कोहलपुर (बाँके) ।
हुम्लाको हिमाली गाउँपालिकाले बिच्छयाँ बाढी पीडितलाई राहत वितरण गरेको छ । बुधबार गएको बाढीबाट प्रभावितहरूलाई गाउँपालिकाले राहत वितरण गरेको हो । अविरल वर्षापछि बाम पाटन, बिच्छयाँ खोला हुँदै कवाडी खोलामा आएको बाढीका कारण वडा नम्बर १ र ५ मा करोडौँको क्षति पुगेको थियो । बाढीबाट वडा नम्बर ५ सबैभन्दा बढी प्रभावित भएको छ । स्थलगत अनुगमनपछि बाढीका कारण पूर्ण रूपमा घरमा क्षति पुगेका पीडितहरूलाई गाउँपालिकाले राहत वितरण गरेको हो ।
बाढीका कारण वडा नम्बर ५ मा १५ वटा घरमा पूर्ण रूपमा क्षति पुगेको थियो । बाढीका कारण १५ घरधुरी पूर्ण रूपमा घरबारविहीन भएका छन् । उनीहरूलाई वडा नम्बर ५ मा रहेको अस्पताल र बोर्डिङ स्कुलमा अल्पकालीन आश्रय दिएर राखिएको छ । पीडितहरूको सहजताका लागि गाउँपालिकाले राहत वितरण गरेको गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले बताए । उनका अनुसार बाढीका कारण सबैभन्दा धेरै क्षति पुगेका १५ जनालाई शुक्रबार राहत वितरण गरिएको छ ।
उनीहरूलाई खाद्यान्न, त्रिपाल र अन्य सामग्री वितरण गरिएको अध्यक्ष मल्लले बताए । गाउँपालिकाले प्रति परिवार ३० केजीको एक बोरा चामल, एउटा पाल, भाडाकँुडा डेक, डाडु, पनिउ, थाल गिलास र कचाँैरा लगायतका राहत वितरण गरिएको हो । ‘एक्कासी आएको बाढीका कारण अकल्पनीय क्षति पुगेको छ । पीडितहरूलाई स्थानीय सरकार भएको महशुस गराउन राहत वितरण गरिएको हो,’ अध्यक्ष मल्ल भन्छन् ।
क्षति धेरै भएका कारण वडा कार्यालयका प्रतिनिधि र प्रहरीसहितको टोलीले अहिलेपनि क्षतिको विवरण संकलन गरिरहेको छ ।
केही दिनमा क्षतिको एकीन वितरण आउने अध्यक्ष मल्ल बताउँछन् । वर्षा जारी रहेकोले जोखिम क्षेत्रका नागरिकहरूलाई सुरक्षित स्थानमा राख्ने तयारी गरिएको पनि उनले बताए । वडा नम्बर १ मा कूल १३ वटा घरमा बाढीले क्षति पु¥याएको छ । तीमध्ये वडा नम्बर १ को बिच्छयाँका ८ वटा घरमा पूर्णरूपमा क्षति पुगेको छ । पाँच वटा घरमा आंशिक क्षति पुगेको छ । यस्तै वडा नम्बर ५ मा १८ वटा घरमा पूर्ण रूपमा क्षति÷बगाएको छ ।
त्यहाँका १० वटा घर उच्च जोखिममा रहेका छन् । बाढीले ६ वटा घट्ट, ४ वटा सिँचाइ कुलो र १ वटा विद्युतको नहर र पावर हाउस नै बगाएको अध्यक्ष मल्लको भनाइ छ । करिब २ करोडका लगानीमा निर्माण गरिएको कवाडी खोला जलविद्युतको आयोजनाले तीन वटा वडामा विद्युतको पहुँच पु¥याएको थियो । आयोजनाबाट वडा नम्बर ४, ५ र ६ का १२ सय बढी घरधुरीले विद्युत बाल्दै आएका थिए । बाढीका कारण अनुमानित २० करोडसम्मको क्षति पुगेको हुन सक्ने हिमाली गाउँपालिकाले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्