनका अनुसार चार हजार ५०५ किलोग्राम तौल बराबरका १३५ वटा खसीबोका बिक्री भएका हुन् । उपहार साउमससंले ७७ लाख ३६ हजार ९९५ रूपैयाँ बराबरका खसीबोका बिक्री गरेको व्यवस्थापक शोभा बस्नेतले जानकारी दिइन् । उनका अनुसार १४ हजार ५६१ किलोग्राम तौल बराबरका ४४० वटा खसीबोका बिक्री भएको हो । सशक्तीकरण साउमससंले २२ लाख ५३ हजार ७५० रूपैयाँका खसीबोका बिक्री गरेको लेखापाल उमेशराज कठायतले जानकारी दिए । उनका अनुसार चार हजार ५०१ किलोग्राम तौल बराबरका १५० वटा खसीबोका बिक्री भएका हुन् ।

बाँकेमा पछिल्लो समय बाख्रापालनतर्फ महिला किसानहरू आकर्षित भएका छन् । सहकारी संस्थामार्फत बनाइएका विभिन्न समूहमार्फत उनीहरूले बाख्रापालन गर्दैआएका छन् । जिल्लाका आठ पालिकामध्ये धेरैजसो राप्ती सोनारी गाउँपालिकाका किसानहरू बाख्रापालनतर्फ बढी आकर्षित भएका छन् । राप्ती सोनारीमा जङ्गल क्षेत्र बढी भएका कारण पनि यहाँका किसानहरू यस पेसातर्फ आकर्षित भएका हुन् ।
सहकारी संस्थामार्फत् विभिन्न समूहहरू गठन गरिएको छ । सहकारीले गठन गरिएका समूहका किसानहरूबाट खसीबोका तथा बाख्रा खरिद गर्दै आएको छ । सहकारीमार्फत गठन गरिएका समूहका किसानलाई सहकारीबाट खसीबोका तथा बाख्रापालनका लागि ऋणसमेत उपलब्ध गराउँदै आएका छन् । बाख्रापालनबाट महिला किसानहरू आत्मनिर्भर बन्दैगएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ ५ गते बिहीबार