नेपाली हिन्दु महिलाहरूको ऐतिहासिक चाड तीज पछिल्ला केही वर्षयता भड्किलो बन्दै गएको छ । तीजको दरखाने नाममा महिनौँदिन अघिदेखि विभिन्न होटलदेखि पार्टी प्यालेसमा ठूलो ठूलो पार्टीहरूको आयोजना गरेर हजारौँ लाखौँ रूपैयाँँ खर्च गर्ने चलन नै बसेको देखिन्छ । ठूलो होटलमा धेरै पैसा खर्च गरेर पार्टी गरेर देखावटी रूपमा नाचगान गरेर समाजमा म त ठूलोे हुँ भन्ने सन्देश दिएर मनाइने तीजले समाजलाई नकारात्मकतातिर धकेलिरहेको छ । महंगा कपडा, देखाउनका लागि सुनका विभिन्न गरगहना आदी लगाएर मनाइने तीजको दरखाने प्रचलनले गर्दा परम्परागत रूपमा रहेको तीज पर्व देखावटी रूपमा भड्किलो हुँदै गएको छ । मौलिक परमपरा मासिँदै गएको छ । नेपाली समाजमा तीजको दरखाने र खुवाउने प्रचलन परापूर्वकालदेखि सुरु भए पनि अहिले आएर महिनौँ अघिदेखि दर खुवाने परम्पराले समाजमा विकृति पैदा गरिरहेको छ । तीज खुसीयालीको पर्व भएकाले टाढा टाढाबाट माइती आएकी चेलीलाई मिठामसिना भोजन खुवाएर रमाइलो गर्ने प्रचलन पहिला थियो ।
उतीबेला मानिसहरू खेतबारी, मेलापातमा व्यस्त रहने र वर्षमा एकदिन माइतीको घरमा चेलिबेटीहरूलाई बोलाएर आरामसहित मिठोमसिनो खुवाएर दुःख र बेदनाका सन्देश बोकका गीतहरू गाउने र नाचगान गरी मनाइने तीज अहिले भने होटल र पार्टी प्यालेसहरूमा लाखौँ रूपैयाँँ खर्चेर भड्किलो गरी मनाइने, देखाउन लगाइएका गरगहनाहरू लुटपाटसमेत हुने गर्दा पनि महिलाहरू गरगहनाको प्रदर्शन गर्न र देखावटी प्रतिस्पर्धा गरिरहेका पाइन्छन् । यसरी खर्चिलो र भड्किलो गरी तीज मनाउँदा समाजमा रहेका अन्य गरिब तथा विपन्न वर्गका नागरिकहरूमा भने नकारात्मक प्रभाव परिरहेको हुन्छ । अरुको देखासिकी गर्ने नेपाली समाजमा गरिब तथा विपन्न वर्गका महिलाहरूले पनि अरुलाई देखाउनका लागि देखासिकी गर्दै ऋणधन गरेर भए पनि यसरी तीज मनाउन आकर्षित हुन्छन् जसका कारण एकले अर्कासँग प्रतिस्पर्धा गरेर चाडपर्व मनाउँदा ऋणधन गरेर गरिएको फजुल खर्चले गलत बाटोबाट भए पनि आयआर्जन गर्नुपर्ने सामाजिक दबाब बढाएको हुन्छ भने अर्कातर्फ ऋणधन गरिएको रूपैयाँँ पैसा तिर्न नसकेर कैयौँको घरबार बिग्रिनुका साथै समाजैबाट विस्थापित हुने पनि देखिन्छ ।
तसर्थः परम्परा र संस्कृतिको संरक्षण गर्नु जगेर्ना गर्नु सबैको दायित्व भए पनि परम्परा जोगाउने बाहानामा कुसंस्कारलाई प्राथमिकता दिइनु कदापी हुँदैन् । घाँटी हेरेर हाड निल्न जान्नुपर्दछ । नेपालमा विभिन्न धर्म, सम्प्रदाय, जातजाति, संस्कार, संस्कृति, भेषभूषा, भाषा छन् । एकले अर्काको संस्कार र संस्कृतिलाई सम्मान गर्दै चाडपर्वहरू खर्चिलो र भड्किलो हुनबाट जोगाउन सक्नुपर्दछ । अर्कोतिर तीजका नाममा आउने विभिन्न गीतहरूले गर्दा पनि समाजमा विसंगति र विकृति फैलिइरहेको छ । तीजलाई केन्द्रित गरेर बजारमा आउने अश्लील गीतहरूका कारण पनि समाज नकारात्मकतातिर उन्मुख भइरहेको छ । पछिल्लो समयमा समाज सकारात्मकभन्दा पनि नकारात्मतातिर अगाडि बढ्दै गएको छ ।
यस्तो समयमा तीजका गीतहरू बजारमा ल्याउने सर्जकहरूले गम्भीर ध्यान दिन जरुरी छ । रातारात चर्चामा आउन र भ्युज बटुल्नका लागि छाडा शब्द र अश्लीलताले समेटिएका गीतहरू कलाकारहरूले बजारमा ल्याउँदा समाज त्यतै उन्मुख हुन्छ र नकारात्मकतातिर अगाडि बढ्छ। तसर्थः यतातिर पनि ध्यान पु¥याउनु जरुरी छ । चाडवाड मनाउने नाममा, संस्कार र संस्कृति जोगाउने नाममा समाजमा कुसंस्कार, विकृति र छाडापनलाई वृद्धि गर्नुहुँदैन् । विकृतिका रूपमा मौलाउँदै फजुल खर्चिलो, भड्किलो तथा छाडापना बढ्दै गएको तीज पर्वलाई लगाम लगाउन जरुरी छ । संस्कार, संस्कृति र परम्परालाई जोगाऔँ तर समाजमा विसंगति र विकृतिलाई तिरस्कार गरौँ । अरुको देखासिकी नगरौँ, घाँटी हेरेर हाड निलौँ । तीजलाई भड्किलो नबनाऔँ । सबै महिला दिदीबहिनीहरूले गम्भीर बन्न जरुरी छ ।









प्रतिक्रिया दिनुहोस्